
काठमाडौं । इन्दुशंकर चिनी उद्योगको व्यापार ३.२९ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३.२९ प्रतिशतले घटेको हो ।
सन् २०२४ मा २ अर्ब ४८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा वर्षमा २ अर्ब ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा २ अर्ब ४ करोड रुपैयाँ र सन् २०२२ मा १ अर्ब ५९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९८४ मा स्थापना भएको कम्पनी नेपालको सबैभन्दा ठूलो चिनी उद्योग हो। कम्पनीसँग दैनिक ४ हजार ५ सय टन उखु प्रशोधन गर्ने क्षमता छ । कम्पनीले उखु प्रशोधन गरी ‘राजंस’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको चिनी होलसेलमार्फत् बिक्री वितरण गर्ने गरेको जनाएको छ ।
राजेशकुमार केडिया र उनका परिवारको स्वामित्व रहेको कम्पनीले उखु प्रशोधनसँगै सन् २०२० देखि डिस्टिलरी युनिट र सन् २०२१ देखि ३ मेगावाटको को–जेनेरेशन युनिट पनि सञ्चालन गर्दै आएको छ ।
कम्पनीले गत आवमा गरेको व्यापारमध्ये १८ प्रतिशत हिस्सा डिस्टिलरीको कारोबारबाट भएको उल्लेख छ । सन् २०२४ मा ९ प्रतिशत मात्रै कारोबार भएको थियो । गत आवमा चिनीको पुनःप्राप्ति दरमा कमी आएको छ । सन् २०२४ मा ८.७७ प्रतिशत रहेकोमा गत आवमा ८.२४ प्रतिशत कायम भएको छ । जसले गर्दा उखु प्रशोधन बढ्दा कारोबार नाफामा प्रभाव परेको रेटिङमा उल्लेख छ ।
त्यस्तै, गत आवमा उखुको मूल्यमा वृद्धि भएकाले पनि कारोबार घटेको जनाएको छ । सन् २०२४ मा प्रति क्विन्टल उखुको समर्थन मूल्य ५ सय ६५ रुपैयाँ रहेकोमा गत आवमा सरकारको समर्थन मूल्य प्रति क्विन्टल ५ सय ८५ रुपैयाँ थियो । जसमा सरकारको अनुदानसहित गत आवमा उखुको समर्थन मूल्य ६ सय २० रुपैयाँमा खरिद गरेको थियो ।
त्यसैगरी, सरकारले चिनी आयात भन्सार दर घटाएको छ । सरकारले ३० प्रतिशतबाट भन्सार दर १५ प्रतिशत कायम गरेको छ । उक्त व्यवस्थाले आन्तरिक चिनी उद्योगलाई कारोबार र व्यापारमा ठूलो प्रभाव पर्ने जनाएको छ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९३ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४२ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५१ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया