
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भएको वार्ता सकिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सबै वस्तुहरूमा लगाइएका ट्यारिफ घटाउने बताए । जुन पहिले ‘फेन्टानिल बनाउन प्रयोग हुने रासायनिक पदार्थको आपूर्तिको साटोमा’ लगाइएका थिए । यी ट्यारिफहरूलाई अमेरिका ‘फेन्टानिल ट्यारिफ’ भन्छ । अब यी ट्यारिफ २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याइएको छ ।
ट्रम्पले चीनले पहिले घोषणा गरेअनुसार अमेरिकाबाट ठूलो मात्रामा सोयाबिन किन्ने सहमति जनाइसकेको बताए ।
चीनसँग रेयर अर्थ (दुर्लभ खनिज) व्यापारसम्बन्धी विषय पनि समाधान गरिएको ट्रम्पको भनाइ छ ।
पछिल्ला दिनहरूमा दुवै देशबीच ट्यारिफलाई लिएर निकै तनाव देखिएको थियो । तर अब दुबै देशबीच समझदारीको आशा देखिन थालेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले ट्रम्पले चिनियाँ सामानमा १०० प्रतिशत लेभी लगाउने चेतावनी अब लागू नहुने विश्वास गरेका थिए ।
दुनियाका दुई ठूला अर्थव्यवस्थाहरू लगभग हरेक क्षेत्रमा एक–अर्कासँग प्रतिस्पर्धा गर्दै आएका छन् । चाहे ती बदला लिने भावना स्वरूप लगाइएका ट्यारिफ हुन् वा महत्वपूर्ण खनिज र सेमीकन्डक्टरसम्मको पहुँच । सेमीकन्डक्टरहरूलाई आधुनिक उत्पादनको मेरुदण्ड मानिन्छ ।
यति मात्र होइन, लोकप्रिय चिनियाँ एप ‘टिकटक’ पनि राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण लामो समयदेखि दुबै देशबीच तनावको कारण बनेको छ ।
विश्लेषकहरूले दुबै नेताहरूले यो वार्तामा टिकटकको अमेरिकी सञ्चालन बिक्रीसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन सक्ने बताएका थिए ।
सिड्नी टेक्नोलोजी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक टिम हारकोर्टका अनुसार, ‘यो त्यो बैठक हो जसले कोभिडपछि विश्वव्यापीकरणको नयाँ दिशा तय गर्नेछ ।’
यो बैठकसम्म पुग्न दस महिना लाग्यो, जसमा एक–अर्कामाथि लगाइएका ट्यारिफ, अस्थिर युद्धविराम र विश्वभरका उद्योग–व्यवसायहरूमा देखिएको अनिश्चितता समावेश रह्यो ।
बदला, ट्यारिफ र सम्झौता
ट्रम्पले ‘लिबरेशन डे’ भन्दा धेरै अघि नै चीनसँग व्यापार युद्ध सुरु गरेका थिए । त्यो समय अमेरिकाले करिब सबै देशहरूमा ट्यारिफ लगाएको थियो । आफ्ना मित्र र प्रतिद्वन्द्वी दुबैमा अमेरिकी ट्यारिफ लगाइएको थियो ।
चीन लामो समयदेखि ट्रम्पको निशानामा थियो । उनले चीनले अनुचित व्यापार नीति अपनाएको आरोप लगाएका थिए ।
पहिलो कार्यकालमै उनले चीनमाथि ट्यारिफ लगाएका थिए । दोस्रो कार्यकाल सुरु हुनासाथ फेब्रुअरीमा, ट्रम्पले सबै चिनियाँ आयातमा १० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने घोषणा गरे ।
जवाफमा चीनले पनि ट्यारिफ बढायो । ट्रम्पले फेरि अमेरिकी ट्यारिफ २० प्रतिशत पुर्याए ।
पछि ‘लिबरेशन डे’ का अवसरमा चीनमाथि थप ३४ प्रतिशत ट्यारिफ लगाउने धम्की दिए ।
यसो गर्दै दुबै देशबीच ट्यारिफ बढाउने दौड चलिरह्यो । अन्ततः अमेरिकी ट्यारिफ १४५ प्रतिशत र चिनियाँ ट्यारिफ १२५ प्रतिशतसम्म पुगे ।
यी उच्च ट्यारिफले उत्पादक र आयातक दुबैलाई हल्लाइदियो । चीनका गोदामहरूमा सामान थुप्रिए भने अमेरिकी कम्पनीहरू आपूर्ति श्रृंखला कसरी बदल्ने भन्ने चिन्तामा परे ।
यसबीच ट्रम्पले चीनबाट सामान घुमाएर अन्य देश (जस्तै भियतनाम) बाट अमेरिकामा पठाउने ‘ट्रान्सशिपमेन्ट’ प्रणालीमाथि पनि नियन्त्रणको प्रयास गरे ।
तर चीन पछि हटेन । उसले वार्ताको इच्छा दोहोर्यायो तर साथसाथै कठिनाइ भोग्न तयार भएको सन्देश पनि दियो ।
चीनले अमेरिकाका किसानहरूलाई लक्ष्य बनायो । सोयाबिनजस्ता कृषिजन्य वस्तुमा भारी ट्यारिफ लगायो ।
ट्रम्पले एप्पल र वालमार्टजस्ता अमेरिकी कम्पनीहरूलाई चीनको उत्पादन क्षेत्रबाट अलग गर्न खोजे, तर विभिन्न छूटहरू दिँदा नीति कमजोर पर्यो । यसले चीनको आत्मविश्वास झन् बढायो ।
जुन महिनामा लामो वार्तापछि दुबै देशबीच एउटा कमजोर समझदारी भयो- ठोस सम्झौता नभएसम्म वार्ता जारी राख्ने ।
चिप्सको लडाइ
ट्यारिफमाथि वार्ता भइरहँदा अर्को विवाद पुनः सतहमा आयो । उन्नत चिप्समा नियन्त्रणको संघर्ष । यी चिप्स स्मार्टफोनदेखि कृत्रिम बुद्धिमत्तासम्म सबै प्रविधिको आधार हुन् ।
चीन ‘विश्वको कारखाना’ बाट ‘उन्नत प्रविधि केन्द्र’ बन्ने योजनामा छ। तर विशेषज्ञहरू प्रतिभा हुँदाहुँदै पनि चीनको सेमीकन्डक्टर उद्योग अझै अमेरिकाभन्दा धेरै पछाडि रहेको बताउँछन् ।
त्यसैले अमेरिकाले चीनको उन्नत चिप्समा पहुँच सीमित गर्न नीति कडा बनायो । यो नीति पहिले पनि थियो, तर ट्रम्पको पालामा झन् कठोर बनाइयो, जसले गर्दा चीनले केवल सामान्य सेमीकन्डक्टरहरू मात्र पाउन सक्थ्यो ।
यस रणनीतिको केन्द्रमा रह्यो एनभिडिया, अहिले विश्वकै सबैभन्दा मूल्यवान् टेक कम्पनी ।
एनभिडियाका चिप्सलाई उद्योगमा ‘गोल्ड स्ट्यान्डर्ड’ भनिन्छ । चीन यसको ठूलो बजार हो, जसबाट अरबौँ डलर कमाइ हुन्छ ।
त्यसैले एनभिडियाले अमेरिकी सरकारलाई चीनमा हुने बिक्रीको १५ प्रतिशत राजस्व तिर्ने सहमति जनायो ताकि निर्यात अनुमति पाइयोस् । तर त्यसपछि चीनले कुरा फेर्यो । आफ्ना कम्पनीहरूलाई अमेरिकी चिप्स नकिन्न आदेश दियो । सट्टामा अलीबाबा र हुआवे जस्ता घरेलु कम्पनीहरूलाई समर्थन गर्न भन्यो ।
साथसाथै, एनभिडियामाथि एन्टि–मोनोपोली अनुसन्धान सुरु गर्यो । एस राजरत्नम स्कूल अफ इन्टरनेशनल स्टडीजकी चिनियाँ नीति विज्ञ स्टेफनी क्यामका अनुसार यी कदमहरूले चीनको मुख्य उद्देश्य आत्मनिर्भर बन्ने रहेको देखाउँछन् ।
उनका अनुसार, चीन प्रविधि र एआईमा ठूलो लगानी गर्दैछ र आफ्ना कम्पनीहरूलाई नवप्रवर्तन र जोखिम लिन प्रोत्साहन दिँदैछ ।
विश्लेषकहरू चीन ‘लङ गेम’ खेल्न लागेको बताउँछन् । उसले छिटो सम्झौता गर्न चाहँदैन, बरु पश्चिमी देशहरूमा निर्भरता घटाउने उद्योगहरूमा लगानी बढाउँदैछ ।
रेयर अर्थको लडाइ
चीनको यो ‘लङ गेम’ रणनीतिको अर्थ यो होइन कि उसले अमेरिकासँग सम्झौता गर्न चाहँदैन ।
प्राध्यापक टिम हारकोर्टका अनुसार, चीनको शक्ति पनि सीमित छ । ‘चीनको अर्थतन्त्र अहिले बेरोजगारी, कमजोर उपभोग र आवासीय संकटजस्ता समस्यामा फसेको छ,’ उनले भने ।
चीनमा लोकतान्त्रिक चुनावको दबाब नभए पनि मध्यम वर्गको समृद्धि र राजनीतिक स्थिरता कायम राख्ने दबाब भने अवश्य छ ।
हारकोर्ट भन्छन्, ‘अमेरिका यी घरेलु समस्याबारे पूर्ण रूपमा जानकार छ । चीन दबाबमा छ र लामो व्यापार युद्ध उसलाई पनि नचाहिने कुरा हो ।’
सी जिनपिङ वार्तामा बलियो स्थितिबाट प्रवेश गर्न चाहन्छन् । त्यसैले अक्टोबरमा चीनले रेयर अर्थ (दुर्लभ खनिज) निर्यातमा कडा प्रतिबन्ध लगायो ।
रेयर अर्थ खनिजहरूको प्रशोधनमा चीनको लगभग एकाधिकार छ । यी खनिजहरू इलेक्ट्रोनिक्स, हरित ऊर्जा प्रविधि र लडाकु विमानहरूमा प्रयोग हुन्छन् ।
यो कदम व्यापार युद्धमा निर्णायक मोड सावित भयो ।
अष्ट्रेलियाकी विज्ञ नाओइज म्याकडोनो भन्छिन्, ‘अमेरिकाले प्रविधिमा प्रतिबन्ध लगाउँदा चीनको प्रगति ढिलो हुन सक्छ, तर चीनले रेयर अर्थ नियन्त्रण गर्दा पूरै उद्योग ठप्प हुन सक्छ ।’
रेयर अर्थको घोषणा र अमेरिकाको हैरानी
चीनले रेयर अर्थमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अमेरिका अचम्ममा पर्यो । विशेषगरी त्यति बेला जब ट्रम्पले भनेका थिए कि दुबै पक्ष टिकटकको अमेरिकी कारोबार बिक्रीमा सहमत भएका छन् ।
एक शीर्ष अमेरिकी व्यापार अधिकारीले चीनको कदमलाई विश्वासघात भनेका छन् र यसले अमेरिकालाई ऊ चिनियाँ स्रोतहरूमा कति निर्भर छ भनेर सम्झायो ।
त्यसपछि अमेरिकाले अष्ट्रेलिया, मलेसिया र जापानसँग नयाँ सम्झौता गरेर चीनबाहेकका स्रोतहरूबाट रेयर अर्थ आपूर्ति गर्ने व्यवस्था गर्यो । हारकोर्ट भन्छन्, ‘यो अमेरिका लागि बीमा पोलिसीझैँ थियो, ताकि उसले चीनमा पूर्ण निर्भरता राख्न नपरोस् ।’
यी सम्झौता त्यही समयमा भए जब ट्रम्प र अमेरिकी वार्ताकारहरू चीनसँग तनाव कम गर्ने प्रयासमा थिए र बिहीबारको बैठक तय गर्न चिनियाँ अधिकारीहरूसँग भेटघाट गरिरहेका थिए ।
बैठकअघि रोयटर्सको रिपोर्ट अनुसार, चीनले यस सिजनको पहिलो सोयाबिन खेप किनिसकेको थियो जुन ट्रम्प र अमेरिकी किसानहरूका लागि ठूलो सफलता मानियो ।
यसको साटोमा स जिनपिङले अमेरिकाबाट चिप्स बिक्रीमा लगाइएका प्रतिबन्धहरू हटाउने माग गर्ने अनुमान गरिएको छ ।
यदि टिकटक सम्झौतालाई अन्तिम स्वीकृति दिइयो भने यो ट्रम्पका लागि अर्को राजनीतिक जित हुनेछ ।
प्राध्यापक क्याम भन्छिन्, ‘सम्झौता जतिसुकै नाजुक किन नहोस्, यसले आगामी महिनाहरूमा अप्रत्याशित निर्णयहरूको जोखिम घटाउन सक्छ ।’
हारकोर्ट पनि यसैमा सहमत छन् । उनी भन्छन्, ‘मलाई लाग्छ ट्रम्प प्रशासन अझै पनि ट्यारिफबारे अनिश्चित छ, तर यी वार्ताहरूले माहोल केही शान्त बनाउन सक्छन् ।’ तर उनी चेतावनी दिन्छन्, ‘अमेरिका र चीनबीचको कुनै पनि सम्झौता स्थायी हुँदैन ।’








प्रतिक्रिया