
एजेन्सी । भारत र चीनबीच सीमाका विषयमा वार्ता भएको रोयटर्स समाचार संस्थाले बुधबार चीनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।
दुवै देशबीच चीन–भारत सीमाको पश्चिमी भागमा वास्तविक नियन्त्रण रेखासम्बन्धी विषयमा सक्रिय र गहन संवाद भएको बताइएको छ ।
दुवै पक्षले सैन्य र कूटनीतिक माध्यमबाट संवाद र सम्पर्क निरन्तर कायम राख्ने सहमति जनाएको चीनको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
यो विकास कोलकाता र क्वाङ्चाउबीचको सिधा उडान सेवा पुनः सुरु भएको केही दिनपछि आएको हो ।
उक्त उडान सेवा आइतबारदेखि फेरि सुरु भएको हो । यसले पाँच वर्षपछि दुवै शहरबीचको पहिलो सिधा व्यावसायिक सम्पर्क पुनःस्थापना गरेको छ ।
गलवानमा भएको हिंस्रक भिडन्तपछि चिसिएको सम्बन्ध क्रमशः न्यानो बन्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत अगस्ट महिनामा चीन भ्रमण गरेका थिए । यो सात वर्षपछि भएको उनको पहिलो चीन यात्रा थियो ।
उनी शाङ्हाई कोअपरेशन अर्गनाइजेशनको क्षेत्रीय सुरक्षा बैठकमा सहभागी हुन चीन गएका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता भएको थियो । दुवै नेताले भारत र चीन प्रतिस्पर्धी नभई विकासका साझेदार भएको कुरा दोहोर्याएका थिए ।
अमेरिकाले संसारका सबै देशको आयातमा लगाएको भन्सार शुल्कको अनिश्चितताबीच व्यापार सुदृढीकरणबारे पनि उनीहरूले छलफल गरेका थिए ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जायसवालले दुई देशबीच व्यावसायिक गतिविधिहरू सुरु भएको बताए । भारत–चीन सम्बन्ध सामान्य बन्दै गएको संकेतका रूपमा यसलाई हेर्न सकिने उनको भनाइ छ ।








प्रतिक्रिया