क्यारिबियाली मुलुक ट्रिनिडाड एन्ड टोबागोमा अयोध्या नगरी बन्ने

84
Shares

एजेन्सी । १४ लाख जनसंख्या भएको सानो राष्ट्र ट्रिनिडाड एन्ड टोबागोमा भव्य राम मन्दिर निर्माण गर्ने तयारी चलेको छ ।

करिब ६५ प्रतिशत जनता इसाई धर्मावलम्बी भएको यस देशले क्यारिबियाली क्षेत्रमा हिन्दू धर्मको सांस्कृतिक र आध्यात्मिक केन्द्र बन्न ठूलो कदम चालेको छ ।

करिब ३ लाख ५० हजार हिन्दू जनसंख्या भएको यो दुई टापु मिलेको देशलाई ‘रामायण देश’ भनेर पनि चिनिन्छ । सरकारले आफ्नो राजधानी पोर्ट अफ स्पेनमा विशाल राम मन्दिर निर्माणको योजनालाई खुलेआम समर्थन गरेको छ ।

देशको हिन्दू परम्परा भारतबाहिर जोगाइराख्ने भूमिकालाई जोड दिँदै सार्वजनिक सेवामन्त्री बेरी पदारथले धार्मिक अगुवाहरूसँग छलफल गरिरहेको बताएका छन् । यसै वर्ष भारतको अयोध्याबाट रामललाको मूर्तिको प्रतिलिपि त्यहाँ लगिएको छ ।

पदारथले रामलला स्थापित गर्ने पहललाई आफूहरूले स्वागत गर्ने बताए । आफूहरूको समर्थनमा बनिरहेको परियोजना भनी उनले यसलाई व्याख्या गरे ।

यो पहल न्युयोर्कस्थित ओभरसिज फ्रेन्ड्स अफ राम मन्दिरका संस्थापक प्रेम भण्डारीको प्रस्तावमा अघि बढेको हो । उनले ट्रिनिडाड एन्ड टोबागोमा ‘अयोध्या नगरी’ नामक हिन्दू धार्मिक र आध्यात्मिक केन्द्र स्थापना गर्ने योजना अघि सारेका हुन् । भारतको अयोध्या पुग्न नसक्ने भक्तजनलाई यसले सेवा दिनेछ ।

भण्डारीले यो योजना प्रधानमन्त्री कमला पर्साद–बिसेसरसामु प्रस्तुत गर्दै देशमै एउटा ‘सानो अयोध्या’ निर्माण गर्ने इच्छा व्यक्त गरेका हुन् ।

यो प्रस्ताव गत मे महिनामा अयोध्याबाट ल्याइएका रामललाको मूर्तिको अनावरण कार्यक्रमपछि आएको हो । उक्त कार्यक्रम भण्डारी र ट्रिनिडाड एन्ड टोबागोको अयोध्या श्रीराम संगठनका अध्यक्ष अमित अलगले संयुक्त रूपमा आयोजना गरेका थिए । उक्त कार्यक्रममा १० हजारभन्दा बढी भक्तजन सहभागी थिए ।

मन्त्री पदारथका अनुसार, ट्रिनिडाड एन्ड टोबागो अहिले क्यारिबियाली हिन्दूहरूका लागि एक प्रमुख केन्द्र बन्दै गएको छ । उनले भने, ‘यहाँ भागवत र रामायण पाठजस्ता धार्मिक परम्पराहरू पुस्तौंदेखि जोगाइएका छन् । यी परम्पराहरू १९औं शताब्दीमा भारतीय मजदुरहरूले यहाँ ल्याएका हुन् ।’

नयाँ बन्ने राम मन्दिर पूजाको स्थान मात्र नभई सांस्कृतिक शिक्षा केन्द्र, आध्यात्मिक गतिविधिको केन्द्र र आगामी पुस्ताका लागि पर्व–समारोह र सामुदायिक कार्यक्रमहरूको स्थल बन्नेछ ।