कहाँ आइपुग्यो मोन्था आँधी ?

2.9k
Shares

एजेन्सी । चक्रवात मोन्था मंगलबार राति भारतको पूर्वी तटमा प्रवेश ग‍रेको छ ।

यो आँधी आन्ध्र प्रदेशमा मछिलीपट्टनम र कलिंगपट्टनमबीच काकिनाडा नजिक जमिनमा ठोक्किएको (ल्यान्डफल) हो । करिब १०० किलोमिटर प्रतिघण्टा वेगको हावा र मुसलधारे वर्षाले गाउँ र शहरहरूमा क्षति पु‍र्याएको छ । बिजुलीका तार काटिएका छन् र १० फिट उचाइसम्मका छालहरू उठेका छन् ।

यो सिजनको पहिलो ठूलो चक्रवात साँझ करिब साढे ७ बजे जमिनमा प्रवेश ग‍रेको थियो र करिब ४ घण्टासम्म जारी रह्यो ।

यसले सडकमा रुखहरू ढालेको छ । पोलहरू भाँचिएका छन् र उद्धार टोलीहरू मुसलधारे वर्षा बीच सडक सफा गर्न जुटेका छन् ।

मामिदिकुदुरु मण्डलको माकनापालेम गाउँमा एक महिलाको घरमा रुख ढल्दा उनको मृत्यु भएको छ ।

आन्ध्र प्रदेशको छिमेकी राज्य उडिसामा पनि मोन्थाको बाहिरी भागले गञ्जाम र गजपती जिल्लाहरूमा करिब १०० किलोमिटर प्रतिघण्टाको हावा र मुसलधारे वर्षा ल्यायो । सडकहरू अवरुद्ध भए, रुखहरू ढले । तर कुनै मृत्युको खबर आएन । पहिरोका कारण आर उदयगिरी, पारलखे मुंडी, हुम्मा र काशीपुरका केही भागहरू बन्द भए ।

काकिनाडा जिल्लाको उप्पाडा क्षेत्रमा समुद्र अत्यन्तै उग्र बन्यो, घरहरूमा बाढी पस्यो र तटीय सडक भत्कियो । काकिनाडालाई उप्पाडा जोड्ने सडकमा छालहरूले बाँध तोडेपछि प्रहरीहरूले सडक बन्द गरे ।

चक्रवातको केन्द्र जमिनतिर बढ्दा हजारौं मानिस अस्थायी शिविरहरूमा बसेका थिए । १२ तटीय मण्डलका ६५ गाउँबाट १० हजार भन्दा बढी मानिसहरू सुरक्षित स्थानमा सारिएका छन् । तीमध्ये प्रायः माछा मार्ने समुदायका हुन् ।

काकिनाडा जिल्ला अधिकारी एस शन मोहनका अनुसार, दुईवटा एनडीआरएफ टोली र एक एसडीआरएफ एकाइ खटाइएको छ । त्यसमा २०० गोताखोर र १४० डुंगाहरू छन् ।

आवश्यकता परेमा हेलिकप्टरमार्फत डुबान क्षेत्रका मानिसहरूलाई उद्धार गर्न हेलिप्याड तयार राखिएको उनले बताए ।

७६ चक्रवात राहत केन्द्रहरूमा १२ हजारभन्दा बढी मानिसहरू बसेका छन् । करिब १ हजार गाईभैंसीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

राजामुन्द्री विमानस्थलका ८ उडानहरू रद्द गरिए, जसले तिरुपति, चेन्नई, बेंगलुरु, हैदराबाद र मुम्बईका सम्पर्क अवरुद्ध गरेका छन् ।

उडिसामा राज्य सरकारले २ हजारभन्दा बढी चक्रवात आश्रय केन्द्रहरू खोलेको छ र १५८ आपतकालीन टोलीहरू परिचालन गरेको छ ।

मुख्यमन्त्री मोहन माझीले अवस्थाको समीक्षा गर्दै भने, ‘हामीले ११ हजार जोखिमग्रस्त मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेका छौं । अवस्था बिग्रियो भने ३० हजारसम्म थप मानिसलाई सार्न सकिनेछ ।’

मौसम विभागका महानिर्देशक मृत्युञ्जय मोहापात्रका अनुसार, मोन्थाको प्रभाव बुधबारसम्म जारी रहनेछ । यसले दक्षिण उडिसामा मुसलधारेदेखि अत्यधिक वर्षा ल्याउनेछ र त्यसपछि छत्तीसगढतिर कमजोर हुँदै जानेछ ।

हावा ८० किलोमिटर प्रतिघण्टासम्म चल्न सक्ने बताइएको छ ।

क्षेत्रीय मौसम विभाग प्रमुख मनोरमा मोहान्तीका अनुसार, वर्षा शुक्रबारसम्म क्रमशः घट्दै जानेछ र भित्री उडिसामा बिहीबारसम्म केही वर्षा रहन सक्छ ।