जेनजी आन्दोलनबाट युलेन्स स्कुलमा १ अर्ब २५ करोडको क्षति, ९ भवन र ८३ वटा गाडी ध्वस्त

308
Shares

काठमाडौं । जेनजी आन्दोलनबाट ललितपुरको युलेन्स स्कुलमा सवा अर्ब रुपैयाँ भन्दा बढीको क्षति भएको छ । २३ र २४ भदौमा भएको जेन जी आन्दोलनका क्रममा ललितपुरको खुमलटारमा रहेको युलेन्स स्कुलमा ताडफोड र आगजनी हुँदा १ अर्ब २५ करोड रूपैयाँ बढीको क्षति भएको हो ।

धनाढ्यका छोराछोरी पढ्ने स्कुलका रूपमा चिनिएकाले जेनजी आन्दोलनका क्रममा युलेन्स टार्गेटमा परेको थियो । साथै तत्कालीन परराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा अध्यक्ष रहेकाले पनि ‘आरजुको स्कुल’का नाममा परिचित थियो । जेन जी आन्दोलनबाट सो विद्यालय पूर्ण रुपमा क्षति भएको थियो भने सवारी साधन जलाइएको थियो ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनबाट भएको क्षतिको विवरण संकलन गर्ने क्रममा स्कुलमा १ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको पाइएको छ । स्कुलले १ अर्ब २५ करोड रुपैयाँको क्षति भएको दाबी गरेको छ । प्रदर्शनकारीले स्कुलका संरचनाका साथै ७ दर्जन गाडी समेत जलाएका थिए ।

खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयमा ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफोड, लुटपाट र आगजनी भएको जनाएको छ । आगजनीबाट विद्यालयका ८३ वटा गाडी ध्वस्त भएको छ । विद्यालयका सबै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर या त जलाइएका छन् या लुटिएका छन् । विद्यार्थीका सबै घटनावृत्त तथा सञ्चित अभिलेखलाई पूर्ण रूपमा खरानी बनाइएको छ ।

विद्यालयको १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक एवं मानसिक र सामाजिक प्रतिष्ठाको क्षति भएको छ । १ हजार ४६१ विद्यार्थीको भविष्यमाथि असर परेको विद्यालयले जनाएको छ । यसैगरी ५०० भन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर गरेको पुगेको छ । विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, विस्तारित युलेन्स समुदाय, बोर्ड अफ ट्रस्टी, व्यवस्थापन समिति सबैको संवेगात्मक, भावनात्मक र मनोवैज्ञानिक आघातको कुनै लेखाजोखा नरहेको विद्यालयको दाबी छ ।

आरजु स्कुलको फाउन्डर तथा पूर्वअध्यक्ष पनि हुन् । स्कुल अहिले गैर नाफामुलक संस्थाको रुपमा सञ्चालन भइरहेको छ । हालका गभर्नर डा. विश्वनाथ पौडेल पनि स्कुलको बोर्डमा थिए ।

निवर्तमान परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले जेनजी आन्दोलनमा आगजनी भएपछि स्कुलको अध्यक्षबाट राजीनामा दिएकी थिइन् ।

सवा अर्बको क्षति भएको युलेन्स एजुकेसन फाउन्डेसनले एक वर्षमा साढे ७७ करोड रुपैयाँको व्यापार गरेको थियो । स्कुलले गत आर्थिक वर्षमा ७७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । राणाले गत असोज ११ गते स्कुलको अध्यक्षबाट राजीनामा दिएकी थिइन् । आरजु राणाले काठमाडौं र ललितपुरको दुवै स्कुलबाट राजीनामा दिएकी थिइन् ।

आरजुको लगानी रहेको भन्दै जेनजी आन्दोलनमा जलाइएको स्कुलले सन् २०२४ मा ७६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा ७५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । स्कुलले सन् २०२४ र २०२५ मा ३२ देखि ३३ प्रतिशत नाफा कमाएको थियो ।

सन् २००६ मा स्थापना भएको स्कुलले ११ र १२ कक्षासम्मको पठनपाठन गर्दै आएको छ । स्वीजरल्यान्डको इन्टरनेसनल बक्कालुरेट अर्गनाइजेसन अफ स्विजरल्यान्ड सम्बद्ध स्कुल नेपालको महँगो स्कुल मध्येको एक हो ।

स्कुलको काभ्रेमा ४०० रोपनी भन्दा बढी जग्गा छ । यस्तै अन्य स्कुल र समुदायको करिब ६०० रोपनी जग्गा समेत स्कुलले किनेको बताइएको छ । हाल स्कुलको कक्षाहरु बन्द छन् तर अनलाइन क्लास सञ्चालन गरिरहेको छ ।

अहिले स्कुलको अध्यक्ष सोमप्रसाद पनेरु छन् । स्कुलमा के १२ र आईपीडीपीको गरी १२ सय विद्यार्थी छन् । १ सय ५० जना दक्ष सहित ३ सय जना कर्मचारी छन् । भवन ४० हजार स्क्वायरफिटमा फैलिएको छ ।

काभ्रेपलाञ्चोकको नालामा रहेको लर्निङ सेन्टरमा ७२ जना विद्यार्थी अध्ययनरत र ६ जना शिक्षक कार्यरत छन् ।