दिल्लीमा गरियो क्लाउड सीडिङ, कृत्रिम वर्षा हुने अपेक्षा

588
Shares

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार क्लाउड सीडिङ गरिएको छ ।

कानपुरबाट विशेष उडानले दिल्लीको बुराडीमा यसको परीक्षण गरेर मेरठमा अवतरण गरेको छ ।

अब कृत्रिम वर्षा हुने अपेक्षाका साथ निगरानी भइरहेको हो । दोस्रो परीक्षण आजै हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

आईआईटी कानपुरका विज्ञहरू सरकारको यस परियोजनामा सहभागी छन् । कृत्रिम वर्षा आजै हुने सम्भावना रहेको बताइएको छ ।

परीक्षण पूरा भएपछि दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिर्साले परीक्षण सफल भएमा सरकारले फेब्रुअर २०२६ सम्मका लागि दीर्घकालीन योजनाको मस्यौदा बनाउने बताए ।

‘मौसमले मागेमा हामीले दिनदिनै वा एक दिन बिराएर कृत्रिम वर्षा गराउनेछौं,’ उनले थपे ।

दिल्लीमा प्रदूषणका कारण एयर क्वालिटी ध्वस्त भएकाले त्यसको सामना गर्नका लागि क्लाउड सीडिङको पाँचवटा परीक्षण गरिँदैछ । यी सबै परीक्षण उत्तरपश्चिम दिल्लीमा गरिनेछन् ।

अघिल्लो हप्ता पनि बुराडीमा क्लाउन सीडिङ गरिएको थियो । त्यतिखेर २० प्रतिशतभन्दा कम मोइश्चर भएकाले पानी पर्न सकेको थिएन । कृत्रिम वर्षा गराउन कम्तीमा ५० प्रतिशत नमी आवश्यक हुन्छ ।

मोइश्चर भएका बादलमा सिल्भर आयोडाइड क्रिस्टल वा नूनिला कम्पाउन्ड राखेर क्लाउड सीडिङ गरी कृत्रिम वर्षा गरिन्छ ।

ती पार्टिकलहरू बादलमा राख्नका लागि विमानको उडान गरिन्छ । पार्टिकलहरूले बादलमा रहेका साना कणलाई वर्षामा परिणत गरिदिन्छन् ।