नर्सहरूको जायज माग तत्काल सम्बोधन गर्न जुरी–नेपालको आग्रह

140
Shares

काठमाडौं । स्वास्थ्य सेवाका अपरिहार्य अंग नर्सहरूले निरन्तर गरिरहेको आन्दोलनप्रति न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नर्सिङ पेशालाई व्यवस्थित र मर्यादित बनाउने, निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक तथा सुविधा सरकारी स्तरको सुनिश्चित गर्ने, रात्रीकालीन तथा विदाको दिन काम गरेबापत अतिरिक्त सेवा सुविधा दिने, शैक्षिक योग्यता र अनुभवका आधारमा नियमित स्तरवृद्धि तथा बढुवाको व्यवस्था गर्ने, स्थायी नियुक्तिको प्रबन्ध गर्ने र स्वास्थ्य संस्थामा नर्सहरूलाई प्रमुखको जिम्मेवारी दिने अवसर प्रदान गर्नेलगायत मागहरूप्रति जुरी–नेपालले पूर्ण ऐक्यवद्धता व्यक्त गरेको छ।

संस्थाले नर्सिङ सेवालाई गुणस्तरीय र मर्यादित बनाउनु नर्सहरूको मात्र नभई नेपालको संविधानको धारा ३५ ले प्रत्याभूत गरेको ‘प्रत्येक नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाको हक’को व्यावहारिक कार्यान्वयनका लागि पनि अनिवार्य रहेको जोड दिएको छ।

नागरिकको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा कुनै पनि हालतमा उपेक्षित हुन नहुने भन्दै जुरी–नेपालले सरोकारवालाहरूसँग परामर्श गरी न्यूनतम राष्ट्रिय मापदण्ड बनाई कार्यान्वयन गर्न सरकार संवेदनशील हुनुपर्नेमा जोड दिएको छ।

संस्थाले आन्दोलनरत नर्सहरूको माग गम्भीरतापूर्वक सुन्न, तत्काल संवाद तथा छलफलमा बस्न र कानूनसम्मत जायज माग सम्बोधन गरी नर्सहरूको मनोबल बढाउने तथा स्वास्थ्य सेवा निर्वाध सञ्चालन हुने वातावरण सिर्जना गर्न सरकार, सरकारी तथा निजी स्वास्थ्य संस्था र सम्बन्धित सबै पक्षसँग जोडदार माग गरेको छ।