बिहारका युवा नेपालका जेनजीसँग प्रभावित, चाहन्छन् सत्तापरिवर्तन

154
Shares

२३ अक्टोबरमा सीतामढीमा कानुन र सुरक्षाको अवस्थाप्रति ध्यान आकर्षित गर्न युवाहरूले टायर जलाएर यातायात अवरुद्ध गरे। तस्बिर: अनन्त गुप्ता

एजेन्सी । अनुज कुमार सीतामढीको कोचिङ मन्डी भन्ने ठाउँको चियापसल बाहिर चुरोट पिउँदै थिए । यो ठाउँ ट्युसन सेन्टरहरूको केन्द्र हो र यसले वरपरका गाउँका विद्यार्थीहरूलाई सितामढी जस्तो सानो शहरमा तान्छ ।

तर, २८ वर्षका अनुज त्यहाँ पढ्न आएका थिएनन् । उनले त्यो दिन अदालत धाएर आफ्नो कागजपत्र मिलाउँदै बिताए । बिहार प्रहरीमा सब–इन्स्पेक्टरको जागिरका लागि निवेदन दिनका लागि उनले दौडधुप गरेका हुन् ।

अनुज कुमार नेपालको जनकपुरमा एउटा रासायनिक कम्पनीमा सेल्सम्यानका रूपमा काम गर्छन् । उनी छठ पर्व मनाउन आफ्नै गाउँ छोटकी भीठा फर्किएका थिए । छठ बिहारको सबैभन्दा ठूलो पर्व हो । तर, सरकारी जागिरको चाहनाले उनलाई बिदाको समयमा पनि व्यस्त बनाइरहेको थियो ।

निवेदन प्रक्रिया झन्झटिलो भएकोले उनी नेपालमा देखेको जेनरेशन–जेड क्रान्ति सम्झिँदै झसंग हुन्छन् । उनले भने, ‘नेपाल र बिहारका युवाहरूको अवस्था उस्तै हो । त्यहाँका युवाहरू भ्रष्टाचारबाट थाकेका थिए, यहाँ पनि त्यही हो ।’

अनुजले थपे, ‘बिहारमा पनि परिवर्तन चाहिएको छ ।’

तर, उनी र उनका साथीहरूले नोभेम्बर महिनामा हुने विधानसभा चुनावमा बिहारको बहालवाला सरकारलाई हटाउनका लागि भोट हाल्नेछन् त ? उनले टाउको हल्लाए । उनले भने, ‘म भोट खसाउने दिन नोभेम्बर ११ सम्म गाउँमा बस्दिनँ । मतदान गरेर के फाइदा ?’

अनुज जस्ता अरू धेरै छन् । बिहारको उत्तर भागमा भारतको सबैभन्दा युवा जनसंख्या बस्छ । त्यहाँ स्क्रोलले धेरै युवाहरूलाई भेट्यो । उनीहरू सरकार परिवर्तनका लागि आतुर छन् । विशेषगरी छिमेकी नेपालमा भएको आन्दोलन देखेपछि उनीहरूमा परिवर्तनको लालसा छ । तर, बिहारमा चुनावपछि पनि केही बदलिने छैन भन्ने उनीहरूलाई लाग्छ । जाति यसको कारण भएको उनीहरूले बताए । ‘बिहारीहरूको मनमा जात सबैभन्दा माथि हुन्छ,’ उनीहरू भन्छन् ।

‘कुनै कुरा बदलिने छैन’

अनुज कुमारको गाउँ भारत–नेपाल सीमाबाट केही सय मिटर टाढा छ । बिहीबार बिहान उनका साथीहरू गाउँमा भेला भएर राजनीतिको कुरा गर्दै थिए । तीमध्ये धेरैजना देशका अन्य भागमा काम गर्छन् । उनीहरूका अनुसार, बेरोजगारी र पलायन बिहारका ठूला समस्या हुन् । उनीहरू भन्छन्, ‘हामीलाई परिवर्तन चाहिएको छ तर विकल्प छैन ।’

२० वर्षका एकजना सैनिकले भने, ‘नेपालमा जस्तो यहाँ नेताहरू सजिलै बदल्न सकिँदैन । म भाजपा समर्थक हुँ तर गठबन्धनका कारण मैले जेडीयूलाई भोट हाल्नुपर्छ । नितिशजी राम्रा मान्छे हुन् तर अब उनको समय सकियो । नयाँ पुस्तालाई मौका दिनुपर्छ।’

उनी मुख्यमन्त्री नितिश कुमारतर्फ इंगित गर्दै थिए । नितिशले पछिल्लो २० वर्षदेखि गठबन्धन बदल्दै लगातार सरकार चलाउँदै आएका छन् ।

ती सैनिक भन्छन्, ‘म आरजेडीलाई भोट हाल्दिनँ । त्यो पार्टी मुस्लिम र यादवको मात्र हो ।’

अर्कातर्फ, आरजेडीका युवा समर्थकहरूका लागि नेपाल प्रेरणाको स्रोत बनेको छ ।

२२ वर्षका उदय कुमार यादव बिन्धी गाउँका रसायनशास्त्रका विद्यार्थी हुन् । उनले भने, ‘यहाँबाट नेपाल नजिकै छ । त्यसैले हामी किन प्रेरित नहुनु ? त्यहाँ जनताले सरकारै बदलिदिए । तर यहाँ, जे भए पनि केही हुँदैन ।’

उदयले थपे, ‘नितिश कुमार फेरि मुख्यमन्त्री बने भने म लोकतन्त्रमै विश्वास गर्न छोड्छु । यसपालि पनि केही बदलिएन भने यहाँ पनि नेपालको जस्तो स्थिति आउँछ । युवाहरू निकै रिसाएका छन् । कति दिनसम्म यसरी दुःख पाउने ?’

बदलिँदो मुड तर पुरानै राजनीति

सीतामढी जिल्ला तिरहुत प्रशासनिक क्षेत्रअन्तर्गत पर्छ र त्यहाँबाट ४० जना विधायक छानिन्छन् । पछिल्ला वर्षहरूमा सत्तारूढ गठबन्धनले यस क्षेत्रमा पकड जमाएको छ । विशेषगरी नेपाल सीमामा पर्ने जिल्लाहरूमा उसको प्रभाव छ ।

सन् २०२० को चुनावमा भाजपा–जेडीयूले सीतामढीका आठमध्ये ६ वटा सिट जितेका थिए ।

तर, यसपालि युवाहरूमा दुवै पार्टीका उम्मेदवारप्रति आक्रोश छ । सर्सन्द क्षेत्रको छोटकी भीठा गाउँमा अनुज र उनका साथीहरू जेडीयूका उम्मेदवारसँग असन्तुष्ट थिए ।

भाजपासमर्थक सैनिकले भने, ‘मैले पहिलोपटक उनलाई अस्ति दिवालीमा देखें । अघिल्लोपटक जित्ने उम्मेदवार त पाँच वर्षसम्म कहिल्यै आएनन् । सुनिल कुमार पिन्टु (यसपालि सितामढीबाट भाजपाका उम्मेदवार) लाई त मानिसहरूले भेटे भने पिट्छन् ।’

परिहार क्षेत्रका युवाहरू पनि असन्तुष्ट छन् । यहाँ सन् २०१० देखि लगातार भाजपा जित्दै आएको छ । कुशवाहाबहुल सुतिहरी गाउँका बासिन्दाहरूले सरकारले चुनावअघि ल्याएका योजनाको आलोचना गरे ।

महिलाहरूले भने, ‘महिला रोजगार योजनामा वाचा गरिएको १० हजार रुपैयाँ अझै पाइएन ।’

पुरुषहरूले भने, ‘हामीलाई यस योजनाबाट बाहिर राखियो ।’

२८ वर्षका कमलेश कुमारले भने, ‘नेपालमा जस्तै यहाँ पनि विरोध प्रदर्शन गर्नुपर्छ । अनि मात्र नेताहरू सुध्रिन्छन् ।’

जातीय राजनीति

तर, यस असन्तुष्टिले भाजपा–जेडीयूलाई कत्तिको असर गर्छ भन्ने निश्चित छैन । स्थानीयहरूको भनाइमा, विपक्षी दलले पनि राम्रो रणनीति बनाएको छैन । परिहारमा आरजेडीले स्मिता गुप्ता पुरवेलाई टिकट दिएको छ । त्यसले गर्दा सन् २०२० मा यही क्षेत्रबाट लडेकी रितु जायसवाल स्वतन्त्र उम्मेदवार उठेकी छन् ।

मतदाताहरूका अनुसार, जायसवाल अझै लोकप्रिय छन् र यसले विपक्षी दलको मतविभाजन गर्न सक्छ ।

तर, मुख्य कारण जात नै हो । धेरै युवाहरूका अनुसार, यही कारणले गर्दा बिहारका युवाहरू एकजुट हुन सक्दैनन् ।

२१ वर्षका दीपक कुमार सीतामढीमा एजुकेशन कन्सल्टेन्सी चलाउँछन् । उनी भन्छन्, ‘बिहारका जेनेरेशन–जेड सुतेका छन् । यहाँ जातले नै सबै कुरा निर्धारण गर्छ । यादवले यादवलाई भोट हाल्छ । भूमिहारले आफ्ना नेतालाई । युवामा कुनै एकता छैन ।’

आरजेडीका युवा समर्थक उदय यादवले भने, ‘उच्च जातका युवाहरू हामीसँग हात मिलाउँदैनन् । उनीहरूले आरजेडीका राम्रा कामहरू देख्दैनन् । हामी यादव भएकै कारण पार्टीलाई साथ दिएका हौं भनी उनीहरू भन्छन् ।

२८ वर्षका मनीष कुमार जनकपुरमा वेडिङ प्लानरका रूपमा काम गर्छन् । उनी छठ पर्व मनाउनका लागि गाउँ आएका थिए । उनी मन्दिरको पोखरीछेउमा पूजाका लागि जग सम्याइरहेका थिए ।

उनले भने, ‘नेपालमा युवाहरू जागेका छन् । बिहारमा त बेरोजगार मात्र छन् । यहाँ मानिसले बाँच्नका लागि यति संघर्ष गर्नुपर्छ कि राजनीतिका बारेमा सोच्नै सक्दैन ।’

चाक्नी गाउँमा रहेका मनीषका दुई साथी, २३ वर्षका हसन अन्सारी र भरोस यादव, फार्मेसीका विद्यार्थी हुन् । उनीहरू पनि मनीषको कुरा दोहोर्याउँछन् ।

अन्सारीले भने, ‘हामीलाई राजनीतिबाट मतलब छैन ।’

भरोसले मोबाइल निकाल्दै भने, ‘फेसबुक पूरै चुनावी समाचारले भरिएको देख्दा दिक्क लाग्छ । आफ्नो लागि आफैं केही गर्नुपर्छ भन्ने म जान्दछु । राजनीतिले केही पनि दिँदैन ।’

पुराना समाजवादीहरूको चिन्ता

युवाहरूको उदासीनता सीतामढीका पुराना समाजवादीहरूलाई चिन्तित बनाएको छ । लगभग हरेक साँझ गान्धी मैदानको कम्पाउन्डमा सानो समूह भेला भएर राजनीति र समाजबारे कुरा गर्छ ।

यीमध्ये केहीले सन् १९७४ को विद्यार्थी आन्दोलनमा भाग लिएका थिए । त्यही आन्दोलनले लालु प्रसाद यादव र नितिश कुमारलाई प्रान्तीय राजनीतिको चुलीमा पु‍र्यायो ।

राष्ट्रिय किसान सभाका प्रमुख ब्रजेश कुमार शर्माले भने, ‘आजकल कलेजमा पढाइ हुँदैन । विद्यार्थीहरू कोचिङ सेन्टर जान्छन् । विद्यार्थीहरू विश्वविद्यालयमा पढ्न गएपछि स्वतन्त्र हुन्छन् र सोच्न समय पाउँछन् अनि पो आन्दोलन जन्मिन्छ ।’

द स्क्रोलमा प्रकाशित अनन्त गुप्ताको रिपोर्टको अनुवाद