अल्बानियाकी एआई मन्त्री भइन् गर्भवती, ८३ सन्तान जन्माएर सांसदहरूलाई सहयोग गर्ने

4.5k
Shares

एजेन्सी । अल्बानियाका प्रधानमन्त्री एडी रामाले देशकी पहिलो कृत्रिम बुद्धिमत्ता एआई मन्त्री डिएला अहिले गर्भवती भएको बताएका छन् ।

डिएलाका ८३ सन्तान अर्थात् डिजिटल सहायकहरू संसद्का प्रत्येक सदस्यलाई सहयोग गर्न तयार भइरहेको उनले जानकारी दिएका छन् ।

यो घोषणा जर्मनीमा आयोजित बर्लिन ग्लोबल डायलग सम्मेलनमा गरिएको हो । यसले शासनसत्तामा कृत्रिम बुद्धिमत्ता समावेश गर्ने अल्बानियाको महत्त्वाकांक्षी अभियानमा अर्को कदम चाल्न लागिएको संकेत गरेको छ ।

रामाका अनुसार, डिएलाका प्रत्येक सन्तान सत्तारूढ सोसलिस्ट पार्टीका ८३ सांसदहरूका व्यक्तिगत सहायकका रूपमा काम गर्नेछन् । यी एआई सहायकहरूले संसदीय छलफल रेकर्ड गर्ने, बैठकहरूको सारांश तयार गर्ने र कुनै सांसदले छलफलको केही भाग गुमाए भने तिनका लागि जवाफ सुझाउने जिम्मेवारी पाउनेछन् ।

प्रधानमन्त्री रामाले हाँस्दै भने, ‘आज हामीले डिएलासँग ठूलो जोखिम उठायौं र राम्रो पनि गर्यौं । पहिलोपटक डिएला गर्भवती भएकी छन् र ८३ बच्चा जन्माउँदैछिन् । प्रत्येक सन्तानले संसद्का सदस्यका लागि सहायकको रूपमा काम गर्नेछ, बैठकमा सहभागी हुनेछ, सबै कुरा रेकर्ड गर्नेछ र सदस्यहरूलाई सुझाव दिनेछ । यी बच्चाहरूमा आफ्नी आमाको ज्ञान हुनेछ ।’

रामाले रमाइलो शैलीमा व्याख्या गर्दै भने, ‘उदाहरणका लागि, तपाईं कफी खान जानुभयो र काममा फर्कन बिर्सनुभयो भने यो बच्चाले तपाईंलाई तपाईं नभएको बेला के भनियो र तपाईंले कसलाई जवाफ दिनुपर्छ भनी बताउनेछ । तपाईंले मलाई अर्कोपटक निम्त्याउनुभयो भने तपाईंलाई डिएलाका ८३ बच्चाका लागि ८३ वटा नयाँ स्क्रिनहरू देखाउँछु ।’

यो प्रणाली सन् २०२६ को अन्त्यसम्म पूर्ण रूपमा सञ्चालनमा आउने उनले घोषणा गरे ।

डिएला शब्दको अर्थ सूर्य हुन्छ । उनलाई गत सेप्टेम्बर महिनामा अल्बानियाकी पहिलो एआई मन्त्रीको रूपमा नियुक्त गरिएको हो ।

पहिलोपटक उनी यस वर्षको जनवरी महिनामा ई–अल्बानिया प्लेटफर्ममा देखापरेकी थिइन् । त्यहाँ उनले नागरिक र व्यवसायहरूलाई सरकारी कागजात प्राप्त गर्न सहयोग गर्थिन् ।

डिजिटल रूपमा उनलाई परम्परागत अल्बानियाली पोशाकमा सजिएको महिलाको रूपमा प्रस्तुत गरिएको छ ।

‘सार्वजनिक खरिद प्रणालीलाई १०० प्रतिशत भ्रष्टाचारमुक्त बनाउने डिएलाको प्रमुख जिम्मेवारी हो,’ रामाले भने, ‘प्रत्येक सार्वजनिक निर्णय पूर्णरूपमा पारदर्शी हुनेछ ।’

गैरमानव एआई मन्त्री नियुक्त गर्ने अल्बानिया विश्वकै पहिलो देश बनेको छ ।

कृत्रिम बुद्धिमत्ताका लागि मन्त्रीभन्दा फरक डिएला आफैं पूर्ण रूपमा कोड र पिक्सेलबाट बनेकी डिजिटल व्यक्ति हुन् ।

उनी गर्भवती हुने घोषणा सुन्दा रमाइला लागे पनि यसले अल्बानिया कसरी राजनीतिक प्रशासन र प्रविधिलाई मिलाउनका लागि नयाँ प्रयोग गर्दैछ भन्ने देखाउँछ ।

प्रधानमन्त्री रामा भन्छन्, ‘डिएलाका बच्चाहरू चाँडै अल्बानियाको संसदीय प्रणालीका नयाँ सदस्य बन्नेछन् । डिजिटल, कहिल्यै नथाक्ने, र सांसदहरू कफी खान गए पनि नोट लिन तयार बच्चाहरू देख्न पाउनुहुनेछ ।’