रुसी सेनाले खसायो १९० भन्दा बढी युक्रेनी ड्रोन

469
Shares

एजेन्सी । सोमबार बिहान रुसले मस्को तर्फ पठाइएका दर्जनौं युक्रेनी ड्रोन खसाल्दै देशका अन्य क्षेत्रमा करिब १९० भन्दा बढी ड्रोन खसालेको रुसका अधिकारीहरूले बताएका छन् ।

ती आक्रमणहरूमा कम्तीमा एकजनाको मृत्यु भएको छ र पाँचजना घाइते भएका छन् ।

मस्को नजिकैको क्रास्नोगोर्स्क शहरमा युक्रेनी ड्रोनले बहुतल्ले भवनमा क्षति पु‍र्याएको थियो । त्यसको मर्मत कार्य नगरपालिकाका कर्मचारीहरूले गरिरहेको एपी समाचार संस्थाले जनाएको छ ।

दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा घातक स्थलयुद्ध सुरु भएको करिब चार वर्ष पुग्दा रुसले युक्रेनको ऊर्जा प्रणाली ध्वस्त पार्ने प्रयास गरिरहेको छ । उता, युक्रेनले विश्वकै दोस्रो ठूलो तेल निर्यातक देश रुसका तेल रिफाइनरीहरूलाई निशाना बनाइरहेको छ ।

रुसको रक्षा मन्त्रालयका अनुसार, मस्कोतर्फ पठाइएका ३४ वटा युक्रेनी ड्रोन खसालिएको हो । मस्को र आसपासका क्षेत्रको जनसंख्या २ करोड २० लाखभन्दा बढी छ ।

मस्कोमा ठूला क्षतिको कुनै प्रतिवेदन आएको छैन तर रुसले सर्वसाधारण वा नागरिक संरचना संलग्न नभएसम्म सामान्यतया युक्रेनी आक्रमणका पूर्ण विवरणहरू सार्वजनिक गर्दैन ।

रुसको हवाई निगरानी निकाय रोसाभियात्सियाले मस्कोका चारमध्ये दुई विमानस्थल डोमोदेदोभो र सानो झुकोभ्स्की एयरपोर्ट सुरक्षाका कारण केही समयका लागि बन्द गरिएको जानकारी दिएको छ ।

रुसको रक्षा मन्त्रालयले जनाएअनुसार, कुल १९३ वटा ड्रोन खसालिएका छन् । त्यसमा ४७ वटा युक्रेनसँग सिमाना जोडिएको दक्षिण–पश्चिमी ब्रायान्स्क क्षेत्रमाथि खसालिएका थिए ।

त्यही क्षेत्रमा एक युक्रेनी ड्रोनले मिनिबसमा प्रहार गर्दा चालकको मृत्यु भएको र पाँच यात्रु घाइते भएको क्षेत्रीय गभर्नर अलेक्जान्दर बोगोमाजले टेलिग्राममा लेखेका छन् ।

युक्रेनले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । रूसको युद्ध सञ्चालनका लागि आवश्यक संरचना नष्ट गर्नका लापग आक्रमण गरेको युक्रेनले अघिल्ला घटनाहरूमा बताएको थियो ।

दुवै पक्षले सर्वसाधारणलाई निशाना नबनाएको दाबी गर्दै आएका छन् । तर, यस युद्धमा हालसम्म हजारौं मानिस मारिएका छन् जसमध्ये ठूलो हिस्सा युक्रेनी नागरिकहरूको छ ।