
एजेन्सी । दिल्लीको भारतीय जनता पार्टी सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीको छठ पूजाका लागि नक्कली यमुना तयार पारेको आम आदमी पार्टी (आप)ले दाबी गरेको छ ।
फिल्टर गरिएको पानीले कृत्रिम पोखरी बनाएर त्यसैलाई यमुना भनेको आपको आरोप छ ।
प्रधानमन्त्री मोदी मंगलबार उत्तर दिल्लीको वासुदेव घाटमा आयोजित छठ पूजामा सहभागी हुने कार्यक्रम छ ।
उक्त पोखरीमा वजीराबाद वाटर ट्रीटमेन्ट प्लान्टको पाइपलाइनमार्फत आउने पानी प्रयोग गरिएको दिल्ली आपका अध्यक्ष सौरभ भारद्वाजले आरोप लगाए । यो जनता र बिहार–पूर्वाञ्चलका श्रद्धालुहरूलाई बेवकुफ बनाउने प्रयास भएको उनले बताए ।
बिहारमा छठ पूजाको ठूलो धार्मिक र सांस्कृतिक महत्त्व छ । त्यहाँ नोभेम्बर ६ र ११ मा विधानसभा निर्वाचन हुँदैछ ।
भारद्वाजका अनुसार, प्रधानमन्त्रीले नक्कली यमुनामा डुबुल्की लगाउनेछन् । तर, सर्वसाधारण श्रद्धालुहरूले प्रदूषित वास्तविक यमुनामै नुहाउनुपर्नेछ । पूर्वाञ्चलीहरू मरे पनि भाजपाको प्रचार रोकिँदैन भनी उनले आरोप लगाए ।
यमुनाको पानीमा नुहाउँदा पनि गम्भीर रोग हुनसक्ने चेतावनी उनले दिल्ली प्रदूषण नियन्त्रण समितिको प्रतिवेदनले दिइसकेको उनले बताए । उनका अनुसार, भाजपाले बिहारबाट मत पाउनका लागि जनस्वास्थ्य र आस्थासँग खेलबाड गरेको छ ।
आपका संयोजक अरविन्द केजरीवालले भारद्वाजको भिडियो सेयर गर्दै भाजपाले छठ पर्वको आस्थामाथि पनि ठट्टा गरेको सामाजिक सञ्जालमा लेखे ।
दिल्ली भाजपाका प्रमुख वीरेन्द्र सचदेवाले यी आरोपलाई राजनीतिक निराशाको नतिजा भनेका छन् ।
उनका अनुसार, आप सरकारले पहिले घाट सरसफाइमा आपत्ति जनाएको थियो । अहिले सरकारले घाट सफा गर्दा आपले त्यसैमा विरोध गरेको हो । विपक्षी दलले स्वच्छता प्रयासको विरोध गरेको यो पहिलोपटक भएको सचदेवाले बताए ।
सन् २०१८ देखि २०२४ सम्म आप सरकारकै कार्यकालमा यमुनाको किनारमा छठ पूजा प्रतिबन्धित थियो तर अहिले भाजपाले प्राकृतिक घाट श्रद्धालुका लागि खोलेपछि आपले नाटकीय विरोध गरिरहेको उनले थपे ।
छठ पर्व मुख्यतः बिहार, उत्तर प्रदेश र झारखण्ड र नेपालका हिन्दूहरूले मनाउने पर्व हो । यसमा श्रद्धालुहरू सूर्यको आराधनाका लागि पानीमा उभिएर पूजा गर्छन् ।
यो वर्ष पर्व शनिबारदेखि सुरु भई मंगलबार सम्पन्न हुनेछ ।
पाँच वर्षपछि पूजा गर्न अनुमति पाएका श्रद्धालुहरूले घाटमा पानी र सरसफाइको व्यवस्थापन नभएको आरोप लगाएका छन् ।








प्रतिक्रिया