
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी नातिनी काइ ट्रम्पले अनजानमै ट्रम्पको स्वास्थ्यबारे खुलासा गरेको देखिएको छ ।
ती विवरणहरूलाई ह्वाइट हाउसले नियन्त्रणमा राख्ने प्रयास गरिरहेको बताइन्छ ।
१८ वर्षीया काइ ट्रम्पको इन्स्टाग्राम पोस्टले लामो समयदेखि चर्चित रहेको राष्ट्रपतिको हातको चोटबारेको समयरेखा प्रकट गरेको हुनसक्छ । ट्रम्पले धेरै जनासँग हात मिलाउँदा यस्तो भएको बताएर स्पष्ट पार्न खोजेका थिए ।
काइको इन्स्टाग्राम पोस्टको सुरुवातमा आफ्नै कपडाको ब्रान्ड प्रमोट गर्ने सामान्य पोस्टजस्तो देखिन्थ्यो । एनएफएल स्टार ट्राभिस केल्सका पोस्टहरू जस्तै त्यो देखिन्थ्यो । तर, ती सेल्फी र पुराना तस्बिरहरूबीच लुकेर राखिएको एउटा तस्बिरमा डोनल्ड ट्रम्पको चोट लागेको दायाँ हात नोभेम्बरमै देखिएको प्रमाणित भयो ।
औपचारिक रूपमा ह्वाइट हाउस फर्किने मितिभन्दा हप्तौंअघि नै ट्रम्पलाई चोट लागेको संकेत दिएको छ । यो घटनाक्रम काइले ट्रम्पको स्वास्थ्यबारे दिएको छोटो चार शब्दको अपडेटपछि आएको द यूएस एक्सप्रेसले जनाएको छ ।
त्यो तस्बिर पहिलोपटक निर्वाचनको रातमा पोस्ट गरिएको थियो । त्यसमा काइ र डोनल्ड ट्रम्पलाई मार–ए–लागोमा नतिजा हेर्दै उत्सव मनाइरहेका देखिन्छन् । ट्रम्पको दायाँ हातमा बाक्लो स्प्रे ट्यान वा फाउन्डेशन लगाइएको जस्तो देखिन्थ्यो । त्यसले औंलाको वरिपरि नीलो चोट लुकाउने प्रयास गरेको थियो । त्यतिबेला कसैले ध्यान दिएको थिएन ।
मेकअपको प्रयोग समस्या लुकाउने सुरुवाती प्रयास भएको महिनौंको अड्कलबाजीपछि अब स्पष्ट भएको छ । पछि गएर त्यो केबल टीभीको समाचार र स्वास्थ्य ब्लगहरूको मुख्य विषय बन्न पुग्यो । ट्रम्पले डिसेम्बर २०२४ मा टाइम पत्रिकासँगको अन्तर्वार्तामा हजारौँ जनासँग हात मिलाउँदा चोट लागेको बताएका थिए ।
अगस्ट महिनामा ट्रम्पको दायाँ हातमा चोटका दाग देखिएका धेरै तस्बिरहरू सार्वजनिक भए । त्यसपछि सामाजिक सञ्जालमा उनका स्वास्थ्यबारे प्रश्नहरू उठे । ती तस्बिरहरू भाइरल भएपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसेन्सी भएको बतायो । त्यसलाई उनका चिकित्सकले सामान्य र हानिरहित भनेका थिए ।
ट्रम्पको स्वास्थ्यबारे लामो समयदेखि आलोचना हुँदै आएको छ र हाल हातका दाग तथा खुट्टा सुन्निएको देखिएपछि चिन्ता बढेको छ । राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार, हरेक वर्ष करिब डेढ लाख नयाँ व्यक्तिलाई यो रोग लाग्ने गर्छ ।
जुलाई महिनामा ह्वाइट हाउसले ट्रम्पका निजी चिकित्सक डा. सीन बार्बाबेल्लाको वक्तव्य प्रकाशित गरेको थियो । हातमा देखिएको रंग परिवर्तन बारम्बार हात मिलाएको र एस्पिरिन सेवन गरेका कारण हुने सानो टिस्यु इरिटेशनसँग मेल खाने भनी उल्लेख गरिएको थियो । एस्पिरिन ट्रम्पको सामान्य हृदय–सुरक्षा उपचारको हिस्सा भएको र चोट हानिरहित एवं सामान्य प्रकारको भएको चिकित्सकले बताएका थिए ।
उक्त प्रतिवेदनले ट्रम्पका सुन्निएका खुट्टाबारे पनि प्रष्ट्याएको थियो । त्यो पनि क्रोनिक भेनस इन्सफिसेन्सीकै कारण भएको बताइएको छ । त्यो समस्या आउँदा शरीरका नसाहरूले रगतलाई मुटुतर्फ फर्काउन समस्या भोग्छन् । प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले पनि उक्त निष्कर्षलाई पुष्टि गर्दै राष्ट्रपति ट्रम्प उत्कृष्ट स्वास्थ्य अवस्थामा रहेको बताइन् ।
तर, रेडारअनलाइनका अनुसार, ट्रम्प नजिकका स्रोतहरूले भने उनी बढ्दो शारीरिक कठिनाइको सामना गरिरहेको छन् र छिट्टै उनले नितम्ब प्रतिस्थापन शल्यक्रिया गर्नुपर्ने हुनसक्ने बताउँछन् । स्रोतहरूका अनुसार, ७९ वर्षको उमेरमा ट्रम्पको शारीरिक अवस्था उनले सार्वजनिक रूपमा देखाएको भन्दा निकै गम्भीर छ ।
राष्ट्रपति ट्रम्पको स्वास्थ्यबारे बढ्दो चिन्ताबीच उनलाई शुक्रबार वार्षिक स्वास्थ्य परीक्षणका लागि बोलाइएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लिभिटका अनुसार, शुक्रबार बिहान राष्ट्रपति ट्रम्प वाल्टर रिड मेडिकल सेन्टर जानेछन् ।
त्यहाँ उनले सैनिकहरूसँग भेटघाट र सम्बोधन गर्ने कार्यक्रमका क्रममा आफ्नो नियमित स्वास्थ्य परीक्षण पनि गर्नेछन् ।
जनवरी महिनामा पुनः कार्यकाल चलाउन थाल्दा इतिहासकै सबैभन्दा वृद्ध अमेरिकी राष्ट्रपति बनेका ट्रम्पले सधैं आफू साना समस्या बाहेक पूर्ण रूपमा स्वस्थ रहेको दाबी गर्दै आएका छन् । हालै न्युजम्याक्ससँगको अन्तर्वार्तामा उनले आफू अहिले ३० वर्षअघिको जस्तो, शायद अझ राम्रो महसुस गरिरहेको बताएका थिए ।








प्रतिक्रिया