एभरेष्ट सुगर मिलको व्यापार ३५ प्रतिशतले घट्यो, एक वर्षमा कतिको गर्‍यो कारोबार ?

119
Shares

काठमाडौं । एभरेष्ट सुगर केमिकल इन्डष्ट्रिजको व्यापार ३५ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ३५ प्रतिशतले घटेको हो ।

सन् २०२४ मा ३ अर्ब ३२ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा २ अर्ब १५ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको कम्पनीले प्रतिदिन ५ हजार ५ सय मेट्रिक टन ऊखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको छ । कम्पनीले सामान्य र सल्फर फ्रि सुगर उत्पादन गर्दै आएको छ । महोत्तरीको गौशालामा रहेको उद्योगमा सराफ र अग्रवाल परिवारको स्वामित्व छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ। कम्पनीअनुसार गत आवमा व्यापार घट्नुमा मुख्य कारण भारतबाट चिनी आयातमा कमीले अनौपचारिक बजारमा चिनीको अभाव रहेको उल्लेख गरेको छ ।

कम्पनीले सन् २०२५ मा १२.६६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा १६.२२ प्रतिशत खुद नाफा कमाएको थियो । गत आवमा चिनीको मूल्य बढ्दा नाफामा प्रभाव परेको कम्पनीको भनाइ छ ।

नेपालमा सरकारी क्षेत्रबाट चिनी आपूर्ति हुँदै आएको छ । साल्ट ट्रेडिङले भारतबाट चिनी आयात गरी बजारमा वितरण गर्दै आएको छ । त्यस्तै सरकारले ऊखु किसानहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ । जसले गर्दा सरकारले चिनी आयातमा कर लगाउँदै आएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् चिनी आयातमा लाग्दे आएको १५ प्रतिशत कर बढाएर ३० प्रतिशत पुर्याएको छ । तर सरकारले ऊखु किसानलाई वितरण गर्दै आएको अनुदान भने घटाएको छ । सरकारले प्रति क्विन्टल ७० रुपैयाँ दिँदै आएकोमा अहिले घटाएर ३५ रुपैयाँ तोकेको छ ।