जाडोअघिको ट्रेकिङले आन्तरिक पर्यटन चलायमान, बेमौसमी वर्षाले बिथोलिँदै यात्रा

1.1k
Shares

काठमाडौं । तिहार सकिएलगत्तै देशका हिमाली र पहाडी पर्यटनस्थलहरुमा आन्तरिक पर्यटकको लर्को देखिएको छ । विशेषगरी मुस्ताङ र अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रमा यतिखेर पर्यटकको चाप यति धेरै छ कि होटल, होमस्टे र धर्मशालाहरु भरिभराउ छन् । जाडो सुरु हुनुअघि ट्रेकिङ गर्ने लहरले आन्तरिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याएको छ तर अप्रत्याशित बेमौसमी वर्षा र हिमपातको सम्भावनाले यस यात्रालाई जटिल बनाउने देखिन्छ ।

हिमालपारीको जिल्ला मुस्ताङमा भाइटीका सकिएलगत्तै पर्यटकको लर्को लागेपछि स्थानीय प्रशासनदेखि होटल व्यवसायी र सुरक्षा निकाय सबै व्यस्त बनेका छन् । बर्खायामको भेल जस्तै आन्तरिक पर्यटक एकैसाथ मुस्ताङ पुगेपछि व्यवस्थापन अस्तव्यस्त बनेको छ । विगतका वर्षमा पनि दशैं, तिहार र छठको बिदामा मुस्ताङमा घुम्न आउनेको संख्या उल्लेखनीय रहँदै आएको छ, तर यस वर्षको चाप भने सबैभन्दा धेरै देखिएको हो ।

विगतमा देखिएको राजनीतिक अस्थिरता, जेनजी आन्दोलनको प्रभाव र आर्थिक मन्दीका कारण यस वर्ष आन्तरिक पर्यटन सुस्ताउने अनुमान गरिएको थियो । तर त्यो अनुमान गलत सावित भयो । तिहारपछि मुस्ताङ पुगेका पर्यटकले सबै होटल भरिएपछि सवारीसाधनमै रात बिताउनुपरेको घटना सामान्य भएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनका अनुसार भाइटीकापछि मात्र औसत आठ हजार आन्तरिक पर्यटक मुस्ताङ पुगेका छन्, जुन स्थानीयको कल्पनाभन्दा निकै बढी हो ।

खासगरी दशैंको बेलामा झरी परेपछि त्यतिबेला घुम्न नपाएकाहरू तिहार सकिएलगत्तै निस्किन थालेका छन् । मुस्ताङमात्र होइन, पूर्वको कञ्चनजंघा हिमालदेखि, मकालु, सगरमाथा क्षत्रे र गोक्यो ताल, गौरीशंकर र छोरोल्पा ताल क्षेत्र, लाङटाङ र गोसाईकुण्ड, मनास्लु, मनाङ र तिलिचो, अन्नपूर्ण क्षेत्रदेखि शे-फोक्सुन्डो रारा तथा अपि सैपाल हिमालसम्म आन्तरिक पर्यटक पुगेका छन् । जेनजी आन्दोलनको राप कम भएसँगै चहलपहल बढेको छ । आन्तरिक पर्यटन मौलाउँदा विदेशी पर्यटकमा भने आन्दोलनको मनोवैज्ञानिक त्रास देखिएको छ ।

पोखरा चलायमान

केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दशैंतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा ।

यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय आन्दोलन र प्रतिकूल मौसमले खस्केको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाका कारण पुनर्जीवित भएको छ ।

आन्तरिक पर्यटकमा पदयात्राप्रति पनि उत्साह देखिएको छ । पोखरा पदयात्रा (ट्रेकिङ) का लागि एक महत्त्वपूर्ण प्रवेशद्वार हो । अन्नपूर्ण बेस क्याम्प ट्रेक, मर्दी हिमाल ट्रेक, घोरेपानी–पुनहिल ट्रेकजस्ता विश्व–प्रसिद्ध पदमार्ग पोखराबाटै सुरु हुन्छन् । यी पदमार्गले हरेक वर्ष हजारौँ ट्रेकरलाई आकर्षित गर्छन्, जसले पोखराको पर्यटनमा थप विविधता ल्याएको छ ।

केही दिनयता कास्कीको छोमरोङ, पोथना, विरेठाँटी लमजुको बेँसीसहर, म्याग्दीको घासा गरेर पाँच चेकपोष्टबाट विदेशी पर्यटक दैनिक हजारदेखि एक हजार २०० र नेपाली चार हजारदेखि चार हजार ४५ सम्म पदयात्रामा जाने गरेका तथ्याङ्क छ ।

नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी फेवातालको किनारमा रहेका रेस्टुरेन्ट, क्याफे र पसलले साँझमा जीवन्त वातावरण सृजना गरिरहेका छन् । तालमा गरिने डुङ्गा सयर, ताल किनारमा साइक्लिङ वा पैदलयात्रा गर्दा पर्यटकले शान्ति र आनन्दको अनुभव गर्ने गर्दछन् । तालको बीचमा रहेको तालबाराही मन्दिरले पनि सांस्कृतिक महत्व बोकेको छ ।

सडक विकास र प्रचारले मुस्ताङमा पर्यटक, तर बास पाउनै गाह्रो

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकमार्गको तीव्र प्रगतिले मुस्ताङ पुग्ने यात्रालाई सहज बनाएको छ । म्याग्दी खण्डको आधाजसो सडक कालोपत्र भइसकेको र घाँसादेखि मुक्तिनाथसम्म ९५ प्रतिशत सडक स्तरोन्नति भएको कारण अब कोरला नाका पुग्न पनि कुनै ठुलो चुनौती छैन । यसैले गर्दा मुस्ताङ अहिले देशकै सबैभन्दा लोकप्रिय घरेलु गन्तव्य बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मुस्ताङलाई ‘घुम्नैपर्ने स्थान’को सूचीमा राखेपछि यस क्षेत्रप्रति आकर्षण झन् बढेको छ । मुस्ताङमा रहेका मुक्तिनाथ मन्दिर, लोमान्थाङ दरबार, कोरला नाका, छोसेर गुफा, मराङ गुम्बा, कागबेनी र मार्फा गाउँ अहिले पर्यटकले भरिएका छन् ।

तर होटलको क्षमता भने यस भीड थेग्न नसक्ने अवस्थामा पुगेको छ । मुस्ताङका पाँच गाउँपालिकामा ३२५ होटल दर्ता छन्, तर तीमध्ये ९० प्रतिशत राजमार्गमै सीमित छन् । तिहारपछि ती सबै होटल भरिएपछि धर्मशाला, सामुदायिक भवन र स्थानीय बासिन्दाका घरमा पर्यटकलाई राख्ने व्यवस्था गरिएको मुस्ताङ प्रहरीका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए ।

काठमाडौँबाट मोटरसाइकलमा कोरला नाका पुग्ने योजना बनाएका मन श्रेष्ठ र उनका साथीहरु जोमसोम पुगेपछि कोठा खोज्दै थकित बने । होटलहरु भरिएकोले उनीहरुले अन्ततः स्थानीय पत्रकारको सहयोगमा सामान्य होटलमा बास पाएका थिए । त्यस्तै पोखराबाट विद्यार्थी लिएर आएको समूहलाई पनि बास नपाएर सवारीसाधनमै रात काट्नुपरेको थियो ।

कतिपय होटलहरुले मूल्य मनोमानी बढाएको गुनासो पनि बढेको छ । सामाजिक सञ्जालमा ‘मुस्ताङ महँगो भयो’ भन्ने पोस्टहरु देखिन थालेपछि मुस्ताङ उद्योग वाणिज्य सङ्घले व्यवसायीहरुलाई ‘अल्पकालीन लाभ होइन, दीर्घकालीन प्रतिष्ठा हेरेर व्यवहार गर्न’ आग्रह गरेको छ ।

अन्नपूर्ण आधार शिविर पनि पर्यटकले खचाखच

मुस्ताङसँगै म्याग्दीको अन्नपूर्ण आधार शिविर (एबीसी) पनि अहिले आन्तरिक पर्यटकको आकर्षण बनेको छ । असोज अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को अहिले पनि रोकिएको छैन । म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङका होटलहरू सबै भरिभराउ छन् ।

होटल व्यवसायी हरिकृष्ण श्रेष्ठका अनुसार ‘दशैं र तिहारमा मुक्तिनाथ जानेहरुको भीड त रहन्छ नै, यसपाली एबीसी जाने पनि थपिएपछि होटलले थेग्न नसकेको अवस्था आएको हो ।’ उनका अनुसार म्याग्दीका होटलमा दैनिक दुई हजार र मुस्ताङका होटलमा दैनिक तीन हजार पाहुना सहजै व्यवस्थापन गर्न सकिने क्षमता भए पनि यसपालीको संख्याले त्यो सीमालाई पार गरेको छ ।

भुरुङ–तातोपानीका होटल व्यवसायी राजु हमाल भन्छन्, ‘छठपछि विद्यालय र कार्यालय खुले पनि अकुपेन्सी अझै ८० प्रतिशतभन्दा बढी छ । जेनजी आन्दोलन र खराब मौसमले सुस्त पर्यटनलाई फेरि चलायमान बनाएको छ ।’

अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको संख्याले स्थानीय अर्थतन्त्रमा चलायमानता ल्याएको छ । तर यातायात भाडा, सडक मर्मत र सञ्चार सेवामा सुधार गर्नुपर्ने माग बढ्दै गएको छ ।

बेमौसमी वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले हिमाली र उच्च पहाडी क्षेत्रतर्फ पदयात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन आग्रह गरेको छ । बङ्गालको खाडी र अरब सागरमा बनेको दुई न्यून चापीय प्रणालीका कारण मङ्गलबारदेखि शुक्रबारसम्म देशका विभिन्न उच्च भागमा वर्षा र हिमपातको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लेक लाग्ने जोखिमबारे सचेत गराउँदै पदयात्रा अघि ‘अलर्ट’ लिन, एक्लै यात्रा नगर्न र स्वास्थ्य पूर्वतयारी गर्न सुझाव दिएको छ । पछिल्ला दुई दिनमै लेक लागेर मनाङ र कास्कीमा चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी पर्यटकलाई काठमाडौँ ल्याएर उपचार भइरहेको छ ।

जाडो सुरु हुनु अघि देशभर ट्रेकिङ र घुमफिर गर्नेको लहरले आन्तरिक पर्यटनमा नयाँ उत्साह ल्याएको छ । मुस्ताङ र अन्नपूर्ण आधार शिविर अहिले नेपाली पर्यटकको पहिलो रोजाइ बनेका छन् । सडक पहुँच, सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण घुम्ने संस्कृतिमा सकारात्मक परिवर्तन आएको देखिन्छ । तर, मौसमका जोखिम, होटलको अभाव, मूल्यवृद्धि र व्यवस्थापन अभावले पर्यटनको दिगोपनामा प्रश्न उठाएको छ ।