
एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानले बलोचिस्तानका विषयमा हालै गरेको टिप्पणीले पाकिस्तानीहरूलाई आक्रोशित बनाएको छ ।
पाकिस्तान सरकारले सलमानलाई एन्टी टेररिजम एक्टको चौथो अनुसूची अन्तर्गत राखेको बताइएको छ । त्यस सूचीमा आतंकवादसँग सम्बन्ध भएका भनिएका व्यक्तिहरूलाई राख्ने गरिन्छ ।
त्यस सूचीमा राखिएका व्यक्तिलाई कडा निगरानीमा राखिने, गतिविधिमा नियन्त्रण गरिने र कानूनी कारवाही समेत गरिने गरिन्छ । सलमानले साउदी अरबको राजधानी रियादमा आयोजित जोय फोरम २०२५ मा सहभागी हुँदै उक्त टिप्पणी गरेका थिए ।
पश्चिम एसियामा भारतीय फिल्मको लोकप्रियता बढिरहेको विषयमा उनले शाहरुख खान र आमिर खानसँग मिलेर चर्चा गरेका थिए ।
छलफलका क्रममा सलमानले भने, ‘अहिले तपाईंले हिन्दी फिल्म बनाएर यहाँ साउदी अरबमा रिलिज गर्नुभयो भने त्यो सुपरहिट हुन्छ । तपाईंले तमिल, तेलुगु वा मलयाली फिल्म बनाएर यहाँ चलाउनुभयो भने करोडौंको व्यापार गर्न सक्नुहुन्छ किनकि अनेकौं मुलुकबाट आएका मानिसहरू यहाँ छन् । यहाँ बलोचिस्तानबाट, अफगानिस्तानबाट र पाकिस्तानबाट मानिसहरू आएका छन् । सबैजना यहाँ काम गरिरहेका छन् ।’
बलोचिस्तान र पाकिस्तानलाई बेग्लाबेग्लै मुलुक जस्तो गरी उल्लेख गरेको भन्दै पाकिस्तानी अधिकारीहरू रिसाएका छन् । सलमानको टिप्पणीले पाकिस्तानको भौगोलिक अखण्डतालाई उल्लंघन गरेको उनीहरूको भनाइ छ ।
बलोचिस्तानका पृथक्तावादी नेताहरूले सलमानको टिप्पणीको स्वागत गरेका छन् । आफूहरूले गरिरहेको संघर्षलाई यस टिप्पणीले सम्मान गरेको उनीहरूको भनाइ छ । बलोच स्वतन्त्रता अभियानका समर्थक मिर यार बलोचले सलमानको भनाइले ६ करोड बलोचीलाई खुशी बनाएको बताए । आफूहरूको पहिचानलाई विश्वसामु दर्साउनका लागि यो नरम कूटनीतिको हिस्सा भएको उनको भनाइ छ ।
बलोचिस्तान भूभागको सवालमा पाकिस्तानको सबभन्दा ठूलो प्रान्त हो । तर, त्यहाँ ६ प्रतिशत मात्र पाकिस्तानीहरू बस्छन् । त्यो क्षेत्र लामो समयदेखि राजनीतिक र सामाजिक अस्थिरताको केन्द्र रहिआएको छ ।
प्राकृतिक स्रोतमा धनी भए पनि बलोचिस्तान देशको सबभन्दा गरिब क्षेत्रमा पर्छ । त्यहाँको कुल जनसंख्याको ७० प्रतिशत मानिस गरिबीको रेखामुनि छन् । इस्लामाबादको शोषण, आर्थिक अवहेलना र सैन्य दमनका कारण उक्त प्रान्तमा पृथक्तावादी भावना बलियो बनेको बताइन्छ ।








प्रतिक्रिया