फ्रान्सको लुभ्र संग्रहालयमा गहना चोरीका दुई आरोपितहरू पक्राउ

119
Shares

एजेन्सी । अघिल्लो आइतबार फ्रान्सको राजधानी पेरिसमा रहेको लुभ्र संग्रहालयबाट महँगा गहना चोरी गर्नेमध्ये दुईजनालाई पक्राउ गरिएको त्यहाँका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

एक आरोपितलाई स्थानीय समयअनुसार शनिबार राति १० बजेतिर पक्राउ गरिएको थियो । उनी विमान चढेर विदेशतिर भाग्न लाग्दा शर्ल डी गुल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको बताइएको छ । त्यसको केही समयपछि अर्का आरोपितलाई पेरिसबाट पक्राउ गरिएको थियो ।

अक्टोबर १९ मा बिहान ठिक साढे ९ बजे संग्रहालयमा अचानक चारजना कामदारका रूपमा प्रवेश गरेका । उनीहरूले नीलो युनिफर्म र सुरक्षा पासजस्तै खालको कार्ड देखाएर प्रवेशद्वार पार गरेका थिए ।

त्यसको केही मिनेटमै उनीहरू गहना प्रदर्शन गरिएको कोठामा पुगे र सुरक्षा काँच तोडेर आठवटा मूल्यवान् वस्तु लिएर भागे । कामदारका रूपमा संग्रहालयमा प्रवेश गरेका उनीहरूले गहना चोरेपछि डिस्क कटर प्रयोग गरेर झ्याल काटे र संग्रहालयको पछाडिको भागमा भर्याङ लगाएर तल झरे । उनीहरू भर्याङ्बाट भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यसपछि उनीहरू स्कूटरमा चढेर भागेका थिए ।

चोरी भएका गहनाहरूमा फ्रान्सको राजपरिवारले प्रयोग गरेका गहना पनि रहेका छन् । नेपोलियन प्रथमकी पत्नी महारानी मेरी–लुइस र नेपोलियन तृतीयकी पत्नी महारानी युजेनीका गहनाहरू चोरी भएका हुन् ।

त्यहाँ सबैभन्दा मूल्यवान युगेनी क्राउन थियो जुन १८५५ मा नेपोलियनकी पत्नी महारानी युजेनी डे मोन्टीजोको लागि उत्कृष्ट डिजाइनमा बनाइएको थियो । सोे मुकुट पनि चोरी भएको छ ।

त्यसबाहेक दुईवटा टियारा, नीलमणि र पन्नाका हार, झुम्का र दुईवटा ठूला ब्रोच चोरी भएका छन् । ती गहनाहरू सुन वा हीराको कारणले मात्र नभई १८औं शताब्दीदेखि फ्रान्सेली इतिहासको प्रतीकका रूपमा रहेकाले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।