शान्तिवार्ता सफल नभए अफगानिस्तानसँग खुला युद्ध हुने पाकिस्तानका रक्षामन्त्रीको चेतावनी

483
Shares

एजेन्सी । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगानिस्तानसँग इस्तानबुलमा भइरहेको वार्तामा सम्झौता नभएमा खुला युद्ध हुने चेतावनी दिएका छन् ।

दुवै देशले सीमामा भएको घातक झडपपछि युद्धविराम गर्न सहमति जनाएको केही दिनपछि आसिफको बयान आएको हो ।

शनिबार सुरु भएको र आइतबारसम्म चल्ने अपेक्षा गरिएको इस्तानबुल वार्ता सन् २०२१ मा तालिबानले काबुल कब्जा गरेपछिको सबैभन्दा खराब सीमासंघर्षपछि पुनः हिंसा नफैलियोस् भन्ने उद्देश्यले गरिएको पछिल्लो प्रयास हो ।

दोहा युद्धविरामलाई दीर्घकालीन रूपमा लागू गर्ने संयन्त्र तयार गर्नु वार्ताको उद्देश्य हो ।

युद्धविराम सहमति भएपछि पछिल्ला चार–पाँच दिनमा कुनै घटनाहरू नभएको र दुवै पक्षले सम्झौताको पालना गरिरहेको आसिफले बताए ।

‘सम्झौता भएन भने हामी उनीहरूसँग खुला युद्ध गर्नेछौं,’ उनले पाकिस्तानबाट प्रसारित टिप्पणीमा भने, ‘तर, उनीहरूले शान्ति चाहेको मैले देखें ।’

तालिबानले आफ्नो भूमिबाट पाकिस्तानमाथि हमला गर्ने लडाकुहरूलाई नियन्त्रणमा राख्नुपर्ने भनी अक्टोबर महिनाको आरम्भमा पाकिस्तानले माग गरेको थियो । त्यसपछि दुवै देशबीच गोलीबारी र हवाई आक्रमण भएको थियो । त्यसमा दर्जनौं मानिसको ज्यान गएको थियो र प्रमुख सीमा नाकाहरू बन्द भएका थिए । ती नाका अझै बन्द नै छन् ।

इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानमाथि आक्रमण गर्ने लडाकुहरूलाई आश्रय दिएको आरोप लगाएको छ । तर, तालिबानले यो आरोप अस्वीकार गर्दै पाकिस्तानका सैन्य कारबाहीले अफगानिस्तानको सार्वभौमसत्ता उल्लंघन गरेको दाबी गरेको छ ।