
एजेन्सी । केन्याको समुद्री किनार नजिकका पाँच गाउँहरूमा शंका फैलिएको छ ।
अमेरिकादेखि चीनसम्मका ठूला शक्तिराष्ट्रहरूको नजर अहिले दुर्लभ खनिज पदार्थले भरिएको एउटा जंगलमा परेकाले यस्तो शंका फैलिएको हो । त्यस जंगलले उच्च प्रविधि र कम कार्बन उत्सर्जन गर्ने उद्योगका लागि अत्यावश्यक सामग्री आपूर्ति गर्छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले अफ्रिकामा आफ्नो कूटनीतिक प्राथमिकताको रूपमा महत्त्वपूर्ण खनिज सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यसै वर्ष उसले प्राकृतिक स्रोतसम्पन्न कंगोसँग शान्ति सम्झौता पनि गरेको छ ।
हिन्द महासागर तट नजिकै केन्यामा रहेको करिब ३९० एकड क्षेत्रफलको म्रिमा हिल नामक जंगल अमेरिका–चीन प्रतिस्पर्धाको अर्को सम्भावित लक्ष्य बन्ने देखिएको छ ।
यस क्षेत्रमा रहेको भूमिगत दुर्लभ खनिज पदार्थको मूल्य सन् २०१३ मा कोर्टेक माइनिङ केन्या (यूके र क्यानडामा रहेको प्यासिफिक वाइल्डक्याट रिसोर्सेस को सहायक कम्पनी) ले करिब ६२.४ अर्ब अमेरिकी डलर अनुमान गरिएको थियो । यसमा स्टिल मजबुत बनाउन प्रयोग हुने निओबियम समेतको ठूलो भण्डार रहेको बताइएको छ ।
अमेरिकी अधिकारी मार्क डिलार्डले जुन महिनामा केन्याको कार्यवाहक राजदूत रहँदा म्रिमा हिलको भ्रमण गरेका थिए ।
त्यसअघि पनि चिनियाँ नागरिक सहितका कतिपय विदेशीहरू उक्त क्षेत्रमा पुग्ने प्रयास गरेका थिए । तर, स्थानीयहरूले ती विदेशीहरूलाई फर्काएको बताइएको छ । म्रिमा हिल समुदायका सुरक्षाकर्मी जुमा कोजाका अनुसार, ती चिनियाँहरूलाई फिर्ता पठाइएको थियो ।
यसै वर्ष अस्ट्रेलियाका कम्पनीहरू रेयरेक्स र इलुका रिसोर्सेसको समूहले त्यहाँ खनिज उत्खनन गर्न प्रस्ताव गरेका थिए । स्थानीयहरूका अनुसार, त्यसपछि भूमिसँग सम्बन्धित बिचौलिया र दलालहरू पनि गाउँतिर आउन थालेका छन् ।
शक्तिराष्ट्रको यो बढ्दो चासोले स्थानीय समुदायमा डर उत्पन्न गरेको छ । मुख्यतया डिगो समुदायका बासिन्दाले आफूहरूलाई विस्थापित गरिने वा खानीबाट हुने आम्दानीमा हिस्सा नदिइने भय व्यक्त गरेका छन् ।
घना जंगल उनीहरूको पूजास्थल र खेतीपातीको स्रोत हो । तर, सरकारी तथ्यांक अनुसार अहिले त्यहाँ आधाभन्दा बढी जनसंख्या चरम गरिबीमा बाँचिरहेको छ ।
एएफपी समाचार संस्थालाई पनि आरम्भमा उक्त क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको थियो ।
‘यहाँ ठूला गाडीमा मानिसहरू आउँछन् । तर, हामी तिनीहरूलाई फर्काउँछौं,’ कोजाले भने ।
उनले अघिल्ला लगानीकर्ता पारदर्शी नभएको भन्दै अब सावधानी अपनाएको बताए ।
‘म मेरा मानिसहरू शोषित हुन नदिऊँ भन्ने चाहन्छु,’ उनले भने ।
केन्याले सन् २०१३ मा कोर्टेक माइनिङलाई दिइएको खानी अनुमति खारेज गरेको थियो । त्यसको कारणका रूपमा वातावरणीय र लाइसेन्स सम्बन्धी त्रुटि देखाइएको थियो ।
तत्कालीन खानी मन्त्री नजीब बलाललाई घूस नदिएको प्रतिशोधमा अनुमति खारेज गरिएको भनी कोर्टेकले अदालतमा मुद्दा दायर गरेको थियो । तर, मन्त्रीले त्यो आरोप अस्वीकार गरे । अदालतले पनि कम्पनीको पक्षमा फैसला गरेन ।
सन् २०१९ मा केन्याले भ्रष्टाचार र वातावरणीय क्षतिबारेको चिन्ताका कारण नयाँ खानी अनुमति अस्थायी रूपमा रोक लगाएको थियो ।
तर, अहिले चीनले दुर्लभ खनिज पदार्थको निर्यात घटाउँदै गएपछि केन्याले यसलाई ठूलो अवसरको रूपमा हेर्न थालेको छ ।
केन्याको खानी मन्त्रालयले यसै वर्ष ठूला सुधारको घोषणा गरेको छ । त्यसमा कर छुट, पारदर्शी अनुमति प्रक्रिया र सन् २०३० सम्ममा खानी क्षेत्रको योगदान ०.८ प्रतिशतबाट १० प्रतिशत जीडीपीसम्म पुर्याउने लक्ष्य पर्दछन् ।
नैरोबी विश्वविद्यालयका पूर्वप्राध्यापक र भूअर्थशास्त्री डेनियल वेरु इचांगी भने केन्याले अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन् ।
‘खनिज उत्खनन सजिलो कमाइको क्षेत्र हो भन्ने गलत धारणा छ । हामीले यथार्थ बुझ्नुपर्छ,’ उनले एएफपीसँग भने ।
‘भ्रष्टाचारले यस क्षेत्रलाई अझ जोखिमपूर्ण र लगानीका लागि कम आकर्षक बनाउँछ,’ उनले थपे ।
उनका अनुसार, पश्चिमी देश र चीनबीचको प्रतिस्पर्धाले खनिज पदार्थको मूल्य बढाइरहेको छ । ‘तर, देशले यसबाट नाफा कमाउन खोजेको हो भने कानुनको पालन गर्नुपर्छ र व्यक्तिगत स्वार्थ भन्दा पनि राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने ।
म्रिमा हिलका स्थानीय बासिन्दा आफ्नो जीविकोपार्जन, पूजास्थल, औषधीय बोटबिरुवा र जीवनभरि उपयोगी जंगल गुम्ने डरमा छन् ।
‘यो म्रिमा नै हाम्रो जीवन हो । हामीलाई कहाँ लैजाने ?’ ६४ वर्षका मोहम्मद रिकाले भने । उनी म्रिमा हिल कम्युनिटी फरेस्ट एसोसिएसन का उपाध्यक्ष हुन् ।
कोजा पनि अद्वितीय बोटबिरुवाको नाशबारे चिन्तित छन् । विशेषगरी, विशाल अर्किड जस्ता प्रजाति खतरामा परेको उनी बताउँछन् ।
‘म मनमनै रोइरहेको छु । यो म्रिमामा दुर्लभ जीव छन् र त्यो हामी गुमाउँदैछौं,’ उनले भने ।
तर, सबै स्थानीय चिन्तित छैनन् । म्रिमा हिल संघकी कोषाध्यक्ष डोमिटिला मुएनीले यसलाई अवसरको रूपमा हेरेकी छन् ।
उनले आफ्नो जग्गाको मूल्य बढाउन रूख रोप्दै खेती गरिरहेकी छन् ।
‘खानी कम्पनीहरू आएपछि जग्गा बेच्दा राम्रो मूल्य पाउँछु,’ उनले भनिन् ।
‘हामीसँग खनिज छ भने किन गरिबै भएर मर्नु ?’ उनले हाँस्दै थपिन् ।







प्रतिक्रिया