
एजेन्सी । पाकिस्तानले अक्टोबर महिनाको अन्त्यतिर आफ्नो दक्षिणी र मध्य क्षेत्रका आकाशमार्गहरूमा आवागमन सीमित गर्ने र ती क्षेत्रका हवाई मार्गहरू बन्द गर्ने सूचना जारी गरेको छ ।
हवाई उड्डयन सम्बन्धी सूचना (नोटाम) मार्फत इस्लामाबादले अक्टोबर २८ र २९ मा केही हवाई मार्गहरू नागरिक उड्डयनका लागि बन्द हुने जनाएको छ तर त्यसको कारण भने खुलाएको छैन ।
यो कदम भारतले हालै दक्षिण–पश्चिम क्षेत्र (राजस्थान, गुजरात र अरब सागरका केही भाग) मा तीनवटै सुरक्षा निकायको संयुक्त सैन्य अभ्यासका लागि यस्तै सूचना जारी गरेपछि आएको हो ।
भारतको नोटाम अनुसार, अक्टोबर ३० देखि नोभेम्बर ११ सम्मका लागि अभ्यास अवधि अवधिभर २८ हजार फिटमुनिका हवाई उडानहरूमा रोक लगाइनेछ । उक्त अभ्यासमा मुख्य रूपमा सेनाको सहभागिता रहनेछ भने वायुसेना र जलसेनाको सहयोग पनि रहनेछ ।
अभ्यासबारे आधिकारिक विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन । भारतीय सेनाले हालै राजस्थानमा कमान्डर सम्मेलन गरेको उल्लेखनीय छ । त्यस क्रममा रक्षामन्त्री राजनाथ सिंहले सन् १९७१ को युद्धमा पाकिस्तानको ट्यांक बटालियन पराजित भएको प्रमुख युद्धस्थल लोंगेवालाको भ्रमण पनि गरेका थिए ।








प्रतिक्रिया