केडिया ग्रुपको सुशील वनस्पतिको व्यापार ४२३ प्रतिशतले बढ्यो, कति गर्‍यो नाफा ?

539
Shares

काठमाडौं । केडिया ग्रुपद्वारा सञ्चालित सुशील वनस्पति प्रालिले एकै वर्ष साढे ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ९ अर्ब ५२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ८२ करोड र सन् २०२३ मा ३ अर्ब ५३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा ९ अर्ब ८४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२५ मा व्यापार ४२३ प्रतिशतले बढेको उल्लेख गरेको छ । कम्पनीले यस वर्ष ८ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ०.५ प्रतिशत नाफा कमाएको थियो । कम्पनीले गरेको व्यापारमध्ये ७९ प्रतिशत हिस्सा निर्यातको रहेको छ । कम्पनीको नेपाल र भारतमा गरी २ सय ५० वितरक छन् ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा तेल आयात गरी आन्तरिक बजारसँगै भारतमा निर्यात गर्दै आएको छ । कम्पनीले तेल प्रशोधनका लागि आवश्यक कच्चा तेल क्यानाडा, अमेरिका, मलेसिया र इन्डोनेसियाबाट आयात गर्दै आएको छ ।

कम्पनीले राजहंस ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । रतनलाल केडिया अध्यक्ष रहेको कम्पनीमा ५० प्रतिशत उनैको स्वामित्व छ । बाँकी ५० प्रतिशत उनका परिवारको स्वामित्व छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ९३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ९९ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको हो ।