
काठमाडौं । गोल्छा परिवारको हुलास स्टिल इन्डष्ट्रिजले गत आर्थिक वर्षमा पौने १३ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२४ मा १२ अर्ब ७१ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा १२ अर्ब ७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा १५ अर्ब २५ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ११ अर्ब ३८ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा ६ अर्ब ८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले सन् २०२५ मा ९ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ११ प्रतिशत नाफा कमाएको थियो । हुलास जस्तापाता उत्पादन गर्ने ठूलो र पुरानो उद्योग हो ।
कम्पनीको देशभर निकै राम्रो व्यापारिक सञ्जाल छ । कम्पनीले सन् २०२५ मा पौने १३ अर्ब रुपैयाँको व्यापार गर्दा ५४ प्रतिशत हिस्सा जस्तापाताको रहेको छ। त्यसैगरी पाइपको हिस्सका १९ प्रतिशत, अल्मोनियमको ९ प्रतिशत हिस्सा रहेको रेटिङ गराएको छ ।
सन् १९८१ मा स्थापना भएको कम्पनी सन् २००६ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । बर्मुडाको चार्नले डेभलेपमेन्ट कम्पनीको ५० प्रतिशतभन्दा बढी, गोल्छा परिवारको जयश्री गोल्छा (दिवारको गोल्छाकी श्रीमती)को २१ प्रतिशत तथा हिमान्सु र हितेश (दिवारको गोल्छाका छोराहरू) को ६-६ प्रतिशत र हुलास मेटल क्राफ्टको ६ प्रतिशत स्वामित्व छ ।
यो स्टिल उत्पादन गर्ने दोस्रो कम्पनी हो । उक्त कम्पनीले जस्तापाता तथा पाइप र अन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले भारतबाट हट रोल्ड स्टिल कच्चा पदार्थ आयात गरी नेपाली बजारमा स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले जिन्क र अल्मुनियम पनि आयात गर्दै आएको छ ।
कम्पनीसँग आफ्नै कोल्ड रोलिङ मिल छ । कम्पनीले आन्तरिक बजारमा मात्रै व्यापार गर्दै आएको छ । कम्पनीले वार्षिक ४ लाख ८१ हजार ७ सय ६२ मेट्रिक ट स्टिलजन्य सामग्री र ५० हजार मेट्रिक टन पाइप, ३ लाख ९४ हजार ७ सय मेट्रिक टन जस्तापाता र अन्य सामग्री उत्पादन गर्ने गरी उद्योग सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८ अर्ब २८ करोड ५५ लाख रुपैयाँको रेटिङ गराएको हो । यसअघि कम्पनीले ८ अर्ब ४६ करोड रुपैयाँको रेटिङ गराएको थियो ।
कम्पनीले १४ करोड १० लाख रुपैयाँ भने विद्युत प्राधिकरणलाई महसुल तिरेको छ ।







प्रतिक्रिया