
काठमाडौं । सानिमा बैंकले २१ औं वार्षिक साधारणसभाबाट प्रस्तावित नगद लाभांश पारित गर्दै नयाँ सञ्चालक समिति चयन गरेको छ । २ कात्तिकमा सम्पन्न भएको बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७.३६८५ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । त्यस्तै संस्थापक सेयरधनीको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका छन् ।
बैंकले आर्थिक बर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको कुल सम्पत्ति २ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब २५ अर्ब ४८ करोड रुपैयाँ खुद कर्जा सापटी १ खर्ब ८३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा बैंकको निक्षेप १३.०९ प्रतिशत कर्जा सापटी ११.२२ प्रतिशत र कुल सम्पत्ति १२.७० प्रतिशतले बढेको छ ।
गत असारमा बैंकको निष्क्रिय कर्जा ३.०१ प्रतिशत, पुँजीकोष अनुपात १३.०१ प्रतिशत , तरलता अनुपात ३०.९५ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१.०३ प्रतिशत छ ।










प्रतिक्रिया