कुपन्डोलमा बनिरहेको समिट होटलसहितको अपार्टमेन्टको लागत पौने १२ अर्ब पुग्यो

686
Shares

काठमाडौं । ललितपुरको कुपन्डोलमा समिट होटल प्रालिले निर्माण गरिरहेको होटलसँगै अपार्टमेन्टको लागत बढेको छ । कम्पनीको लागत ७ अर्ब रुपैयाँबाट पौने १२ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीले सुरुमा होटलसँगै अपार्टमेन्ट निर्माणको लागत ६ अर्ब ९४ करोड ४० लाख रुपैयाँ अनुमान गरेको थियो । उक्त लागत अहिले ६८ प्रतिशतले बढेको हो । कम्पनीले अब उक्त आयोजना निर्माणका लागि ११ अर्ब ६८ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

कम्पनीकाअनुसार आयोजनाको लागत बढ्नुको कारण बढाइएको क्षेत्रफल हो । कम्पनीले सुरुमा निर्माण गर्ने भनिएको क्षेत्रफलभन्दा २८ प्रतिशतले बढेको जनाएको छ । साथै, कम्पनीले भवनको जगको कार्य पनि बढाएको छ ।

कम्पनीले होटलसँगै अपार्टमेन्ट निर्माणका लागि १ अर्ब ४९ करोड ६४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६९ करोड ६४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले यसअघि ७० करोड रुपैयाँको दीर्घकालीन कर्जा लिएको थियो ।

सुरुमा चौधरी ग्रुप र आइजे ग्रुपको संयुक्त लगानी रहेको कम्पनीमा हालसम्ममा ५५ प्रतिशत अपार्टमेन्ट बुक भइसकेको छ । बाँकी ४५ प्रतिशत अपार्टमेन्ट बिक्री हुन बाँकी छ । त्यस्तै कम्पनीको २३ प्रतिशत आर्थिक प्रगति र ३९ प्रतिशत अपार्टमेन्टको भौतिक कार्य सम्पन्न भइसकेको छ ।

होटलमा अहिले तीन जना लगानीकर्ता छन् । होटलमा चौधरी ग्रुपको आर एण्ड आर हरिटेज प्रालिको ५१ प्रतिशत, आइजे ग्रुपको जेन इन्फ्रा एन्ड ब्यूल्डर्स प्रालिको ३४ प्रतिशत र रमेश शर्माको १५ प्रतिशत स्वामित्व रहेको छ । यसअघि होटलमा दुई कम्पनीको स्वामित्व थियो । जसमा चौधरी ग्रुपको ६० प्रतिशत र बाँकी ४० प्रतिशत आइजे ग्रुपको जेन इन्फ्रा र ब्यूल्डर्स प्रालिको थियो ।

सन् १९९७ मा स्थापना भएको कम्पनीले कुपन्डोल हाइटमा ७३ कोठाको सुविधासहित चार तारे होटल सञ्चालन गर्दै आएको थियो । तर, हाल कम्पनीले पुरानो भवनलाई भत्काएर एउटा होटल भवन र दुईवटा आवासीय अपार्टमेन्टसहितको नयाँ होटल कम्प्लेक्स निर्माणको काम सुरु गरेको छ । उक्त अपार्टमेन्टमा १ सय ५० वटा अपार्टमेन्ट युनिटको सुविधा हुनेछ ।

यसअघि १ सय ४४ वटा अपार्टमेन्ट युनिट बनाउने योजना थियो । कम्पनीले अपार्टमेन्टको युनिटहरु सिधै बेच्ने योजना बनाएको छ ।

त्यस्तै, नयाँ होटल १३५ वटा सुविधाको हुनेछ । हालसम्म होटल निर्माणको कार्य सुरु भइसकेको छैन । कम्पनीअनुसार हाल होटलको डिजाइनको चरणमा छ भने छिट्टै निर्माणको कार्य सुरु गर्ने जनाएको छ ।