
काठमाडौं । हवाइ सेवा कम्पनी समिट एयरको आम्दानी १३ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले घटेको हो ।
सन् २०२४ मा १ अर्ब ३ करोड ४९ लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२५ मा ८९ करोड ९० लाख रुपैयाँको मात्र कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा १ अर्ब ११ करोड ३० लाख र सन् २०२२ मा ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
पछिल्लो तीन वर्षमा कम्पनीको आम्दानी लगातार घट्दै गएको पाइएको छ । व्यापार घट्नुको कारण प्राविधिक समस्या रहेको कम्पनीको भनाइ छ ।
विमान ग्राउन्डेड समस्याका कारण मुख्य सिजनमा नै सेवा दिन नसक्दा आम्दानीमा प्रभाव परेको कम्पनीले जनाएको छ ।
कम्पनीले आम्दानी गरेकोमध्ये ५९ प्रतिशत लुक्लाको उडानबाट भएको उल्लेख गरेको छ । सन् २०२३ मा उक्त रुटबाट मात्रै ५३ प्रतिशत आम्दानी गरेको थियो । सन् २०२५ मा यात्रुको लोड फ्याक्टर ८४ प्रतिशत थियो । सन् २०२४ मा ८६ प्रतिशत थियो । कम्पनीले सन् २०२५ को जुनबाट कनसरोवर/माउन्ट कैलाशको उडान सुरु गरेको थियो । जसले गर्दा चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा भने आम्दानी सकारात्मक रहेको जनाएको छ ।
त्यसैगरी समिटको बजार हिस्सा भने घट्दै गएको छ । सन् २०२२ मा ३५ प्रतिशत बजार हिस्सा रहेकोमा सन् २०२४ मा २९ प्रतिशत कायम भएको छ । प्राविधिक कारणले गर्दा आम्दानीसँगै बजार हिस्सामा पनि कमी आएको छ ।
सन् २०१० मा स्थापना भएको कम्पनीले आन्तरिक हवाई उडान सेवा दिँदै आएको छ । कम्पनीले चार वटा एयरक्राफ्टमार्फत् छोटो दुरीको हवाई सेवा दिँदै आएको छ । कम्पनीले सन् २०१६ सम्ममा गोमा एयरको नाममा सेवा दिँदै आएको थियो । हालको नाम पछि फेरिएको हो ।
समिटका हाल ४ वटा जहाज छन् । यो विमानले दुर्गम क्षेत्रमा उडान गर्छ ।
कम्पनीले आवश्यकताअनुसार कार्गो र च्याटर्ड उडान सेवा दिँदै आएको छ । विकाश राणा अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २८ करोड ३३ लाख रुपैयाँ र ८६ लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक मनोज कार्की रहेका छन् । उनी वायुसेवा सञ्चालक संघका अध्यक्ष रहेका छन् ।







प्रतिक्रिया