
काठमाडौं । स्वस्तिक फ्लोर मिलले एकै वर्ष सवा १ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा १ अर्ब २९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।
सन् २०२१ मा दर्ता भएको कम्पनीले सन् २०२३ को सेप्टेम्बरबाट व्यवसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले गहुँ प्रशोधन गरी मैदा, आँटा, सुजी, चोकर उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा ८२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सुनसरीमा उद्योग रहेको कम्पनीले वार्षिक ६ हजार ६ सय मेट्रिक टन क्षमतामा मैदा मिल सञ्चालन गर्दै आएको छ । त्यसैगरी वार्षिक २ सय ४० मेट्रिक टन क्षमताको सुजी र ३ हजार १ सय ६० मेट्रिक टन आँटा उत्पादन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७४ करोड ५९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २४ करोड ५९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीले १ केजीदेखि ५० केजीको प्याकेजमा आफ्नो उथ्पादन वस्तु बिक्री वितरण गर्दै आएको छ ।
कम्पनीले मैदा, आटा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आन्तरिक बजारसँगै विदेशबाट आयात गरी आपूर्ति गर्दै आएको छ । कम्पनीमा ७ जना सदस्य छन् । कम्पनीको अध्यक्ष हेमन्तकुमार अग्रवाल हुन् ।







प्रतिक्रिया