मुस्ताङ ब्रान्डको चामल बेच्ने कम्पनीको व्यापार घट्यो, एक वर्षमा १ अर्ब ६० करोडको कारोबार

182
Shares

काठमाडौं । मुस्ताङसहित कायरा र नेपाल गोल्ड ब्रान्डको चामल बेच्ने रोयल राइस मिल प्रालिको व्यापार ८.४८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ८.४८ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२५ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ३७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीले तीन वटा ब्रान्डमा प्रशोधित चामल नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ५ केजीदेखि २५ केजीको प्याकेजमा चामल बेच्दै आएको छ ।

कम्पनीले प्रति घन्टा १६ मेट्रिक टन धान प्रशोधन गर्दै आएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ४४ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७९ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको हो ।

प्रमिल न्यौपानेको लगानी रहेको कम्पनीको व्यापार घटेपनि परिमाणअनुसार ५ प्रतिशतले बढी व्यापार भएको उल्लेख छ । तर, चामलको मूल्य घटेको कारण व्यापार पनि घटेको जनाएको छ । कम्पनीअनुसार गत आवमा प्रति केजी ५५ रुपैयाँमा बिक्री गरेको चामलको मूल्य घटेर प्रति केजी ४८ रुपैयाँमा बिक्री गरेको जनाएको छ ।

त्यसैगरी, कम्पनीको नाफा पनि घटेको छ । सन् २०२४ मा ८ प्रतिशत नाफा कमाएकोमा सन् २०२५ मा ७ प्रतिशत मात्रै नाफा कमाएको छ ।