
काठमाडौं । जेनजी आन्दोलनपछि नियमित ब्याज तिरिरहेका ऋणिहरुले समेत ब्याज तिर्न छोडेपछि बैंकरहरु थप तनाबमा देखिएका छन् । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदै गर्दा असोजमा भुक्तानी गर्नुपर्ने ब्याज भुक्तानी गर्ने अवस्था नभएको व्यवसायीले भन्न थालेको बैंकरहरु बताउँछन् ।
बैंकरहरुका अनुसार कर्जा असुलीको लागि जेनजीको नाममा धम्की दिनेदेखि व्यवसायीले अनेक बाहना बनाउने गरेको बैंकरहरु बताउँछन् । कतिपय व्यवसायीले जग्गा बिक्री गरेर ऋण तिर्ने भनेकोमा जग्गा बेच्न नसकेको गुनासो बैंकहरु समक्ष गरेका छन् ।
कपियले जग्गा बेच्न मालपोत कार्यालयमा नै आगजनी हुँदा समस्या भएको बताउँदै ऋण तिर्न नसक्ने तर्क गरेका छन् । गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनबाट निजी क्षेत्रले पनि ठूलो धक्का ब्यहोरेको थियो । केही व्यवसायिक घरानाले ठूलो क्षति ब्यहोर्दा समग्र निजी क्षेत्रमा नै नैराश्यता बढेको छ ।
आन्दाेलनका कारण बिग्रिएको लगानीको वातावरणका कारण व्यवसायीले सुरु गर्न लागेको नयाँ प्रोजेक्टहरु नै रोकेको बैंकरहरु बताउँछन् । बैंकहरुले १ खर्ब ५४ अर्ब रुपैयाँ बराबर कर्जा स्वीकृत गरेको परियोजानमा आन्दोलनबाट प्रत्यक्ष क्षति पुगेको राष्ट्र बैंकको तथ्यांक छ । ६१८ वटा व्यवसायले उक्त कर्जा स्वीकृत गराएको भएपनि १ खर्ब ४ अर्ब रुपैयाँ मात्रै कर्जा उपयोग भएको र त्यसमा ३७ अर्ब रुपैयाँको नोक्सानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।
असोजमा ब्याज उठाउन नसकेर ठूलो प्रोभिजन गर्नुपर्ने देखिएपनि बैंकहरुले राष्ट्र बैंकसँग ब्याज तिर्न १ महिनाको समय थप गरिदिन माग गर्दै कात्तिकसम्म ब्याज तिर्दा थप कर्जा नोक्सानी व्यवस्था गर्न नपर्नेगरी सहजीकरणको समेत माग गरेका छन् ।
चाडपर्वको समय भएकोले १५ दिनको समय मात्रै थप गर्दा पनि असुलीमा सहजीकरण हुने भन्दै उनिहरुले राष्ट्र बैंकमा लबिइङ गरिरहेका छन् । राष्ट्र बैंकको डेपुटी गभर्नरले भने जस्तो अवस्था छ सोही अनुसारको वित्तीय विवरण सर्वजनिक गरेर अगाडि बढन् सकिने तर्क दिएका छन्। राष्ट्र बैंकले असोजको वित्तीय विवरण प्रकाशित गर्दा ब्याज असुल गर्ने केही समय थप दिने विश्वासमा बैंकरहरु छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले आफ्नो बैंकिङ करियरकै खराब रिकभरीको अवस्था देखिएको बताएका छन्। उनले भने, ‘ऋण असुलीमा मेरो करियरको अहिलेसम्मकै कठीन परिस्थितको सामाना बैंकिङ क्षेत्रले गरिरहेको छ, ।’ उनले थपे ‘ऋण असुलीमा ठूलो समस्या देखिएको छ । नियमित ब्याज तिरिहरेकाहरुले समेत जेनजी आन्दोलनपछि समस्या भएको भन्दै ब्याज नतिर्ने अवस्था भएको छ ।’
नेपालमा सबैभन्दा धेरै आर्थिक गतिविधि हुने दशैं तिहार र छठ जस्ता चाडपर्वको मुखैमा जेनजी आन्दोलनले ठूलो आर्थिक, भौतिक र मानवीय क्षति भएको छ। त्यस्तै दशैं लगत्तै भएको भारि वर्षका कारण अर्को क्षति थपिँदा अर्थतन्त्र थप समस्या पर्न पुग्यो ।
त्यसो त विश्व बैंकले नेपालको आर्थिक वृद्धिको अनुमान नै घटाएको छ । अनौपचारिक कुराकानीमा निजी क्षेत्रले अहिले पनि राज्यले सुरक्षा दिएको महसुस गर्न नसकेको भन्दै यस्तो अवस्थामा लगानी गर्न नसकिने बताउँदै आएका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला जेनजी आन्दोलनपछि बैंकिङ क्षेत्रमा कुनै पनि उत्साहजनक गतिविधि नदेखिएको बताउँछन् । कुनै नयाँ परियोजनाको लागि व्यवसायीले छलफल समेत नगरेको उनले भनाइ छ ।
‘पछिल्ला २ आर्थिक वर्षको प्रथम त्रैमासमा रिकभरी खराब भयो भन्ने गरिएको भएपनि यो वर्ष त्यसभन्दा खराब अवस्था हुने देखिएको छ,’ बैंकर्स संघका अध्यक्ष कोइरालाले भने, ‘ब्याज असुलीमा ठूलो समस्या देखिएको छ । ऋणीले ब्याज तिर्ने अवस्था नभएको बताउँदा बक्यौता ब्याज बढ्ने देखिन्छ ।’
नेपाल राष्ट्र बैंकले जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग, ब्याकवार्ड र फवार्ड लिङकेज भएको उद्योगलाई पुससम्म कर्जा पुनरसंरचना पुनरतालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसले गर्दा कागजी रुपमा प्रथम त्रैमासमा धेरै बिग्रिएको नदेखिने अवस्था भएपनि राष्ट्र बैंकको सहुलियत सकिएपछि वास्तविक अवस्था एकीन हुने बताउँछन् ।
‘राष्ट्र बैंकले दिएको सुविधाका कारण असोजमा कागजमा भने वित्तीय अवस्था खराब नदेखिएपनि ब्याज असुलीमा समस्या देखिएको छ,’ हिमालयन बैंकका सीईओ अशोक राणा भन्छन्, ‘धितो लिलाम गर्ने वा गैर बैंकिङ सम्पत्ति बिक्री गर्छु भन्ने कुनै पनि आर्थिक क्रियाकलाप नै देखिएको छैन ।’
बैंकहरुले अहिले रिकभरीमा पनि कम प्रेसर गरेको कारण पनि अवस्था कमजोर देखिएको सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेल बताउँछन् । बैंकहरुले रिकभरी मात्रै नभएर लगानीमा पनि प्राथमिकता दिएका छैनन् । एकदम सुरक्षित देखिएको सानोसानो लगानीहरु भएपनि नयाँ परियोजना आउने र लगानी गर्ने अवस्था नभएको पोखरेलको तर्क छ ।
‘अहिले लगानी गर्नु भन्दा नगर्नु नै सहि र उपयुक्त निर्णय हुने देखिएकोले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाे पनि अर्का एक बैंकरले बताए । ‘ अहिलेको क्रिटिकल अवस्थामा पब्लिकको डिपोजिट लिएर लगानी गर्नु जोखिमपूर्ण भएकोले बैंकहरुले लगानी गर्न भन्दा नगर्नु नै सुरक्षित मानेको हुनसक्ने पनि बैंकरहरुले तर्क दिएका छन् । व्यवसायीमा पनि ब्याज तिर्न अवस्था नभएको बेला ऋण कर गर्दा रिसाउने अवस्था रहेकाे छ ।
कतिपय बैंकमा त कर्मचारीले ऋण तिर्न ताकेता गर्दा उल्टै गाली खाने डरले अहिले फोन समेत गर्न हच्किने गरेका छन । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ अहिले ऋण तिर्न कर्मचारीले फोन गर्दा उल्टै गाली आउने भएकोले पनि केही समय पर्खनुको विकल्प नभएको बताउँछन् ।
पछिल्लो व्यवसायीक परिस्थितिले गर्दा असोजमा रिकभरी चुनौतिपूर्ण देखिएको खालिङ बताउँछन्। जेनजी आन्दोलनको प्रभाव, बाढीपहिरोको क्षति र सडक अवरुद्ध समेत हुँदा त्यसले व्यवसायीक क्षेत्रमा समस्या देखिँदा अन्य त्रैमासभन्दा चालु आर्थिक वर्षको प्रथम त्रैमास रिकभरीका थप चुनौतिपूर्ण हुने अनुमान पनि खालिङको छ ।
प्रभु बैंकका सीइओ अशोक शेरचन पनि अहिले ऋण असुली गर्ने परिस्थिति नै नभएको बताउँछन् । निजी क्षेत्र देखि सबै तिर अन्योलता रहेको र बैंकहरुले रिकभरीको लागि दबाब बढाउन नै नसकेको शेरचनले बताए । अन्य त्रैमासको भन्दा चालु आर्थिक वर्षको प्रथम त्रैमास रिकभरीको हिसाब निश्चयपछि खराव आउने बुझाइ पनि शेरचनको छ ।








प्रतिक्रिया