थप दुई उद्योगले तिरे डेडिकेटेड ट्रंक लाइनको बक्यौता

329
Shares

काठमाडौं । बाराको सिमरामा रहेका हुलास स्टिल इण्डस्ट्री र अशोक स्टिल उद्योगले डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिर्न सुरु गरेका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार दुवै उद्योगले पहिलो किस्ताको रकम बुझाएका हुन् ।

हुलास स्टिल इण्डस्ट्रिज प्रालिले २०७२ साल माघदेखि २०७५ साल वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको बापतको बक्यौता रकम तिर्न सुरु गरेको हो ।

उद्योगको कुल बक्यौता रकम १४ करोड १२ लाख ५ हजार रुपैयाँ रहेको र उक्त रकम २८ किस्तामा तिर्न प्राधिकरणले स्वीकृति दिएको छ ।

हुलासले पहिलो किस्ताका रूपमा ५० लाख ४३ हजार रुपैयाँ बुझाएको छ । यो पहिलो पटक उद्योगले बक्यौता रकम तिरेको हो।

यसैगरी, सिमराकै अर्को उद्योग अशोक स्टिल इण्डस्ट्रीले पनि १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रकम किस्ताबन्दीमा तिर्न सुरु गरेको छ । अशोकले २८ किस्ताको सुविधा लिई पहिलो किस्ताका रूपमा ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।

यसअघि सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले बक्यौता रकमको किस्ता बुझाएका थिए । सम्राट समेन्टले उद्योगले एकैपटक तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको छ ।

रोल्पा सिमेन्टले पाँच किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपटक तिरेको हो । त्यस्तै नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले १२ किस्ता बराबर १ लाख २३ हजार रुपैयाँ तिरेर आफ्नो सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले असोज १२ गते सूचना प्रकाशित गर्दै २१ दिनभित्र बक्यौता नतिरे बिजुलीको लाइन काट्ने भनिसकेको छ । प्राधिकरणको सूचना अनुसार आगामी कात्तिक ३ गतेभित्र उद्योगीले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने हुन्छ । कात्तिक ३ भित्र बक्यौता नतिरे उद्योगहरूमा लाइन काट्ने प्राधिकरणको तयारी छ ।