
काठमाडौं । बैंकहरूले कात्तिकमा निक्षेपको ब्याजदर थप घटाएका छन् । वाणिज्य बैंकहरूले असोजका लागि प्रकाशन गरेको नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२६ प्रतिशत बिन्दुले घटेको छ ।
असोजमा ०.११ प्रतिशत बिन्दुले मात्रै घटेको थियो । २० मध्ये १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउँदा ६ बैंकले स्थिर राखेका हुन् । वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरको औसत नै ५.२० प्रतिशतमा झरेको हो ।
गत भदौ २३ र २३ मा भएको जेनजी आन्दोलनपछि निजी क्षेत्रको मनोबल झनै कमजोर भएको छ । जसले गर्दा ३ वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता विस्तारै सुधार हुने अपेक्षा गरिएकोमा त्यस्तो अवस्था नदेखिएका कारण बैंकहरुले निक्षेपको ब्याजदर थप घटाएका हुन् ।
निक्षेप लगातार बढेको तर कर्जाको माग नबढेको र तत्काल बढ्ने अवस्था नदेखिएपछि बैंकहरुले कात्तिकको लागि प्रकाशन गरेको ब्याजदर थप घटाएका हुन् ।
बैंकहरुसँग १० खर्बभन्दा बढी लगानीयोग्य स्रोत छ भने करिब ८ खर्ब रुपैयाँ अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रशोचन गरेको अवस्था छ ।
चालु आर्थिक वर्षम मौद्रिक नीतिले अपेक्षा गरेअनुसार कर्जा विस्तर भए पनि करिब ६ खर्बमात्रै कर्जा विस्तार हुनसक्छ । तर, त्यसभन्दा बढी तरलता केन्द्रीय बैंकले खिचेको अवस्था भएकोले कर्जामा मागमा अपेक्षित सुधार नभएसम्म ब्याजदर बढ्नभन्दा लागत घटाउनुपर्ने अवस्था नै रहेको बैंकरहरू बताउँछन् ।
३ वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै ५ प्रतिशभन्दा तल झरेको छ । धेरैजसो बैंकले ५ वा १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा मात्रै ५ प्रतिशत वा सोभन्दा बढी ब्याजदर प्रस्ताव गर्दा ६ महिना वा १ वर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतभन्दा पनि तल छ ।
गभर्नर डा. विश्वनाथ पौडेलले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमार्फत् नीतगित दरहरु घटाएक थिए । उनले विशेष गरी ब्याजदर करिडोरको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दर ०.२५ प्रतिशत बिन्दुले घटाएर २.७५ प्रतिशत बनाएका थिए । जसले बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको हो । उनले नीतिगत दर र बैंकदर समेत घटाएका थिए।
हाल सञ्चालनमा रहका २० मध्ये ग्लोबल आईएमई र हिमालयन बैंकले मात्रै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत प्रस्ताव गरेका छन् । दुबै बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गरेका हुन् । दुबै बैंकले असोजको ब्याजदरनै कात्तिकमा पनि निरन्तरता दिएका हुन् ।
२० मध्ये १४ बैंकले व्यक्तिगत मुद्दतीतर्फको अधिकतम ब्याजदर घटाएर प्रकाशित गर्दा ६ बैंकले भने असोजको नै यथावत राखेका छन् ।
राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले असोजको ५.५ प्रतिशतलाई नै निरन्तरता दिँदा नेपाल बैंकले पनि ५.२५ प्रतिशतलाई निरन्तरता दिएको छ ।
सिद्धार्थले २ वर्षभन्दा माथि र राष्ट्रिय वाणिज्यले ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर दिनेछन् ।
त्यस्तै नेपाल बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५.२५ प्रतिशहत ब्याजरद दिने भएको छ । बैंकले असोजमा पनि सोही ब्याजदर प्रस्ताव गरेको थियो ।
यस्तै कुमारीले पनि २ वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा असोजमा प्रकाशित ५.०१ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएको छ ।
एनआईसी एशिया बैंकले ०.२५ प्रतिशत बिन्दुले घटाएर कात्तिकमा ३ वर्षभन्दा बढी अवधिको निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर दिने भएको छ ।
सानिमा बैंकले ३ वर्षभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा दिने ब्याजदर ०.१० प्रतिशतले घटाएर ५.१५ प्रतिशत बनाएको छ ।
यस्तै माछापुच्छ्रे र एनएमबि बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १ प्रतिशत बिन्दुले घटाएर ५ प्रतिशत बनाएको छ ।
माछापुच्छ्रेले १० वर्षभन्दा बढी अवधिको र एनएमबिले ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएको हो।

प्राइम, एभरेष्ट, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज नेपाल एसविआई र स्ट्यान्डर्ड चाटर्ड बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ५ प्रतिशत बनाएका हुन् ।
असोजमा ६ प्रतिशत ब्याजदर दिएको प्राइले ०.५ प्रतिशत बिन्दुले घटाएको छ । प्राइमले ५ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर दिने भएको छ ।
एभरेष्टले पनि २ वर्षभन्दा बढी अवधिको लागि ५ प्रतिशत व्याजदर प्रस्ताव गरेको छ । बैंकले असोजको भन्दा कात्तिकमा ०.२५ प्रतिशत बिन्दुले घटाएको छ ।
सिटिजन्सले पनि ०.२५ प्रतिशत बिन्दुले नै घटाएको हो । बैंकले ५ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइजले पनि ०.२५ प्रतिशत बिन्दुले नै घटाएर ५ प्रतिशत बनाएका हुन् । नेपाल इन्भेष्टमेन्ट मेगाले २ वर्षभन्दा बढी अवधि र लक्ष्मी सन्राइजले ५ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर प्रस्ताव गरेका छन् ।
नेपाल एसविआई र स्ट्यान्डर्ड चार्टर्ड ०.१८ प्रतिशत बिन्दुले घटाएर ५ प्रतिशत बनाएका छन् । नेपाल एसविआईले ३ वर्षभन्दा बढी अवधि र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ वर्षभन्दा बढी अवधिको निक्षेपमा उक्त ब्याजदर प्रस्ताव गरेको हो ।
नबिल बैंकले ३ वर्षभन्दा बढी अवधिको निक्षेपमा ४.९५ प्रतिशत ब्याजद दिने भएको छ । बैंकले असोजको भन्दा ०.५५ प्रतिशत बिन्दुले घटाएको छ ।
त्यस्तै प्रभुले पनि २ वर्षभन्दा बढी अवधिका लागि ४.९५ प्रतिशत र कृषि विकास बैंकले ५ देखि १० वर्षको मुद्दती निक्षेपमा ५.९५ प्रतिशत ब्याजदर प्रस्ताव गरेको हो । प्रभु बैंकले ०.४ प्रतिशत बिन्दु र कृषि विकासले असोजकोभन्दा ०.१ प्रतिशत बिन्दुले घटाएको हो ।








प्रतिक्रिया