तिहारमा झिलिमिली बत्तीको व्यापार: ७ वर्षमा ६ अर्ब ४० करोडको आयात, ८० प्रतिशत चीनबाट

119
Shares


काठमाडौं । तिहारलगायतका चाडपर्वमा उज्यालो बनाउन बालिने झिलिमिली बत्ती नेपालमै तयार नहुँदा बर्षेनी करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।

नेपालमा खास गरी तिहार, छठ, क्रिसमस डे, विवाह लगायतका पर्वमा झिलिमिली बत्ती बाल्ने परम्परा छ । यस्ता चाडपर्वमा बालिने यो बत्ती शतप्रतिशत आयात हुँदै आएको छ ।

नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष रेशम देवकोटाका अनुसार नेपालमै यस्ता बत्ती तयार नहुँदा वर्षेनी करोडौं रुपैयाँबराबरको आयात हुँदै आएको छ । नेपालमै यस्ता बत्ती तयार भएको भए कम्तिमा ५० हजारको हाराहारीमा नेपालीले रोजगारी पाउन सक्ने अवस्था सिर्जना हुन सक्थ्यो ।

‘नेपालमै यस्ता झिलिमिली बत्ती तयार गर्न सकिएको भए नेपाली मुद्रा मात्रै रोकिँदैन थियो, बरु हाम्रै नेपाली दाजुभाईलाई कम्तिमा ५० हजारको संख्यामा रोजगारीको अवस्था सिर्जना गर्न सकिन्थ्यो,’ देवकोटाले भने, ‘हामीसँग त्यस्तो उन्नत प्रविधि र लगानीको अभाव भएकाले वर्षेनी आयातकै भरमा खपत गर्नुपर्ने अवस्था छ ।’

झिलिमिली बत्तीको विश्वभर ठूलो बजार भएकाले नेपाली उद्योगीहरुले यो क्षेत्रमा लगानी भित्र्याएर मुलुकलाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरेर ठूलो रकम आर्जन गर्न सकिने देवकोटाको भनाइ छ ।

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मात्रै साढे २६ करोड रुपैयाँबराबरको २६ लाख ८ हजार ७ सय ९२ प्रकारका विभिन्न डिजाइन र रंगको झिलिमिली बत्ती नेपालमा आयात भएको छ ।

उनका अनुसार यो वर्ष असार महिनाको सुरुआतदेखि नै उत्तरी छिमेकी मुलुक चीनतर्फको प्रमुख दुई नाका रसुवा र तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा ठूलो परिमाणमा तयारी बत्ती चीनतर्फ नै अडकेको छ ।

‘बाटो अवरुद्ध नभएको भए कम्तिमा ४० करोड रुपैयाँबराबरको बत्ती आउथ्यो,’ देवकोटाले भने,‘अहिले पनि दर्जनौं व्यवसायीको ठूलो परिमाणमा चीनतर्फ नै अलपत्र परेको छ । असोजदेखि कोरला नाका सञ्चालनमा आएपनि त्यो रुटबाट थोरै परिमाणमा आयात भएको छ । केहि व्यवसायीले बढी ढुवानी खर्च गरेर सामुद्रिक मार्गबाट चीनबाट कोलकात्ता वन्दरगाहहुँदै वीरगञ्ज ल्याइपुर्याएका छन् ।’

कोलकात्ता बन्दरगाहमार्फत वीरगञ्ज आइपुगेको झिलिमिली बत्ती नै अहिले बजारभर छरिएको उनको भनाइ छ । उनका अनुसार अर्डर गरेर पनि बाटोको समस्याले नेपाल भित्रिन नसके पनि यो वर्ष बजारमा वत्तीको अभाव हुन्न ।

‘गत वर्षकै ठूलो परिमाणमा यस्ता बत्ती मौज्दात छ, यो वर्ष त्यो बत्ती पनि बजारमा पठाएका छौं, यसले गर्दा चीनबाट अर्डर गरेअनुसार नआए पनि देशभरको बजारमा आभाव हुँदैन,’ देवकोटाले भने ।

भन्सार विभागको तथ्याँकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४३ करोड रुपैयाँबराबरको ८० लाख ६८ हजार पिस विभिन्न प्रकारका झिलिमिली बत्ती आयात भएको थियो ।

यस्ता झिलिमिली बत्तीको कूल वार्षिक कारोबारमध्ये झण्डै ८० देखि ८५ प्रतिशत तिहारमा हुने गर्छ । बाँकी छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, होटेल र रेष्टुरेन्ट तथा विहे व्रतबन्धजस्तो शुभकार्यमा सजावटका लागि प्रयोग हुने महासंघले जनाएको छ।

पछिल्लो सात वर्षको अवधिमा सबैभन्दा बढी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँबराबरको ९९ लाख ५४ हजार ५ सय ४९ पिस बत्ती आयात भएको थियो । सबैभन्दा कम भने आर्थिक वर्ष २०७९/८० मा ८ करोड रुपैयाँबराबरको २ लाख ६० हजार ५ सय ७८ पिस आयात भएको थियो ।

यसअनुसार ७ वर्षको अवधिमा ६ अर्ब ४० करोड रुपैयाँ बराबरको बत्ती नेपाल आयात भएको छ ।

महासंघका अनुसार तिहारमा बालिने यस्ता झिलिमिली बत्ति छिमेकी मुलुक चीन, भारत, बहराइन, अष्ट्रेलिया, हङकङजस्ता मुलुकबाट आयात हुन्छ ।

आयात हुने कूल हिस्सा भने ८० प्रतिशतभन्दा बढी चीनबाट आउँछ । यसबाहेक दोस्रोमा भारतबाट आयात हुन्छ । बाँकी मुलुकबाट अत्यन्त कम परिमाणमा आयात हुने हो ।

हिन्दु संस्कृतिअनुसार आगामी सोमबार देशभर उज्यालो पर्व ‘लक्ष्मी पूजा’ मनाइँदैछ । यो दिनलाई धनकी देवी लक्ष्मीलाई विधिवत् रुपमा पूजाआजा गर्ने गरिन्छ ।

घर र पसलमा लक्ष्मीको बास होस् बर्षभरी आम्दानीको स्रोत राम्रो होस् भनि मनाइने यो पर्व उज्यालो बिना खल्लो हुन्छ । उज्यालो र तिहार एक अर्काको परिपुरक शब्द हुन ।

सहरदेखि ग्रामिण क्षेत्रमा बढ्दो खपत

झिलिमिली बत्तीको खपत पछिल्लो समयमा ग्रामिण भेगदेखि सहरी भेगसम्म हुन थालेकाले यसको आयात पनि बढ्दै गएको हो । १० वर्ष अघिसम्म यस्ता झिलिमिली बत्तीमा सबैको पहुँच थिएन ।

यसको पछाडी दुई वटा कारण छन्, पहिलो ग्रामिण भेगसम्म भरपर्दो बिजुलीको सुविधा थिएन । दोस्रो अत्यधिक मूल्यको कारण झिलिमिली बत्तीमा ठूला धनाढ्यहरुको मात्रै पहुँच थियो । त्यो बेला धनाढ्यहरुको घर, कर्पोरेट हाउस, उद्योग र व्यापारिक प्रतिष्ठानमा यस्तो बत्ती बल्नु भनेको त्यस्ता वर्गको सान मानिन्थयो ।

उता ग्रामिण क्षेत्रका बासिन्दा भने माटोबाट निर्मित टुकीमा मट्टितेल र डिजेल हालेर घरको अगाडि, छत र दिवालमा बालेर तिहार मनाउँथे । भगवानको पूजामा भने तोरीको तेल हालेको माटोको दियो बाल्थे । पछिल्लो समयमा भने वैदेशिक रोजगारको प्रभाव र बिजुलीको सहज पहुँच र लोडसेडिङ हुन प्रायः ठप्प भएपछि ग्रामिण वस्तीसम्म झिलिमिली वत्तीको खपत अत्यधिक बढेको हो ।

‘पछिल्लो समयमा झिलिमिली बत्तीको कारोबार बढ्नुमा पहिलो श्रेय लोडसेडिङ मुक्त बिजुली प्रणालीलाई जान्छ, दोस्रोमा रेमिट्यान्सको प्रभाव पनि ठूलो छ, रेमिट्यान्सको कारण पनि ग्रामिण भेगसम्म अहिले तिहारका साथै छठमा झिलिमिली बत्तीको कारोबार र खपत अत्यधिक बढेको छ,’ देवकोटाले भने, ‘मट्टितेलको सहयोगमा माटोको टुकी बालेर तिहार मनाउने परम्परा करिब अन्त्य भएको छ ।’

जहाँ बत्ति पुगेको छैन, त्यहाँ अहिले पनि मट्टीतेल, तोरीको तेल, डिजेलको प्रयोग गरी स– सानो टुकी, पाला र दियो बालेर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनबत्ति वालेर पनि घर आँगन उज्यालो बनाइन्छ ।

उनका अनुसार नयाँ घर बनाउनेहरु सुरुको दुई तीन वर्ष झिलिमिली बत्तीमा अत्यधिक खर्च गर्दैआएका छन् । नयाँ घरलाई बत्तीले सजाएर तिहार मनाउने चलन ट्रेन्ड नै अहिले सहरी क्षेत्रसहित ग्रामिण क्षेत्रमा बढेकाले पनि यो बत्तीको खपतसँगै आयात दर बढ्दै गएको हो ।

‘तर पछिल्लो समयमा खपत दर घट्दै गएको हो, पछिल्लो केहि वर्षदेखि घरजग्गा कारोबार नभएकाले पनि खपत घटेको छ, अर्को कारण हो, युवा वर्ग अत्यधिक संख्यामा विदेशिनु हो,’ देवकोटाले भने, ‘यस्ता झिलिमिली खरिद गर्ने, घर सजाएर बाल्ने काम प्रायः जसो पुरुष युवावर्गको हो । तर ठूलो परिमाणमा उनीहरु पलायन हुन थालेकाले त्यसको प्रत्यक्ष असर यो क्षेत्रमा परेको हो ।’

यो वर्ष पनि झिलिमिली वत्तीको खासै व्यापार नहुनेमा महासंघ ढुक्क छ । अघिल्लो वर्ष आर्थिक मन्दी र सर्वसाधारणको क्रयशक्ति कमजोरमो मार खेपेको यो व्यवसायले यो वर्ष भने राजनीतिक अवस्था अस्थिरताका कारण राम्रो व्यापार नहुने दावी गरेको छ ।

‘एक त हामीले अर्डर गरेअनुसार समयमै सामान नै आउन सकेन, हामीले अर्डर गरेको परिमाणमध्ये ५० प्रतिशत पनि आइपुगेको छैन, अर्कोतर्फ अहिले राजनीतिक अस्थिरताका कारण पनि बजार खुम्चिएको छ,’ देवकोटाले भने, ‘झिलिमिली वत्ती तिहारको दिनमात्रै होइन, कम्तिमा एकसाता अघिदेखि बाल्न सुरु हुन्छ, त्यसका लागि हामीले असोजको सुरुआतमै सबै जिल्लाका व्यवसायीसम्म पठाइ सक्नु पर्छ । तर यो वर्ष समयमा सामान नआएर गत वर्षको सामान बल्ल अहिले जिल्लाहरुमा पठाइरहेका छौं ।’

बजार मूल्य कति ?
महासंघका अनुसार यो वर्ष बजारमा साधारण झिलिमिली माला १५०, २०० र ५०० रुपैयाँमा बिक्री भइरहेका छन् ।

यसबाहेक बाटरफल १५०० देखि ४ हजार रुपैयाँसम्मको बजारमा उपलब्ध छ । यस्ता वाटरफल लाइट ४ देखि ५ तल्ले घरलाई सजाएर बाल्न मिल्छ ।

त्यस्तै रोप लाइटतर्फ ट्युवको मोटाई, लिड वत्तिको आकार र डिजाइन अनुसार प्रतिमिटर ९० देखि २५० रुपैयाँसम्मको बजारमा उपलब्ध छन् । प्लास्टिकको सेतो ट्युवभित्र लिड वत्ति भएको भिलिमिली भएको वत्तीलाई रोप लाइट भनिन्छ । यो वाटरफ्रुप हुने भएकाले तुलनात्मक रुपमा यो महँगो र बढी टिक्ने हुन्छ ।

उनका अनुसार निम्न वर्गले लहरे र झालर वत्ती अत्यधिक खपत गर्छन भने धनाढ्य र सम्पन्न वर्गले रोप लाइन बढी खपत गर्छन । यस्तै बजारमा स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर, दियो, लक्ष्मी गणेशको बल्ने मूर्ति, फोटो लगायतको माग पनि अत्यधिक हुन्छ ।

‘घरको अगाडिको भागलाई माथिदेखि तलसम्म छप्पकै छोप्ने गरी झालर र लहरे बत्ती र रोप लाइटको अत्याधिक बिक्री हुन्छ,’ देवकोटाले भने ।

यस्ता बत्तीलाई घर, पसल, कर्पोरेट हाउस, होटेल, रेष्टुँरा र सडकलगायतका स्थानमा झुण्ड्याएर र ओछ्याएर बालिने हुनाले बजारमा सबैभन्दा बढी यसैको कारोबार हुन्छ ।

लहरे झिलिमिली बत्ती विभिन्न डिजाइन, रंग, मोटाई र लम्वाईमा बजारमा उपलब्ध छन् । लहरे झिलिमिली वत्तिको सरदर आयु २ देखि ३ बर्षको हुन्छ ।

डिजाइनअनुसार सय वटा लिड बत्ती भएको सामान्य १० मिटरको लहरे झिलिमिली बत्तीलाई थोकमा १५० रुपैयाँ उपभोक्ता मूल्य तोकिएको छ । यस्तै २०० लिड भएको २० मिटर बत्तीको ३०० रुपैयाँ मूल्य तोकिएको छ ।

लहरे झिलिमिली मुख्यगरी घर, पसल, कर्पोरेट हाउस, सडकमा झुण्डयाएर वाल्ने गरिन्छ । साढे २ तल्लाको घरमा १० मिटर र ३ देखि ५ तल्लाको घरलाई २० देखि ३० मिटरको लहरे झिलिमिली वत्तिले सजाएर बाल्न सकिने महासंघले जनाएको छ ।

यो वत्ति वाहेक बजारमा अत्यधिक बिक्री हुने वत्तिमध्ये रोप लाइट पनि हो । अलि बढी खर्च गर्नेहरुले रोप लाइट प्रयोग गर्न रुचाउँछन् ।

महासंघकाअनुसार नेपालमा करिब ५ हजार व्यवसायीले विद्युतीय झिलिमिली बत्तीको व्यापार गर्छन् । राजधानीमा भने भोटेबहाल, कोटेश्वर, बानेश्वर, महावौद्ध, असन, न्युरोडलगायतका स्थानमा यसको अत्याधिक व्यापार छ ।