
काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दबहादुर पुन र उनका छोराहरूविरुद्ध पनि नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।
यही प्रकरणमा माओवादी केन्द्रकै उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेका छन् । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैतर्फबाट अनुसन्धान भइरहेको छ ।
स्रोतका अनुसार, रोल्पाको राङ्सी घर भएका पुनमाथि पनि सोही प्रकृतिको संगठित अपराध र आपराधिक लाभको मुद्दामा अनुसन्धान अघि बढाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पुनसँगै उनका छोराहरू र सहयोगीहरूमाथि पनि छानबिन गरिरहेको पुष्टि गरेको छ ।
पूर्वउपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्रले दुई वर्षअघि हुम्लाबासी भएको कागजात बनाएर गृह मन्त्रालयबाट सीमा वारपार गर्ने परिचयपत्र तयार पारेका थिए । त्यसपछि उनले हुम्ला हुँदै चीनको ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग तमसुक गरेर करिब ४ किलो सुन बुझेका थिए । सुनको भुक्तानीबाफतको रकम नदिएपछि सो प्रकरण सार्वजनिक भएको थियो । जितेन्द्र हाल अमेरिकामा रहेको बताइएको छ ।
पुनका कान्छा छोरा दीपेश पुन पनि यसअघि सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा मुछिएका थिए । उनले २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा संलग्नता रहेको जाँचबुझ आयोगले उल्लेख गरेको थियो । दीपेश हाल भारतमा रहेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
त्यसैगरी, पुन उपराष्ट्रपति छँदा सचिवालयमा कार्यरत उनका सल्लाहकार जीवनकुमार गुरुङ १९ मंसिर २०८० मा त्रिभुवन विमानस्थलमा बरामद १४ केजी सुन प्रकरणमा पक्राउ परे पनि पछि धरौटीमा रिहा भएका थिए ।
पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलस्थित ‘होटल भियना’ सञ्चालन गर्ने रोकालाई गत असारमा दुई लाख धरौटीमा रिहा गरिएको थियो ।
संगठित अपराध निवारण ऐन, २०७० अनुसार, ‘कसैले आपराधिक समूहको लाभका लागि वा आपराधिक समूहसँग मिलेर गम्भीर अपराध गरेमा त्यसलाई संगठित अपराध मानिने’ प्रावधान छ । सोही कानुन बमोजिम पुनमाथि पनि संगठित अपराध र आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पुन सार्वजनिक पदमा रहँदा शक्तिको दुरुपयोग भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीमाथि बेग्लै छानबिन गरिरहेको स्रोतको दाबी छ ।








प्रतिक्रिया