
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख महरामाथि अनुसन्धान भइरहेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार महरालाई पक्राउ गरेको हो ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरामाथि छानबिन भइरहेको थियो । करिब तीन वर्षअघि विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन ल्याएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट चरणबद्ध रूपमा महराले उन्मुक्ति पाएका थिए ।
महरा २०७९ सालमै यस प्रकरणमा तानिएका थिए, तर राजनीतिक पहुँच र सत्ता–शक्ति प्रयोगका कारण उनीमाथि मुद्दा चलेको थिएन । अनुसन्धानमा संलग्न स्रोतका अनुसार महराका छोरा निर्मलको मोबाइलबाट सुन तस्करीमा संलग्न फरार चिनियाँ नागरिक लुई हानसङसँग ११ पटक सम्पर्क भएको प्रमाण सीआईबीले पत्ता लगाएको छ । त्यस्तै, सुन तस्कर दाओजिन वाङले महरालाई ११ पटक र उनका अर्का छोरा राहुललाई २८ पटक फोन सम्पर्क गरेको तथ्य पनि प्रतिवेदनमा उल्लेख छ ।
सीआईबीको प्रतिवेदनका अनुसार करिब ८ करोड ५५ लाख मूल्य बराबरको सुन तस्करी र बिक्रीमा महरा बाबु–छोरा प्रत्यक्ष संलग्न थिए । उनीहरूले सुन ल्याउने चिनियाँ नागरिकसँग व्यक्तिगत सम्बन्ध राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकारीलाई पटक–पटक फोन गरी सहयोग पुर्याएको देखिन्छ । प्रतिवेदनले उनीहरू शक्तिको दुरुपयोग गर्दै रोकिएको सुन लिलाम गरेर बिक्री गर्नेसम्मको योजना रहेको उल्लेख गरेको छ ।
माओवादी शान्ति प्रक्रियापछि महरा चार पटक सांसद, छ पटक मन्त्री र एक पटक सभामुख बनेका थिए । तर, उनी विवादमुक्त कहिल्यै रहेनन् । २०७६ असोज १४ मा संसद सचिवालयकी एक कर्मचारीमाथि यौन शोषणको आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।
२०७९ पुस १० गते चिनियाँ नागरिक लिई हानसङ फ्लाई दुबईको उडानबाट नेपाल आएका थिए । उनको लगेजमा ७३ बट्टामा ७३० थान भेप फेला पर्यो, जसमा करिब ९ किलो सुन लुकाइएको थियो । शंकास्पद देखिएपछि ती भेप भन्सारको नियन्त्रणमा राखी अनुसन्धान थालिएको थियो ।
करिब डेढ महिना भन्सार गोदाममै राखिएका ती सामान बीचमा गिरोहले भन्सारका केही कर्मचारीलाई मिलाएर सुन भएको भेप गोदामबाट उम्काई बजारबाट अन्य भेप ल्याएर साटिदिएको थियो । यसअघि नै महरा बाबु–छोराले भेप छुटाउन कर्मचारी, बिचौलिया र गिरोहका सदस्यसँग निरन्तर टेलिफोन सम्पर्क गरेको अनुसन्धानले देखाएको छ ।
भन्सारले ती सामान लिलामीमा लैजाने तयारी गर्दा गिरोहका एक सदस्य आएर “यो विशेष किसिमको भेप हो, हामी आफैं सकार्छौं” भनेपछि भन्सार प्रमुख अरुण पोखरेलले थप सोधपुछ गरे । त्यसपछि मात्र भेपभित्र सुन लुकाइएको सत्य बाहिरियो । तर, त्यतिबेलासम्म सुन भएको भेप पहिले नै साटिसकिएको थियो ।
घटनाको गम्भीरता बुझेर पोखरेलले अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई (सीआईबी) दिए, जसपछि खुलासा भयो—भेपका नाममा ल्याइएको सुन छुटाउन महरा बाबु–छोराले नै चिनियाँ गिरोहसँग मिलेर सम्पूर्ण योजना र दबाबको भूमिका खेलेका रहेछन् ।







प्रतिक्रिया