
काठमाडौं । आइतबार कारोबार खुलेदेखि नै सेयर बजार निरन्तर घटिरहेको छ । साताको कारोबारको पहिलो दिन आइतबार दिउँसो १ बजेर ५ मिनेट सम्ममा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८६.५१ अंकले घटेर २४९५.६७ बिन्दुमा खुम्चिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से २२.५९ अंकले बढेको थियो । त्यसअघिका दुई कारोबार दिन अर्थात् गत साताको मंगलबार नेप्से ५८.५५ अंक र बुधबार ४५.३६ अंकले घटेको थियो । बिहीबार केही सम्हालिने पर्यत्नमा देखिएको बजार आइतबार भने भारी अंकको साथ संकुचनमा गइरहेको छ ।
समाचार तयार पार्दासम्म नेप्सेमा कुल ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १ बजेर ५ मिनेटसम्ममा २ कम्पनीको सेयर मूल्य बढ्दा २४८ कम्पनीको घटेको छ । बजारका सबै समूह इन्डेक्स राताम्य बनेका छन् ।
जेनजी प्रदर्शनपछि बजार लगातार संकुचनमा गइरहँदा सरकार तथा नियामक निकायले बजारको पक्षमा नीतिगत सहजता अपनाउँदै आएका छन् । यद्यपि, त्यसले पनि बजारको गिरावट यात्रालाई रोक्न सकेको छैन ।
बुधबार मात्रै नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको २५ करोडको सीमा खारेज गरेको थियो । राष्ट्र बैंकले सेयर धितो कर्जामा एक बैंकबाट ४ करोड र सबै बैंकबाट १२ करोडको कर्जा सीमा तोकेर पछि त्यसमा संशोधन गर्दै एकै बैंकबाट १२ करोड लिन सक्ने व्यवस्था पनि गरेको थियो ।
पछि संस्थागतको सीमा बढाउँदै खारेज गर्यो भने व्यक्तिगतर्फ २५ करोडको सीमा राखेकोमा बुधबार त्यसलाई पनि खारेज गरेको हो । यस्तै बैंक तथा वित्तिय संस्थाले पनि सेयर कारोबार गर्न सक्ने व्यवस्थामा केही लचकता अपनाएको छ । यसअघि १ वर्ष वा सोभन्दा बढी अवधिको लागि मात्रै सेयर वा ऋणपत्रमा लगानी गर्न पाइने व्यवस्थामा केही लचिलो बनेको हो ।
अब बैंकहरूले पनि ६ महिना वा सोभन्दा बढी अवधिको लागि सेयर र ऋणपत्रको दोस्रो बजारमा पनि लगानी गर्न सक्ने भएका छन् । यसरी गरेको लगानी ६ महिन भन्दा बढीको भएपछि एकसाथ जति पनि बिक्री गर्न पाउने भएका छन् । यसअघि १ वर्ष पुगेपछि पनि प्राथमिक पुँजीको २० प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था थियो ।
जसले बैंकहरूसँग अधिक तरलता भएको अवस्थामा पनि सेयर कारोबार गर्न पाएका थिएनन् । तर, अब भने ६ महिना वा सो भन्दा बढी अवधि होल्ड गर्ने गरी बैंकहरूले पनि सेयर ट्रेडिङ गर्न पाउने व्यवस्था गरिएको छ ।
बुधबार राष्ट्र बैंकले यस्तो नीति लिएपछि बिहीबार बजारमा पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो । यद्यपि, दिनभर कारोबार भएर बजार बन्द हुँदा भने २२ अंकको मात्रै वृद्धि भएको थियो । खासगरी, सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेपनि समयमा निर्वाचन हुन नसक्ने आशंकाहरु पैदा भइरहेका छन् ।
समयमा निर्वाचन हुन नसके मुलुक थप राजनीतिक अस्थिरता र समस्यामा फस्ने चर्चाहरु पनि भइरहेका छन् । राजनीतिक अस्थिरता निम्तिने त्रासमा लगानीकर्ता पर्दा सेयर बजार निरन्तर संकुचनतर्फ गएको देखिन्छ ।








प्रतिक्रिया