जेनजी आन्दोलनमा आगजनी: बालेनसहित कलाकार र कन्टेन्ट क्रियटरहरूविरुद्ध प्रहरीमा जाहेरी

847
Shares

काठमाडौं । जेनजीले गरेको भदौ २४ गतेको प्रदर्शनसँग सम्बन्धित विषयमा काठमाडौं महानगरका मेयर बालेन शाह, ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङ, कन्टेन्ट क्रियटरहरु, कलाकार र युट्युबरहरूसहितविरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ ।

अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गरेको जाहेरीमा उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, आतंकवादसम्बन्धी कसुर, सार्वजनिक शान्ति भंग, हातहतियार खरखजाना, विष्फोटक पदार्थ, तथा राष्ट्रिय र सार्वजनिक सम्पत्तिविरुद्धका कसुरमा संलग्न भएको आरोप लगाइएको छ ।

जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि गरिएको जाहेरीमा भनिएको छ ।

जाहेरीवालाहरूले संलग्न प्रमाणका रूपमा विभिन्न सञ्चारमाध्यमहरूबाट संकलित फोटो र भिडियोहरू प्रहरीमा बुझाएका छन्, जसमा आरोपितहरूलाई तोडफोड र आगजनीमा संलग्न गराइएको दाबी गरिएको छ ।

उनीहरूले कारबाहीको माग गरेका व्यक्तिहरूमा कलाकार संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युबर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज केसी, युजन राजभण्डारी र रामकुमार खड्का लगायत रहेका छन् ।