
काठमाडौं । दशैंपछि दुई दिनमा १०० अंकभन्दा धेरैले गिरावट भएको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहिबार भने सुधार देखिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजीबजार सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा नेपाल राष्ट्र बैंकले बुधबार सेयर धितो कर्जाको सीमा खारेज गरेको थियो । साथै, बैंकहरुलाई पनि सेयर ट्रेडिङमा समेत सहजीकरण गरेको थियो । जसले गर्दा बिहीबार सुरुवाति चरणमा उच्च वृद्धिगरेर ३ मिनेटमा नै ४ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको सेयर बजार बन्द हुँदा २२ अंकले मात्रै बढेको छ ।
बिहीबार सेयर बजार परिसूचक नेप्से २२.५९ अंकले बढेर २५८२.१८ बिन्दुमा पुगेको छ । अघिल्लो कारोबारको दिन बुधबार नेप्सेमा उच्च अंकको गिरावट आएको थियो ।
बुधबार नेप्से ४५.३६ अंकले घटेर २५५९.५९ बिन्दुमा रोकिएको थियो ।
बिहीबार बजार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । बुधबार साढे ५ अर्ब माथिको कारोबार भएकोमा बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएको छ ।
बिहीबार कारोबार भएकामध्ये विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशत बढ्दा एशियन हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशत र एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ५ प्रतिशतले बढेको छ।
त्यस्तै थ्रि स्टार हाइड्रोपावरको सेयर मुल्य भने ९.०९ प्रतिशत र बुङ्गल ईनर्जीको ५.४३ प्रतिशतले घटेको छ ।
बिहीबार व्यापार उपसूचक १.४८ प्रतिशतले गिरावट हुँदा अरु सबै सूचक बढेका छन् । शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ३४ लाखको सेयर कारोबार हुँदा युनियन हाइड्रोपावरको २७ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार कुल २५१ सुचिकृत कम्पनीको सेयर कारोबार हुँद २०० कम्पनीको सेयरमूल्य बढेर बन्द भएको छ । त्यस्तै ४१ कम्पनीको सेयरमूल्य घटेर बन्द हुँदा १० कम्पनीको स्थिर छ ।







प्रतिक्रिया