जेनजी आन्दोलन: तोडफोडबाट दमक भ्यु टावरमा २५ करोडको क्षति

49
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा झापाको दमक ३ स्थित भ्यु टावरमा साढे २५ करोडको क्षति भएको छ । सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङका अनुसार १ अर्ब ६४ करोड खर्चेर बनाएको भ्यु टावर सञ्चालनमा आएको करिब दुई महिनामा नै तोडफोड भएपछि अहिले बन्द गरिएको छ ।

२३ मंसिर २०८१ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको भ्यु टावर गत १ साउनदेखि मात्र सञ्चालनमा आएको थियो । व्यापारिक कम्प्लेक्सको अवधारणामा निर्मित टावर सर्वसाधारणलाई दृश्यावलोकनका लागि खुला गरिएको थियो ।

१८ तले भ्यु टावरको सबै सिसा फुटाएको , भ्यु टावरको गेट, टिकट काउन्टर, सुरक्षा पोस्ट, कर्मचारी भवनलगायतमा आगजनी गरिएको थियो ।

जान सक्ने अवस्था पनि नभएको भ्यु टावरको भित्र पनि आगो लगाइएको थियो, त्यहाँ आगो लाग्दा अटोमेटिक पानी झर्ने प्रणाली रहेकाले भित्रचाहिँ आगो लाग्न पाएन । सर्वसाधारणको लागि श्रावण देखि खुल्ला गरिएको भ्यु टावर अवलोकन शुल्क र पार्किङ गरी ६ लाख ७९ हजार आम्दानी भएको, पहिलो एक महिनामा ६ हजार ७सय १३ जनाले भ्यु टावर चढेर दृश्यावलोकन गरेका थिए । २३ भदौसम्म पार्किङ र अवलोकन शुल्कसहित दुई लाख ५ हजार ५ सय ३० रुपैयाँ संकलन भएको थियो । सो अवधिमा एक हजार ९ सय ५५ ले भ्यु टावरको दृश्यावलोकन गरेका थिए ।