
काठमाडौं । शुक्रबार रातिदेखिको निरन्तरको वर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ ।
विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा ठूलो क्षति पुगेको छ । विभिन्न ठाउँहरूमा राजमार्गहरू अवरुद्ध भएका छन् ।
इलाममा सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । आइतबार बिहानसम्म पहिरोमा कम्तीमा १८ जनाको मृत्यु भएको इलाम प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी एसएसपी दीपक पोखरेलका अनुसार सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकाका विभिन्न स्थानमा पहिरोले जनधन दुवैमा ठूलो क्षति पुर्याएको छ ।
सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ: ५ जनाको मृत्यु
माङसेवुङ गाउँपालिका–१ पाटीगाउँ: ३ जनाको मृत्यु
देउमाई नगरपालिका–५ धारे र धुसुने: ३ जनाको मृत्यु
फाकफोकथुम गाउँपालिका–३ रातमाटे: १ जनाको मृत्यु
इलाम नगरपालिका–५ घोसगाउँ: ६ जनाको मृत्यु
इलामका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी उद्धार तथा राहतमा खटिएका छन् । प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
झापामा पनि कनकाई माईको बाढीले हुलाकी राजमार्ग भत्काउँदा यातायात पूर्णरूपमा बन्द छ । झापा गाउँपालिका–२ मा मात्र ५ सय घरपरिवार डुबानमा परेका छन्। स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी छ।
मधेस प्रदेश
पर्सा र रौतहट जिल्लामा बढी क्षति भएको छ ।
वीरगञ्ज बसपार्कस्थित प्रहरी कार्यालय डुबानमा परेको छ ।
वीरगञ्ज–११ का ३८ घरपरिवार, धोविनी–५ का २ परिवार र जगरनाथपुर–३ का ५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बौद्धमाई क्षेत्र डुबानमा परेका छन्, जहाँ १४ घरपरिवारलाई स्थानान्तरण गरिएको छ।
रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ ।
चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्गमा पानीको उच्च बहावका कारण लस्का अवरुद्ध भएको छ ।
महोत्तरीको बर्दिवास–५ मा रूख ढलेर राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
अन्य स्थानका क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेश
काठमाडौं महानगर–१४ को कोहिनुर हाउजिङ नजिक करखुसी खोला किनारमा सडक कटान हुँदा २८ घर प्रभावित भएका छन् । ५०० जना भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।
भक्तपुरमा अहिलेसम्म मानवीय क्षति नभएको तर सागवारी र मध्यपुर ठिमीमा केही घर डुबानमा परेका छन् ।
चाँगुनारायणका विभिन्न वडामा पहिरो र सडक भासिने जोखिम देखिएको छ। वडा ६ र ८ का बासिन्दालाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ ।
ललितपुरको गोदावरी–१४ ठेँबमा पर्खाल भत्किँदा ३ जना घाइते भएका छन्। ललितपुरमा अन्य मानवीय क्षति छैन ।
राजधानी छिर्ने मुख्य राजमार्गहरू पनि अवरुद्ध
बिपी राजमार्ग (मंगलटार–सिन्धुली): पाँच–छ ठाउँमा सडक भासिएको
मुग्लिन–पृथ्वी राजमार्ग: एकतर्फी सञ्चालन
अरनिको राजमार्ग: अवरुद्ध
कान्ति लोकपथ (बागमती पुल): पूर्णरूपमा अवरुद्ध
पासाङ ल्हामु राजमार्ग (धुन्चे अगाडि): पहिरो
बाह्रबिसे र काभ्रे (खावा): पहिरो
हेटौंडा–काठमाडौं मार्ग: सिस्नेरी खोलाको बाढीले समस्या
यसैबीच, लाङटाङ क्षेत्रमा खोलाको बहाव बढ्दा ४ जना बेपत्ता भएका छन्। खोजीकार्य जारी छ ।







प्रतिक्रिया