कम्तिमा साढे तीन लाख यात्रुले उपत्यका छाडे: मालामाल हुने सिजनमै यातायात व्यापारमा औंसीको घेरा

1.1k
Shares

काठमाडौं । दशैंदेखि छठपर्वको अवधि यातायात व्यवसायीको लागि चाँदी कटाइको सिजन हुन्छ । उनीहरुको लागि यो बेला सर्वाधिक कमाइ हुने समय हुन्छ ।

तर यो वर्ष अवस्था फेरिएको छ । गत भदौदेखि विभिन्न प्रमुख राजमार्गमा दैनिकजसो खस्ने पहिरोका कारण यातायात व्यवसायीको व्यवसाय चाँदी कटाइको समयमै शिथिल र सुख्खा बनेको छ ।

चाडवाड लागेसँगै सबैभन्दा बढी चाप पृथ्वी राजमार्गमा पर्छ । यो सडक खण्ड भएर दैनिक हजारौं यात्रुहरु चाडवाड मान्न पूर्वी र पश्चिमी जिल्लाका लागि यात्रा गर्छन ।

गत् भदौदेखि निरन्तर रुपमा पृथ्वी राजमार्गको विभिन्न खण्डमा दैनिकजसो पहिरो गएर सडक अवरुद्ध हुँदा चाँदी कटाइको समयमा यातायात व्यवसायीको व्यापार शिथिल बनेको हो । यातायात व्यवसायकै भरमा अत्यधिक व्यापार गर्ने राजमार्ग केन्द्रित होटेल तथा अन्य पसलसमेत सुकेको छ ।

दशैं चाडवाड लागेसँगै प्रमुख सडक खण्डहरु बाढीपहिरोका कारण क्षतिग्रस्त बनेपछि यातायात व्यवसायीको पिक सिजनमै अत्यधिक व्यवसाय गुमेको छ ।

काठमाडौंबाट गन्तव्य जिल्लासम्म छुट्ने र जिल्लाबाट काठमाडौंको लागि छुट्ने लामो दूरीका यात्रुबाहक बसहरु तीन दिनसम्ममा पनि गन्तव्यसम्म पुग्न नसकेपछि यातायात व्यवसायीको व्यवसाय ठूलो घाटामा पुगेको हो ।

यो वेला यातायात व्यवसायीको करोडौंको कारोबार हुन्छ । यो चाडवाडमा दैनिक कम्तिमा ५ लाख संख्यामा सानादेखि ठूला सवारी साधन ओहोर दोहोर गरेपनि यो वर्षको दशैंमा त्यो संख्यामा सवारी साधन गुड्ने अवस्था नरहेको यातायात व्यवसायीको भनाइ छ ।

सामान्य समयमा बिपी राजमार्गबाट २ हजारको संख्यामा यात्रुवाहक सवारी साधन उपत्यका भित्रिने र त्यही संख्यामा बाहिरिने गरेको छ । दशैंको समयमा भने यो बाटोबाट करिब ३ हजार साना ठुला सवारीमार्फत १६ हजार यात्रु बाहिरिन्छन् । यसरी हेर्दा एक दिनमा ४ हजारको संख्यामा सवारी साधन ओहोर दोहोर गर्छन ।

यस्तै नागढुङ्गा–मुग्लिङ्ग सडक खण्डमार्फत दैनिक ३ हजार ४ सय ३७ वटा सवारी साधनमार्फत ३५ हजार यात्रु बाहिरिन्छन । तर दशैैंको अवधिमा भने यो सडक खण्डमा सवारी साधनको चाप दैनिक ८ हजारसम्म पुग्ने गर्छ । जसबाट दैनिक करिब ७० देखि ८० हजार यात्रु बाहिरिन्छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंला यो वर्षको चाडवाड यातायात व्यवसायीको लागि कालो दिन बनेर आएको बताए । पिक समयमै यातायात व्यवसायीहरु चुर्लम्म डुबेको उनको भनाइ छ ।

अत्यधिक कमाई हुने सिजनमै प्रमुख सडक खण्डहरुमा पटक पटक खसिरहने पहिरोका कारण यातायात व्यवसायीको व्यापार करिब ४५ प्रतिशतले कमी आएको उनको भनाइ छ ।

‘यो वर्षको चाडवाड यातायात व्यवसायीको लागि सुखद रहेन । पिक सिजनमै यातायात व्यवसायी डुबे । यो बेला देशभरकै राजमार्गमा सबै प्रकारका सवारी साधन निस्किन्थे । सडक र गाडीमा खुट्टा राख्ने ठाँउ हुँदैन्थ्यो,’ क्लिकमाण्डुसँग सिटौंलाले भने,‘यातायात व्यवसायीकै भरमा सञ्चालन भएका राजमार्गका होटेल व्यवसायीलाई पनि भ्याइनभ्याई हुन्थ्यो । तर यसपटक सबैको व्यापार सुक्यो ।’

उनका अनुसार चाडवाड मान्न यो अवधिमा लाखौं यात्रुहरु उपत्यकाबाट बाहिरिन्थे । घटस्थापनादेखि षष्ठीसम्म (असोज ६ गतेदेखि १२ गतेसम्म) यात्रुलाई थेग्न नसक्ने अवस्था सिर्जना हुन्थ्यो । सडक र ट्राफिकलाई सवारी साधनको चाप थेग्न धौ –धौ हुन्थ्यो ।

‘तर पछिल्लो समयमा घण्टापिच्छे पहाडी र हिमाली राजमार्गमा मेचीदेखि महाकालीसम्म तथा काठमाडौंबाट बाहिरिने सडक खण्डमा पहिरो जान थालेपछि त यातायातका साधन पर्याप्त संख्यामा सञ्चालनमा आउन सक्यो, न सडकमा यात्रुको चाप भयो, न त राजमार्ग केन्द्रित होटेल तथा अन्य व्यापार नै भयो,’ सिटौलाले भने,‘बढ्दो प्राकृतिक प्रकोपको कारण चालकले यात्रुसहित आफ्नो ज्यान हत्केलामा राखेर हिडनुपर्ने बाध्यता आएको छ । कति वेला कुन सडकमा कस्तो प्रकारको प्राकृतिक प्रकोप निम्तिन्छ, सडक बन्द भइदिन सक्छ भनेर कल्पना गर्न पनि नसक्ने अवस्था आएको छ ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि गत् भदौको अन्तिम सातादेखि निरन्तर रुपमा पहिरो खसेका कारण यातायातका साधन निक्कै कम संख्यामा गुडेको जानकारी दिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षकसमेत रहेका प्रवक्ता नरेशराज सुवेदीका अनुसार भदौको तेश्रो सातादेखि नागढुङगादेखि नारायणगढसम्म सडक खण्डको विभिन्न खण्डमा निरन्तर रुपमा खसेको पहिरोका कारण भदौ अन्तिम सातादेखि असोज ८ गतेसम्म सामान्य दिनजस्तै सवारी साधन र यात्रु बाहिरिएको थियो ।

‘निरन्तर रुपमा पहिरो गएका कारण मुख्य नाकासहित अन्य नाकाहरुबाटसमेत गरी असोज ८ गतेसम्म सवारी साधन र यात्रुको चाप त्यति देखिएन,’ प्रवक्ता सुवेदीले भने,‘अघिल्लो बर्षहरुमा घटस्थापनाको अघिल्लो एक साता र घटस्थापनादेखि सवारी साधन र यात्रुको चाप अत्यधिक हुन्थ्यो । बुधबारदेखि उपत्यका छाड्ने सवारी साधन र यात्रुको चाप बढ्न थालेको छ ।’

सिटौंलाका अनुसार यातायात व्यवसायीको वर्षभर हुने कूल व्यापारमध्ये झण्डै ६० प्रतिशत कारोबार दशैंदेखि छठसम्मको अवधिमा हुने गर्छ । यो ६० प्रतिशतमध्ये पनि करिब ७० प्रतिशत कारोबार दशैंको अवधिमा मात्र हुने गरेको छ ।

महासंघका अध्यक्ष बिजयबहादुर स्वांरले यो वर्षको दशैंको माहौल सुरु भएलगक्तै बिभिन्न सडक खण्डमा पहिरो गएर यातायात व्यवसायीले वर्षदिन पर्खेर बसेको व्यापार (कमाई गर्ने समय) डुवेको छ ।

काठमाडौंबाट बाहिरिने लाखौं व्यक्ति गाउँ फर्कन नपाउँदा गाउँघरको बजारसमेत चलायमान हुन नसकेको स्वांरले जानकारी दिए ।

विभिन्न सडक खण्डमा आइरहने पहिरोका कारण करिब ६ सय नयाँ बसहरु यो वर्ष बजारमा आउन नसकेको जानकारी दिदैं स्वांरले गुडदै गरेको बसमाथि पहिरोको ढुङगा खसेर थप समस्या व्यवसायीले व्यहोर्नुपरेको जानकारी दिए । उनका अनुसार करिब २० हजार सवारी साधन ग्यारेजमा थन्किएका छन् ।

उनका अनुसार यातायात व्यवसायीहरु यहि चाडवाडको कमाईको कमाईले नयाँ बस थप्छन, आफ्ना कर्मचारीलाई राम्रो तलब, दशैंको बोनश र दैनिक भत्ता उपलब्ध गराउनुका साथै पोशाक उपलब्ध गराउँछन् । यसका साथै बैंकको ऋणसमेत चुक्ता गर्छन । पहिरोले सडक खण्डहरु अवरुद्ध हुँदा कमाईको अभावमा यो वर्ष बसका कर्मचारीहरुलाई नियमित रुपमा तलव खुवाउनसमेत धौ धौ भएको उनले बताए ।

नेपालको यातायात क्षेत्रमा करिब १० खर्ब रुपैयाँको लगानी छ ।

‘तर यो वर्ष प्राकृतिक प्रकोपले व्यापार चौपट्टै बनायो, गाडी गुडेपछि पो कमाई हुन्छ, सिजनमै सबै गाडी अलपत्र परेपछि हामी यातायात व्यवसायी घर न घाटको जस्तो अवस्थामा परेका छौं,’ अध्यक्ष स्वाँरले भने,‘सडक खण्डहरु अवरुद्ध भएर लामोदूरीमा गुड्ने ५ हजारभन्दा बढी ठुला बसहरु ग्यारेजमा थन्किएका छन् । गुड्दै गरेको बसमा कुन ठाउँमा माथिबाट पहिरो र ढुङगा खसेर ज्यान जोखिममा पर्ने ठेगान नै भएन ।’

उनका अनुसार बाटोघाटो अवरुद्धका कारण निर्माण भएको करिब ७ सय नयाँ बस पनि ग्यारेजमै थन्कियो । ३ दिनको लागि गरिएको अग्रीम बुकिङको टिकट पनि रद्द गर्नुपर्ने अवस्था आएको छ ।

प्रमुख सडक खण्डहरुमा निरन्तर रुपमा खस्न लागेको पहिरोका कारण अहिले लामो दूरीका बसहरु ४० देखि ५४ घण्टासम्म सडकमा अलपत्र पर्न थालेको स्वांरको भनाइ छ । यात्रुहरु असुरक्षित र भोकभोकै अलपत्र परेका छन् । काठमाडौंबाट बाहिरिएका यात्रुहरु ३ दिन बित्दासमेत मुग्लिङसम्म निस्कन पाएका छैनन ।

‘यस्तो अवस्थामा लामो समयको लागि अग्रीम बुकिङ टिकट खोल्दा झन भयावह अवस्था आउन सक्थ्यो, हामीले ३–३ दिनको लागि मात्रै अग्रीम बुकिङ टिकट खोल्यौं । यो ३ दिनको अग्रीम टिकट काट्ने व्यवस्था पनि अहिले निक्कै गाहे भएको छ,’ स्वांरले भने, ‘आइतबार बिहानसम्म प्रमुख सडक खण्डमा पहिरो गएको छन् । यसले गर्दा आजको गाडी ४ दिनमा पनि काठमाडौं फर्कने अवस्था नहुँदा यात्रुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन निक्कै कठिन भयो ।’

स्वांरले अब सरकारले पृथ्वी राजमार्गको दीर्घकालिन विकल्पको बारेमा सोच्न आवश्यक रहेको भन्दै उक्त सडक खण्डले अब धान्न सक्ने अवस्था नरहेको जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष सिटौंलाका अनुसार पहिरोका कारण यातायात व्यवसायीको सवारी सञ्चालनसम्बन्धी सेड्युल नै प्रभावित भएको छ । यो वेला यातायात व्यवसायी, चालक, सहचालक र मजदूर, मर्मत सम्भार केन्द्र, होटेल, सडक व्यापारलगायत सबैको व्यापार गुमेको छ ।

वैकल्पिक बाटो झन जोखिमयुक्त

सरकारले पहिरोको जोखिम छलेर पश्चिम र पूर्वी जिल्ला जान चाहने यात्रुहरुको हकमा बैकल्पिक सडक प्रयोग गर्न यातायात व्यवसायी र यात्रुलाई आग्रह गरेको छ ।

‘सरकारले बैकल्पिक रुपमा अघि सारेको सडकहरु पनि सुरक्षित छैनन, त्यो बाटोमा पनि वेला वेलामा स सानादेखि ठूला पहिरो गइरहेका छन, सडक र मोडहरु अत्यन्त साँघुरो भएकाले अहिलेको अग्ला र ठूला बसहरु गुडाउन निक्कै असहज छ,’ सिटौलाले भने,‘त्यसमा पनि बैकल्पिक भनिएको सडक खण्डमा अहिलेका सवारी चालकले गाडी गुडाएर अनुभव प्राप्त गरेका छैनन । अनुभव नै नभएको सडकमा सवारी गुडाउँदा कतिवेला नजानेर जोखिममा परिन्छ भन्ने चुनौती खडा भएको छ । बैकल्पिक बाटोमा ठूलो बस सञ्चालन गर्न निक्कै रिस्क छ ।’

अहिलेसम्म साढे तीन लाख यात्रुले उपत्यका छाडे

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका सबै नाकाहरुबाट शनिबार बिहान ६ बजेदेखि आज (आइतबार) बिहान ६ बजेसम्ममा १८ हजार ९ सय ८१ वटा सवारी साधनमार्फत ८८ हजार ८ सय ९७ यात्रु काठमाडौं उपत्यका छाडेका छन् । महासंघले भने आइतबारसहित कम्तिमा ९ लाख यात्रु बाहिरिएको जनाएको छ ।

यस्तै ६ हजार २ सय ५८ सवारी साधनमार्फत ३४ हजार १ सय ४७ यात्रु उपत्यकामा भित्रिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टामा बाहिरिने सवारी साधन र यात्रु र भित्रिने सवारी साधन र यात्रुको संख्या संकलन गर्दैआएको छ ।

घटस्थापना (असोज ६ गते) देखि आइतबारसम्ममा ६४ हजार ४ सय ७४ सवारी साधनमार्फत ३ लाख ५६ हजार ३ सय ३८ जना यात्रुले उपत्यका छाडेर गृह जिल्ला फर्केका छन् । आइतबार बिहानसम्म ११ स्थानमा सवारी दूर्घटना भएका छन् ।