फ्लाइट प्लान स्वीकृत नहुँदा निगमको ग्वाङ्जाओ उडान स्थगित, २२ यात्रुलाई अर्कै जहाजबाट पठायो

294
Shares


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलोपटक गर्न लागेको चिनियाँ सहर ग्वाङ्जाओको उडान अन्तिम समयमा स्थगति भएको छ ।

निगमले विहीबार राती १० बजे गर्ने गरी तय भएको उडान स्थगित भएको छ । वायुसेवा निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार निगमको फ्लाइट प्लान स्वीकृत नहुँदा उडान स्थगित हुन पुगेको हो ।

साहका अनुसार उडान सयमभन्दा तीन चार घण्टा अगाडि आउनुपर्ने यस्तो फ्लाइट प्लान चिनियाँ नागरिक उड्डयन प्राधिकरणले स्वीकृत नगरेका कारण अन्तिम समयमा आएर उडान स्थगित गर्नुपरेको हो । साहले भने ‘निगमले विहीबार उडान स्थगित गरेकोले ग्वाङ्जाओ जान टिकेट काटेका २२ यात्रुलाई रिरुट गरेर पठाएका छौं

अब औपचारिक उडानमा जाने निगमका प्राविधिक टोलिसहितका उच्च पदस्थ ९ जनाको टोली भने आज उड्ने तयारीमा छ । ‘निगमले आजै १ बजेको लागि तयारी गरेको छ । चिनियाँ नागरिक उड्डयन प्राधिकरणबाट फ्लाइट प्लान स्वीकृत भएर आयो भने उडान हुन्छ’, साहले भने ।

चिनियाँ नागरिक उड्डयन प्राधिकरणले भने अन्डरपोसे भन्दै फ्लाइट प्लान स्वीकत नभएको जानकारी दिएको छ । उसले थप कारण उल्लेख नगरेकोले आजैकै लागि औपचारिक उडानको तयारी भइरहेको पनि निगमले जानकारी दिएको छ ।

निगमले विहीबारबाट काठमाडौं –ग्वाङ्जाओ–काठमाडौं उडान सुरु गर्ने र सातामा तीन वटा गर्ने योजना बनाएको थियो । पहिलो उडान नै रद्द भएपनि व्यवस्थापन मिलाउन निगमलाई दबाब परिरहेको छ ।

निगमले काठमाडौं(ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दुइतर्फी ५० हजार रुपैयाँ तोकिएको छ । निगमको चीन उडान राती १० बजेर १५ मिनेटमा उडान गर्ने र आज बिहान फर्कन गरेको योजना रद्द भयो ।

निगमले पहिलो उडान गरेपछि र दोस्रो १२ गते शनिबारलाई तय गरेको छ । त्यसपछि असोज ३० गते र कात्तिक २ र ६ गते उडाने गर्ने योजना बनाएको छ ।

त्यसपछि भने निगमले हरेक आइतबार, मंगलबार र शनिबार ग्वाङ्जाओ उडान गर्ने गरी तालिका तय भएको पनि निगमले जानकारी दिएको छ ।