
काठमाडौं । बूढानीलकण्ठको एउटा घर, त्यही घरमा भाडाको सानो कोठा। कोठाको एक कुनामा भान्छा, अर्को कुनामा पलङ। पलङसँगै दराज र दराजमाथिको झ्यालमा डेढ वर्ष अगाडि बितेकी श्रीमतीसँगको तस्बिर।
यो कोठा भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन र २४ गते गोली खाएर भर्खर तङ्रिँदै गरेका कुस्मा, पर्वतका ३१ वर्षीय अनिल परियारको हो।
सिलाइकटाइ पेसामा प्रायः व्यस्त रहने अनिललाई भदौ २३ गतेको जेनजी आन्दोलन किन भयो, के कारणले भयो, को हुन् र के हो जेनजी भन्नेबारे कुनै जानकारी थिएन। तर आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएका साना विद्यार्थी भाइप्रति लागेको माया र त्यो क्रूरताबाट आएको रिसले २४ गतेको आन्दोलनमा सहभागी हुने निर्णय गरे।
आफूसँग टाढा आन्दोलन जान सवारी साधन नभएकाले नजिकैको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरअगाडि बढेको एक समूहमा उनी पनि सहभागी भए। आन्दोलनका क्रममा गोली चल्यो। गोली अनिलको देब्रे कोखा हुँदै पछाडिबाट बाहिर निस्कियो र उनी अचेत भए।

डेढ वर्षअघि श्रीमती गुमाएका अनिल मजदुरी गर्दै कोठा भाडा तिर्थे र आफ्ना नौ वर्षीय छोरालाई पढाइ-लेखाइ गरी हुर्काइरहेका थिए। अहिले भने आफैं घाइते भएपछि दैनिक घर चलाउनसम्म कठिन भएको छ।
२४ गते करिब साँझ ६ बजेतिर गोली लागेका उनी होसमा आउँदा शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टको आईसीयुमा थिए। तर २५ गते बिहान करिब ३ बजे उनी होसमा आउँदाखेरि भने मृत्यु भएको खबर पहिले नै फैलिएको रहेछ।
भाउजू सङ्गीता परियारलगायत आफन्त अस्पताल पुगेपछि कर्मचारीले ‘तपाईँको मान्छे हिजो साँझ अपरेसनकै क्रममा बितिसकेका छन्, शव बुझ्न १० बजेपछि आउनु’ भन्ने जानकारी दिएको सङ्गीताले सुनाइन्।
निराश हुँदै घर फर्किएका उनीहरूलाई २५ गते बिहान ८:३० बजे अस्पतालको एक नर्ससँग फोन मागेर अनिल आफैंले फोन गरे र आफूलाई भर्खर आईसीयुबाट वार्डमा सारिएको तथा अहिले अवस्था ठीक भएको खबर दिए।
चार दिनको बसाइपछि उनी भदौ २९ गते डिस्चार्ज भए।

‘गोलीले मुटुमा समेत असर गरेपछि ओपन-हार्ट सर्जरी गरी आईसीयुमा राखिएको थियो। हस्पिटल ल्याउन केही ढिला भएको भए आज यो अवस्था नआउन पनि सक्थ्यो,’ डाक्टर अनिल भट्टराईले भने, ‘हामीलाई ल्याउँदा अवस्था निकै क्रिटिकल थियो। गोलीका छर्राले मुटुमा समेत असर गरेकोले ढिला भएको भए भाइको मृत्यु हुन सक्थ्यो।’
भाउजू सङ्गीताको हेरचाहमा अहिले अनिलको स्वास्थ्य सुधार हुँदै गएको छ। तर गोलीका छर्रा अझै शरीरमै बाँकी छन्, जुन आजीवन रहनेछ। काम गरेर जीविकोपार्जन गर्ने उनी अहिले छोराको पढाइ, पालनपोषण र घर खर्चबारे चिन्तित छन्।
नेपालमा अहिले अन्तरिम सरकारले कामकारबाही अघि बढाएको छ। जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि आयोग समेत गठन भइसकेको छ। आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्नेदेखि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ। तर अनिल परियारजस्ता गोली खाएर घाइते भएकाका लागि भने कुनै ठोस निर्णय भएको छैन।
उचित सहयोग नपाएका कारण घाइतेहरूले असोज ५ गते सिंहदरबार परिसरमा धर्नासमेत दिएका थिए।
‘आफू जेनजी पनि होइन, सरकार पक्ष पनि होइन। तर निर्दोष विद्यार्थीको गोली हानी गरिएको हत्या, देशमा भएको भ्रष्टाचार, जसका कारण नेपालीहरू विदेशिनु परेको अवस्था—यी सबैले मलाई पिरोलेको छ। अब नयाँ नेपाल, परिवर्तन र सहज तरिकाले यही देशमै बस्ने र काम गर्ने अवस्था आओस्,’ अनिल चाहन्छन्।
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी








प्रतिक्रिया