
काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ललितपुर प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सोमबारसम्म पक्राउ परेका १३ जनामाथि अनुसन्धान अगाडि बढाइएको छ ।
भदौ २३ गते जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि गोली चल्दा १९ जनाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट देशभरि भएको आन्दोलनमा सरकारी भवन, प्रहरीले कार्यालय, व्यवसायिक भवन र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
ललितपुरमा विभिन्न स्थानमा तोडफोड, लुटपाट र हतियार चोरीमा संलग्न भएकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ललितपुर–११ मा रहेको एक घरमा पसेर पाँच लाख ७६ हजार ४०० रुपैयाँ बराबरका सामान लुटपाट गरी आगजनी गर्ने चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका ती व्यक्तिहरू भारतीय नागरिक १८ वर्षीय सेराज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराका २१ वर्षीय साहाजात मिया र काभ्रेका २५ वर्षीय फुर्साङ लामा भएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको हतियारसहित गोदावरी ठैबका २४ वर्षीय दिपक राई पक्राउ परेका छन्। उनको साथबाट दुई वटा पेस्तोल र केही गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरी प्रभाग इमाडोलमा तोडफोड र आगजनी गर्ने ६ जनालाई पक्राउ गरिएको छ । तीन जना लुभुबाट र तीन जना इमाडोलबाट पक्राउ परेका हुन् । पक्राउ परेकामा २० वर्षीय राजकुमार तामाङ, २२ वर्षीय गोकर्ण राई, २० वर्षीय कृष्णराज गिरी, ३१ वर्षीय सुनिलकुमार बस्नेत, २२ वर्षीय सरोज नेपाली र २१ वर्षीय नरेश तामाङ छन्। उनीहरूको साथबाट प्रहरीको बुट, तिलहरी, झुम्का, मंगलसुत्र लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी प्रभाग हनुमानस्थान कुपण्डोलमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सानेपाकी २४ वर्षीय सृष्टि तामाङ र कुपण्डोलका २४ वर्षीय धिरेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया