
काठमाडौं । देशभर सञ्चालनमा रहेका २३ महत्वपूर्ण सडक आयोजनाअन्तर्गत दुई हजार २ सय ७२ किलोमिटर खण्डमा कालोपत्रे गर्न ठेक्का लाग्न बाँकी छ ।
सडक विभागका अनुसार राष्ट्रिय गौरवका आयोजना, कर्णाली कोरिडर, उत्तर दक्षिण कालिगण्डकी कोरिडर, रुपान्तरणकारी आयोजना, पूर्व पश्चिम राजमार्गसहित अन्य महत्वपूर्ण सडकतर्फ गरी २ हजार २ सय ७२ किलोमिटर खण्डमा कालोपत्रे गर्न ठेक्का लाग्न बाँकी छ ।
यस्ता २३ वटा आयोजनामा १०९.५ किलोमिटर खण्डमा ट्रयाक खोल्न, ५५४ किलोमिटर खण्डमा ग्राभेल सडक निर्माण गर्न र २९९ वटा पुल निर्माण गर्न पनि ठेक्का आह्वान गर्न बाँकी छ ।
सडक विभागका उपमहानिर्देशक प्रभात झाका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा देशभर १९ हजार ४ सय ५५ किलोमिटर खण्डमा दुई लेनको कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । यस्तै ५ सय ८७ किलोमिटर खण्डमा चार लेन वा चार लेनभन्दा बढीको कालोपत्र सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा भने कालोपत्रे दुई लेनको सडकलाई २० हजार २ सय ५५ किलोमिटर कालोपत्रेमा पुर्याउने विभागको लक्ष्य छ । यस्तै आगामी आर्थिक वर्षमा चार लेन वा चार लेनभन्दा बढी भएको कालोपत्रे सडक ६ सय ९६ किलोमिटरमा पुर्याउने लक्ष्य तोकिएको छ ।
यस्तै हाल रहेको ३ हजार ५ सय ३७ पुललाई बृद्धि गरी आगामी आर्थिक वर्षसम्ममा ३ हजार ६ सय ९९ वटा पुल निर्माण हुनेछ ।
राष्ट्रिय गौरबतर्फ कति सडक ठेक्का लाग्न बाँकी ?
विभागका अनुसार राष्ट्रिय गौरबका आयोजनातर्फ केहि आयोजनाको सडक र पुल निर्माण गर्न ठेक्का गर्न बाँकी छ ।
जसअनुसार आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएको मध्यपहाडी राजमार्गअन्तर्गत १०७ किलोमिटर खण्डमा कालोपत्रे गर्न ठेक्का गर्न बाँकी छ । यस्तै १६ वटा पुल निर्माण गर्न बाँकी छ ।
कूल १ हजार ८ सय ७९ किलोमिटर दूरी भएको यो सडकमा गत आर्थिक वर्षसम्म १ हजार ५ सय १० किलोमिटरमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । यस्तै २ सय ६१ किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ । यस्तै १३७ पुलमध्ये १११ वटा पुल निर्माण भएको छ भने बाढी पहिरोले बगाएकोसहित १६ वटा पुल निर्माण गर्न बाँकी छ ।
८४ अर्ब ३३ करोड लागत रहेको मध्यपहाडी राजमार्गले हालसम्म ७१ अर्ब १० करोड खर्च गरी ७७.३२ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । चालु आवमा ७५ किलोमिटर खण्डमा कालोपत्रे र ६ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यस्तै आर्थिक वर्ष २०६६/६७ देखि सुरु भएको हुलाकी राजमार्गअन्तर्गत २ सय २८ किलोमिटर खण्डमा कालोपत्रे गर्न ठेक्का लाग्न बाँकी छ । पुलतर्फ ३०० मध्ये १५१ वटा निर्माण भएको छ भने ५९ वटा निर्माणाधिन अवस्थामा छन् । ८९ वटा पुलको निर्माण गर्न ठेक्का लाग्न बाँकी छ ।
१ खर्ब १ खर्ब ६३ करोड लागत रहेको यो आयोजनाले हालसम्म ७० अर्ब २९ करोड रुपैयाँ खर्चेर ७२.७५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । हालसम्म यो आयोजनाअन्तर्गत १ हजार ८ सय ५७ किलोमिटरमध्ये गत आर्थिक वर्षसम्मा १ हजार ३ सय ५१ किलोमिटर खण्डमा कालोपत्रे ओछ्याइसकेको छ ।
यस्तै २ सय ४४ किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ भने ३०० पुलमध्ये १५१ पुलको निर्माण भएको छ भने ५९ वटा पुल निर्माणाधिन अवस्थामा छ । विभागका अनुसार अब ८९ पुलको ठेक्का लाग्न बाँकी छ । चालु आर्थिक वर्षमा ७६ किलोमिटर खण्डमा कालोपत्रे र १३ वटा थप पुलको निर्माण गर्ने लक्ष्य राखिएको छ ।

विभिन्न कोरिडरतर्फ कति ठेक्का लाग्न बाँकी ?
उपमहानिर्देशक झाका अनुसार देशभर रहेका विभिन्न कोरिडर अन्तर्गत पनि सयौं किलोमिटर खण्डमा ट्रयाक खोल्ने, ग्राभेल गर्ने, कालोपत्रे गर्ने र पुल निर्माण गर्न ठेक्का आह्वान गर्न बाँकी छ ।
जसअनुसार आर्थिक वर्ष २०६५/६६ मा सुरु भएको उत्तर–दक्षिण कोशी कोरिडर आयोजनातर्फ १ सय ११ किलोमिटर खण्डमा कालोपत्रे गर्न र ११ वटा पुल निर्माण गर्न ठेक्का लाग्न बाँकी छ । १६ अर्ब २ करोड बजेट भएको यो आयोजनाले हालसम्म ६ अर्ब ६८ करोड रुपैयाँ खर्चेर ४५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
कूल १६२ किलोमिटरमा ट्रयाक खोलेर गत आर्थिक वर्षसम्ममा १५ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने ३६ किलोमिटरमा कालोपत्रे भइरहेको छ । यस्तै २४ पुलमध्ये १० वटाको निर्माण सम्पन्न र १ वटा निर्माणाधिन अवस्थामा छन् । चालु आवमा १० किलोमिटर खण्डमा कालोपत्रे र ५ वटा पुल निर्माण गर्ने लक्ष्य तोकिएको छ ।
यस्तै उत्तर–दक्षिण कालिगण्डकी कोरिडर आयोजनातर्फ गैडाकोट–राम्दी–मालढुङगा आयोजनातर्फ ५.५ किलोमिटर खण्डमा कालोपत्रे गर्न र १७ वटा पुलका निर्माण गर्न ठेक्का गर्न बाँकी छ ।
ट्रयाक खुलेको २९३ किलोमिटरमध्ये २३४ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । यसवाहेक ५३.५ किलोमिटर खण्डमा थप कालोपत्रे भइरहेको छ । यो आयोजनाअन्तर्गत ५९ पुलमध्ये ३६ वटाको निर्माण सम्पन्न भएको छ भने ६ वटा निर्माणाधिन अवस्थामा छन् ।
यो आयोजनाको कूल बजेट २० अर्ब छ । हालसम्म यो आयोजनाले ७९.८६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
उत्तर–दक्षिण कालिगण्डकी कोरिडर आयोजनातर्फ कै १५ अर्ब बजेट भएको मालढुङगा–बेनी–जोमसोम–कोरला आयोजनाले २२ किलोमिटर खण्डमा कालोपत्रे गर्न र ५ वटा पुल निर्माण गर्न ठेक्का आह्वान गर्न बाँकी छ ।

यो आयोजनाअन्तर्गत हालसम्म २०२ किलोमिटर खण्डमा ट्रयाक खोलेर ८७ किलोमिटर खण्डमा ग्राभेल र ११५ किलोमिटरमध्ये ८१ किलोमिटरमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
यस्तै १२ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ भने २६ पुलमध्ये १५ पुलको निर्माण भएको छ भने ६ वटा पुल निर्माणाधिन अवस्थामा पुगेका छन् । चालु आर्थिक वर्षमा ३५ किलोमिटर खण्डमा कालोपत्रे गर्ने लक्ष्य राखिएको छ ।
यस्तै दक्षिण–कर्णाली कोरिडर आयोजनातर्फको १५ अर्ब रुपैयाँ बजेट भएको कर्णाली कोरिडर दक्षिण खण्डतर्फ ७३ किलोमिटर कालोपत्रे र ७ पुल निर्माण गर्न ठेक्का आह्वान गर्न बाँकी छ ।
हालसम्म १२३ किलोमिटरमध्ये ३५ किलोमिटरमा ग्राभेल सम्पन्न भएको, २५ किलोमिटरमा ग्राभेल भइरहेको र ५० किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । १५ पुलमध्ये ८ पुलको निर्माण भइरहेको छ । चालु आर्थिक आर्थिक वर्षमा ३० किलोमिटर सडक चौडा पार्ने लक्ष्य राखिएको छ ।
यस्तै १५ अर्ब बजेट भएको कर्णाली कोरिडर उत्तर खण्डतर्फ २२ किलोमिटर ग्राभेल, १४६ किलोमिटर कालोपत्रे र ३ पुल निर्माण गर्न ठेक्का लगाउन बाँकी छ ।
१४६ किलोमिटर दूरीको यो सडकमा हालसम्म १४५.८ किलोमिटरमा ट्रयाक निर्माण भएको छ भने ३८ किलोमिटर खण्डमा ग्राभेल गर्ने काम सम्पन्न भएको छ ।
यस्तै ८६ किलोमिटरमा ग्रामेल गर्ने काम भइरहेको छ भने १४६ पुलमध्ये ३ पुलको निर्माण सम्पन्न भएको छ । ४ वटा पुल निर्माणाधिन अवस्थामा छन् । चालु आर्थिक वर्षमा १० किलोमिटरमा ट्रयाक खोल्ने, १५ किलोमिटरमा ग्राभेल निर्माण गर्ने र २ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।
विभागकाअनुसार महाकाली कोरिडर सडक आयोजनातर्फ पनि केहि सडक खण्डहरु ठेक्का लाग्न बाँकी छ ।
जसअनुसार १८ अर्ब १६ करोड रुपैयाँ लगानीको महाकाली कोरिडर सडक योजनातर्फ ३३४ किलोमिटर खण्डमध्ये २९७.५ किलोमिटर र ३३ पुल निर्माण गर्न ठेक्का लाग्न बाँकी छ ।
गत आर्थिक वर्षसम्म २८४ किलोमिटरमा ट्रयाक खोल्ने र ५० किलोमिटरमा ट्रयाक निर्माण गर्ने काम सम्पन्न भएको छ । त्यसैगरी ४ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ भने ३२.५ किलोमिटरमा कालोपत्रे भइहेको छ । यस्तै ३५ पुलमध्ये १ को निर्माण सम्पन्न र १ को निर्माण भइरहेको छ ।
६ अर्ब ९६ करोड बजेट भएको १२१ किलोमिटर दूरीको तमोर कोरिडर अन्तर्गत ग्राभेलतर्फ ५.३२ किलोमिटर, कालोपत्रेतर्फ ५८ किलोमिटर र पुलतर्फ २१ वटा निर्माण गर्न ठेक्का आह्वान गर्न बाँकी छ ।
यो कोरिडरतर्फ ३३ किलोमिटरमा ग्राभेल निर्माण भएको छ भने ५.५५ किलोमिटरमा ग्राभेल निर्माण भइरहेको छ । यस्तै ४८ किलोमिटरमा कालोपत्रे सम्पन्न भएर ६८ किलोमिटरमा कालोपत्रे भइरहेको छ । ४० पुलमध्ये ५ पुलको निर्माण सम्पन्न र १४ पुलको निर्माण भइरहेको छ ।
यस्तै १४ अर्ब लगानी रहेको भेरी कोरिडर अन्तर्गत हालसम्म २१७ किलोमिटरमध्ये १९२ किलोमिटरमा ट्रयाक खोलि सकिएको छ । २५ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम भइरहेको छ । यस्तै २ लेनको २१७ किलोमिटर सडकमध्ये ४८ किलोमिटरमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने ८ किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ । विभागका अनुसार यो कोरिडनमा १५ पुलमध्ये २ वटाको निर्माण सम्पन्न भएको छ भने ५ वटा निर्माणधिन अवस्थामा छन् ।
यो कोरिडरमा १६१ किलोमिटरमा कालोपत्रे र ८ पुल निर्माणको लागि ठेक्का गर्न बाँकी छ । चालु आवमा थप ६ किलोमिटर खण्डमा कालोपत्रे, १० किलोमिटरमा ग्राभेल र ३ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ ।
यसैगरी १० अर्ब बजेट भएको डुम्रे–बेसीशहर–चामे–मनाङअन्तर्गत १०३.५ किलोमिटरमध्ये १७ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ । ९ किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ । यस्तै १५ पुलमध्ये १ पुल निर्माण सम्पन्न, १ पुल निर्माणाधिन छ भने ७९.५ किलोमिटर सडक र १३ पुल निर्माण गर्न ठेक्का आह्वान भएको छैन ।

यस्तो छ, रुपान्तरकारी आयोजनाको अवस्था
विभागका अनुसार रुपान्तरणकारी आयोजनातर्फ चीन सरकारको अनुदान वाहेक १५ अर्ब ५० करोड बजेट भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी आयोजना अन्तर्गत १९ किलोमिटरका कालोपत्रे र ८ पुल निर्माण गर्न ठेक्का लागेको छैन्।
८२ किलोमिटरमध्ये हालसम्म ३८.५ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको भने २४.५ किलोमिटरमा कालोपत्रे गर्ने काम सुचारु छ । यस्तै ३२ पुलमध्ये २१ वटा पुलको निर्माण सकेर ३ वटा पुल निर्माणको क्रममा छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्गतर्फ ३२ अर्ब ३० करोड लगानीको कमला–ढल्केवर–पथलैया सडक योजनातर्फ ५३ किलोमिटर सडक र २ पुल निर्माण गर्न ठेक्का लाग्न बाँकी छ ।
१३० किलोमिटर दूरीको यो आयोजनातर्फ ७५ किलोमिटर खण्डमा ४ लेनको कालोपत्रे निर्माण भइरहेको छ । यस्तै ६० पुलमध्ये ५८ वटा निर्माणाधिन अवस्थामा छ ।
चालु आर्थिक वर्षमा ६४० मिटरको कमला पुल, ३५३ मिटरको बागमति पुल र ५३ किलोमिटरको बागमती–पथलैया सडकको ठेक्का आह्वान गर्ने प्रक्रिया सुरु भएको विभागका उपमहानिर्देक झाले जानकारी दिए ।
यस्तै १८ अर्ब बजेट भएको ६९ किलोमिटरको बुटबल–गोरुसिङगे–चनौटा सडक अन्तर्गत १९ किलोमिटर खण्डको ठेक्का लाग्न बाँकी छ । अहिले ५० किलोमिटर खण्डको सम्झौता भएर कालोपत्रे काम भइरहेको छ ।

अन्य महत्वपूर्ण सडकतर्फ कति ठेक्का लाग्न बाँकी ?
विभागका अनुसार ७५ अर्ब लागतको ९५९ किलोमिटर दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत अझै ३६८ किलोमिटर खण्ड र ३३ पुल निर्माण गर्न ठेक्का लाग्न बाँकी छ ।
गत आर्थिक वर्षसम्म ३७६ किलोमिटरमा कालोपत्रे निर्माण र १९८ मध्ये १४४ पुलको निर्माण सम्पन्न भएको छ । यस्तै २१५ किलोमिटरमा कालोपत्रे र २१ पुलको निर्माण गर्ने काम भइरहेको छ । चालु आवमा ३० किलोमिटरमा कालोपत्रे र २ वटा पुल निर्माण गर्ने लक्ष्य तोकिएको छ ।
यस्तै २२ अर्ब ८६ करोड लागत रहेको मुग्लिङ–पोखरा सडक योजनातर्फ ८.२५ किलोमिटर खण्डको ठेक्का लगाउन बाँकी छ । ८८.५८ किलोमिटर भएका यो सडक खण्ड ४ लेनको छ ।
यसमध्ये हालसम्म ६६.५७ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ भने १३.७६ किलोमिटरमा कालोपत्रे भइरहेको छ । यस्तै ३१ पुलमध्ये २८ पुलको निर्माण सम्पन्न भएको छ भने ३ वटा निर्माणको क्रममा छ ।
ठेक्का व्यवस्थापन भएको ८०.३३ किलोमिटरमध्ये ६६.५७ किलोमिटरमा ४ लेन कालोपत्रे सम्पन्न भएको छ भने बाँकी १०.३ किलोमिटर खण्डमा एकतर्फी २ लेनको कालोपत्रे सम्पन्न भएको छ । चालु आवमा १५ किलोमिटरमा चारलेन र ३ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।
यस्तै ४ अर्ब लगानी भएको १०१ किलोमिटर दूरीको सगरमाथा राजमार्ग योजनाअन्तर्गत ७ किलोमिटर सडकमा कालोपत्रे र ३ वटा पुल निर्माण गर्न ठेक्का लाग्न बाँकी छ ।
हालसम्म ३१ किलोमिटर खण्डमा कालोपत्रे भएको छ भने ६३ किलोमिटरमा कालोपत्रे गर्ने काम सुरु भएको छ । यस्तै ६ पुलमध्ये ३ पुलको निर्माण सम्पन्न भएको छ ।
यसैगरी १० अर्ब लगानी रहेको ७२ किलोमिटर दूरकिो मिर्चैया–कटारी–घुर्मि सडक योजना अन्तर्गत ६३ किलोमिटरमा कालोपत्रे र १ पुल निर्माण गर्न ठेक्का लागेको छैन ।
हालसम्म ७ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भएको छ भने २ किलोमिटरमा कालोपत्रे भइरहेको छ । यस्तै १२ पुलमध्ये ७ पुलको निर्माण सम्पन्न र ४ पुल निर्माण भइरहेको छ ।
विभागका अनुसार १ अर्ब ५३ करोड बजेट भएको गोरखा सडकअन्तर्गत १२ किलोमिटर सडकको ठेक्का लाग्न बाँकी छ । ४७ किलोमिटरमध्ये हालसम्म २८ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ भने ७ किलोमिटरमा कालोपत्रे गर्ने काम भइरहेको छ । यस्तै ११ पुल निर्माण भएको छ ।
त्यस्तै २९ अर्ब २३ करोड लगानी रहेको ३५९ किलोमिटर सडकमध्ये २२४.५ किलोमिटरमा ट्रयाक खुलेको छ । १०५ किलोमिटर खण्डमा ट्रयाक निर्माणाधिन छ । यस्तै २२ किलोमिटर खण्डमा कालोपत्रे गर्ने सम्पन्न भएको छ भने २४.३ किलोमिटरमा कालोपत्रे भइरहेको छ । ३० पुलमध्ये ८ वटाको निर्माण सम्पनन भएको छ भने २ वटा निर्माणाधिन अवस्थामा छन् ।
यो सडकअन्तर्गत १०९.५ किलोमिटर खण्डमा ट्रयाक खोल्न, ३११.७ किलोमिटरमा कालोपत्रे गर्न र २० वटा पुल निर्माण गर्न ठेक्का लागेको छैन् ।

विभागका अनुसार ९ अर्ब ११ करोड लगानी रहेको १८६ किलोमिटर दूरीको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक खण्डमा पनि ९९ किलोमिटर खण्डमा कालोपत्रे र ९ पुलको निर्माण गर्न ठेक्का लाग्न बाँकी छ ।
यो सडक खण्डमा २ लेनको ३८ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने ४९ किलोमिटर खण्डमा कालोपत्रे भइरहेको छ । १६ पुलमध्ये १ पुल सम्पन्न भएको छ भने ६ पुलको निर्माण भइरहेको छ ।
यस्तै व्यापारिक मार्ग विस्तार आयोजनातर्फ बेलहिया–बुटबल सडक योजनातर्फ ४ लेनको कालोपत्रे गर्न १९.५ किलोमिटरको ठेक्का गर्न बाँकी छ भने रानी–बिराटनगर–इटहरी–धरान सडकतर्फ ५ किलोमिटरको ठेक्का गर्न बाँकी छ ।
विभागका अनुसार ९ अर्ब ११ करोड लगानी रहेको १८६ किलोमिटर दूरीको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक खण्डमा पनि ९९ किलोमिटर खण्डमा कालोपत्रे र ९ पुलको निर्माण गर्न ठेक्का लाग्न बाँकी छ ।
यो सडक खण्डमा २ लेनको ३८ किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ भने ४९ किलोमिटर खण्डमा कालोपत्रे भइरहेको छ । १६ पुलमध्ये १ पुल सम्पन्न भएको छ भने ६ पुलको निर्माण भइरहेको छ ।
यस्तै व्यापारिक मार्ग विस्तार आयोजनातर्फ बेलहिया–बुटबल सडक योजनातर्फ ४ लेनको कालोपत्रे गर्न १९.५ किलोमिटरको ठेक्का गर्न बाँकी छ भने रानी–बिराटनगर–इटहरी–धरान सडकतर्फ ५ किलोमिटरको ठेक्का गर्न बाँकी छ ।







प्रतिक्रिया