ओली सैनिक ब्यारेकबाट बाहिरिए, कहाँ बस्छन् ?

1.2k
Shares

फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएर भदौ २४ गतेदेखि शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा राखिएको थियो ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली बिहीबार सैनिक सुरक्षाबाट बाहिर निस्किएर भक्तपुरको गुन्डु सरेका छन् । उनी त्यहाँ भाडाको घरमा बस्न थालेका छन् ।

ओली निकट नेताहरुका अनुसार बालकोटस्थित उनको निजी निवास जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीपछि पूर्णरूपमा ध्वस्त भएकोले नयाँ वासस्थान खोजिएको हो । ओलीलाई गुन्डुमा बस्न ल्याउने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । ओलीलाई भव्य कार्यक्रममार्फत सार्वजनिक गर्ने उनको तयारी छ ।

तर एमालेले भने यसबारे औपचारिक जानकारी दिएको छैन । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ओली कहाँ बस्छन् भन्नेबारे पार्टीमा जानकारी नभएको बताएका छन् ।

जेनजी आन्दोलनको हिंसात्मक घटनापछि ओलीले पद छाडेका थिए भने सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा ओली सेनाको सुरक्षाबाट बाहिर आएका हुन् ।