जेनजी आन्दोलनको आगजनीपछि एनसेलले भन्यो- हामी फेरि तपाईंहरु सँगै उठ्ने छौं

168
Shares

काठमाडौं । गत हप्ताको तोडफोडका घटनाले काठमाडौंस्थित एनसेल आइकमको मुख्य कार्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको एनसेलले जनाएको छ। कम्पनीले आइतबार विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा समेत गम्भीर जोखिम उत्पन्न भएको जनाएको छ।

यी चुनौतीहरूको बाबजुद पनि दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्ने आफ्नो उद्देश्यप्रति कम्पनी अडिग रहेको एनसेलले जनाएको छ। संकटको समयमा सहज सेवा उपलब्ध गराउन तीन दिनसम्म स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

२० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा दिँदै आएको कम्पनीले ग्राहकप्रतिको अटुट समर्पणलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ। साथै, अन्तरिम सरकार गठनपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै एनसेलले युवा नेतृत्वको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपाललाई रुपान्तरण गर्न, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्‍याउँदै आएको कम्पनीले डिजिटल नेपाल निर्माणको भिजनमा आफ्नो प्रतिवद्धता दोहोर्‍याएको छ।

अन्त्यमा, कम्पनीले अन्दोलका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ।