निजी क्षेत्रलाई गभर्नरको सन्देश: क्षतिको अध्ययन भइरहेको छ, पुनरुत्थानमा सहजीकरण गर्छौं

504
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएको आर्थिक क्षतिको पुनरुत्थानका लागि छलफल सुरू गरेको छ।

विशेषगरी अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको पुनरुत्थान कसरी गर्ने भन्ने विषयमा गभर्नर डा. विश्वनाथ पौडेलले छलफल सुरू गरेका हुन् ।

गत शुक्रबार गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा क्षति व्यहोरेका व्यवसायीहरुलाई कसरी पुनःस्थापना गर्ने भन्ने विषयमा छलफल भएको बैंकर र व्यवसायीहरूले बताएका छन् ।

गभर्नर पौडेलले व्यवसायी र बैंकर्ससँग क्षतिको मूल्यांकन र विश्लेषण गरी केन्द्रीय बैंकले कस्तो नीतिगत सहजीकरण गर्नुपर्छ भनेर छलफल गर्न बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेल र बैंक सुपरिवेक्षण विभाग प्रमुख दीर्घ बहादुर रावललाई सम्पर्क व्यक्तिको रुपमा सिफारिस समेत गरेका छन् ।

निजी क्षेत्रले केन्द्रीय बैंकले नीतिगत सहजीकरणमार्फत निजी क्षेत्रको पुनरुत्थानमा सहयोग गर्नुपर्ने बताएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।

‘गभर्नरले कस्तो क्षति भएको छ त्यसको विश्लेषण गर्ने र कस्तो नीतिगत सहजीकरण गर्ने भन्ने विषयमा छलफल गर्नुभएको थियो,’ उनले भने, ‘केन्द्रीय बैंक व्यवसायीलाई उठाउन आवश्यक सहजीकरण गर्न तयार छ भन्ने सन्देश दिनुभएको छ।’

आवश्यकताका आधारमा सफ्ट लोनको समेत व्यवस्था गर्नुपर्ने व्यवसायीहरूले बताएको अध्यक्ष अग्रवालले बताए ।

बैंकरहरूले पनि गभर्नरसँगको छलफलमा निजी क्षेत्रको सहजीकरणका लागि तयार रहेको बताएका थिए । अर्थतन्त्र चलायमान बनाउँदै क्षति व्यहोरेका निजी क्षेत्रलाई कसरी पुनरुत्थान गर्ने भन्ने विषयमा छलफल भएको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

पहिलो त राष्ट्र बैंकले निजी क्षेत्र र बैंकिङमा के–कस्तो क्षति भएको छ भन्ने विवरण पठाउन र आवश्यक छलफलपछि पुनरुत्थानका लागि कस्तो नीतिगत सहजीकरण गर्ने भन्ने विषयमा थप छलफल गर्ने बताएको हो ।

बैंकरले समस्यामा परेको निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न बैंकिङ क्षेत्र तयार रहेको बताएको छ ।

राष्ट्र बैंकले अध्ययन गर्दैछौं र बैंकिङ क्षेत्रले पनि निजी क्षेत्रमा के कस्तो क्षति पुगेको छ र कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा सुझाव पेश गर्न भनेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।

समस्यामा परेको व्यवसायीलाई बैंकिङ क्षेत्रले सहयोग गर्नुपर्ने र बैंकहरूले त्यसमा सहयोग गर्ने बताएको उनले बताए । कस्तो प्याकेज ल्याउने सन्दर्भमा पहिलो कस्तो र कति क्षति भयो भनेर अध्ययन गर्नुपर्ने गभर्नरको भनाइ रहेको उनले बताए ।

यसैबीच नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहरण गर्दै क्षति बेहोरेका व्यवसायीलाई सरकारले सहयोग गर्ने बताइन् ।

उनले व्यवसायीलाई ‘जसरी उभिन्छौं उभिउ’ भन्न नमिल्ने बताइन् ।

सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग सरकारले गर्ने उनले बताइन् ।

‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पत्तिदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पत्ति जलाउने काम भयो,’ प्रधानमन्त्री कार्कीले भनिन्,’ उनीहरुलाई हामीले जसरी उभिन्छौं, उभिउ भन्न मिल्दैन ।’

क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा उनले प्रशंसा गरिन्।

‘व्यक्तिको सम्पत्तिको क्षति भएर कतिपय व्यायापारी त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,’ उनले भनिन्, ‘कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । सानासाना व्यापारीहरु पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापारीहरुले धेरै नोक्सानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’