
काठमाडौं । नेपालमा मास ट्रान्सपोर्टेसनको भरपर्दो सुविधा उपलब्ध नहुँदा त्यसको प्रत्यक्ष प्रभाव बजार र सडकमा परेका छन् ।
घरबाट कार्यस्थलसम्म तथा कार्यस्थलबाट घरसम्म सुरक्षित र निर्धारित समयमा पुग्न सक्ने गरी नेपालमा हालसम्म ‘मास ट्रान्सपोर्टेसन’ सवारी साधनको सुविधा कार्यान्वयनमा नल्याइँदा सडक र बजारमा सबैभन्दा बढी दुई पाङग्रे सवारी साधनले अधिपत्य जमाएको छ ।
सडक र बजारमा अधिपत्य मात्रै होइन, अत्यधिक सडक जामको एउटा प्रमुख कारण पनि मोटरसाइकललाई पनि लिइएको छ । सडकमा मोटरसाइकलकै अग्रता अत्यधिक भएपछि सवारी दुघर्टनाको घटनामा पनि सबैभन्दा बढी यहि सवारी साधनको सहभागिता पनि रहेको पाइएको छ ।
मास ट्रान्सपोर्टेसनको असुविधा कारण नेपालमा झण्डै ५० लाखको संख्यामा मोटरसाइकल गुडिरहेका छन् । यो संख्या भनेको देशभर गुडिरहेका सबै प्रकारका सवारी साधनमध्ये ८१.१ प्रतिशत मोटरसाइकल मात्रै हो ।
यातायात तथा पूर्वाधान विज्ञ आशिष गजुरेलका अनुसार पहिले मोटरसाइकललाई लग्जरी सवारी साधन मानिए पनि अहिलेको व्यस्त जनजीवनमा यो अत्यावश्यक सवारी साधन भइसकेको छ । यसले गर्दा यसको संख्या बढ्दै गएको हो ।
‘घरबाट कार्यास्थल र कार्यस्थलबाट घर ओहोरदोहोर गर्न हामी कहाँ सार्वजनिक मास ट्रान्सपोर्टेसनमा जाने र व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा राज्यले ध्यान नै पुर्याउन सकेन,’ गजुरेलले भने, ‘काम गर्ने लक्षित समूहलाई निर्धारित समयमा गन्तव्यसम्म पुग्न कुनै भरपर्दो सवारी साधनको विकल्प नहुँदा मोटरसाइकलको संख्या अत्यधिक बढेको हो । अब यो सवारी अत्यावश्यक भइसकेको छ ।’
उनका अनुसार दुर्गम क्षेत्रमा जहाँ बाटोघाटो राम्रो सुविधा पुगेको छैन, त्यस्ता स्थानका बासिन्दाहरुको लागि बजारमा किनमेल गर्ने र ओहोरदोहोर गर्ने विकल्पको रुपमा मोटरसाइकल मात्रै भएकाले यसको संख्या पछिल्लो समयमा बढ्दै गएको उनको ठहर छ ।
‘नेपालमा भरपर्दो सार्वजनिक सवारी साधनको अभावमा तत्कालै र कम समयमा आफूलाई ओहोरदोहोर गर्न सकिने वैकल्पिक अत्यावश्यक सवारी साधनको रुपमा मोटरसाइकल सर्वसाधारणको रोजाइमा परेकाले यसको संख्या अझै बढ्दै गएको छ,’ गजुरेलले भने ।
यातायात व्यवस्था विभागले सार्वजनिक गरेको २०८१/८२ को वार्षिक तथ्यांकअनुसार देशभर ४७ लाख ४४ हजार ७२ वटा मोटरसाइकल गुडिरहेका छन् । जबकि देशभर सबै प्रकारका सवारी साधनको संख्या जम्मा ५८ लाख ५० हजार ४ सय ३२ छ ।
२०४६/४७ मा भएको पञ्चायत शासनविरुद्धको जनआन्दोलनको समयमा देशभर मोटरसाइकलको संख्या ३४ हजार ५ सय ७६ थियो भने सार्वजनिक ठूला बसको संख्या ३ हजार ९ सय ७८ मात्रै थियो । यस्तै त्यो बेला मिनिबस र ट्रकको संख्या २ हजार ६४ थियो । तत्कालीन समयमा पनि सार्वजनिक सवारी साधनको संख्याभन्दा झण्डै ९५ प्रतिशतभन्दा बढी मोटरसाइकलको संख्या थियो ।
नेपालमा पछिल्लो समयमा ‘राइड सेयरिङ’ सेवाका कारण पनि मोटरसाइकलको संख्या अत्यधिक परिमाणमा बढेको हो । नेपालमा आर्थिक वर्ष २०७२/७३ देखि राइड सेयरिङ सेवा सुरु भएको थियो । यो सेवा सुरु भएको अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा मोटरसाइकलको संख्या १ लाख ९६ हजार ३ सय ८३ थियो ।
राइड सेयरिङ सेवा सुरुआत भएको वर्ष २०७२/७३ मा आएर मोटरसाइकलको संख्या एकैपटक ७१ हजार ५६ वटा थपिएर त्यो वर्ष कुल मोटरसाइकलको संख्या २ लाख ६७ हजार ४ सय ३९ पुगेको थियो ।
नेपालमा अनलाइन डिजिटल एप्समा आधारित राइड सेयरिङ सेवा २०७३ देखि सुरु भएको थियो । टुटल भन्ने राइड सेयरिङ कम्पनीले २०७३ माघ १ गतेदेखि नेपालमा राइड सेयरिङ सेवा सुरुआत गरेको थियो । त्यसपछि पठाओले २०७५ असोज ९ गतेदेखि राइड सेयरिङ सेवाको सुरुआत गरेको थियो ।
पछिल्लो समयमा यी दुई बाहेक जुमजुम, सजिलो, इन ड्राइभ, याङ्गो लगायतका नाममा राइड सेयरिङ सेवा नेपालको सहरी क्षेत्रमा उपलब्ध छन् । यस्ता सेवामार्फत सयौं व्यक्तिले रोजगारीसमेत प्राप्त गर्दैआएकाले नेपालमा मोटरसाइकलको संख्या दिनानुदिन बढ्दै गएको पाइएको यातायात विज्ञ गजुरेलको दाबी छ ।
नेपालमा सबैभन्दा बढी आर्थिक वर्ष २०७७/७८ मा मोटरसाइकल दर्ता भएको थियो । त्यो वर्ष ५ लाख ५६ हजार ८ सय १९ वटा मोटरसाइकल दर्ता भएको थियो ।
यस्तै २०७८/७९ मा ५ लाख ३ हजार २ सय ७९ वटा दर्ता भएको थियो । यसैगरी आर्थिक वर्ष २०७३/७४ मा ३ लाख ५४ हजार ७१ वटा दर्ता भएका छन् ।
यस्तै २०७४/७५ मा ३ लाख ४१ हजार ६ सय २३ वटा मोटरसाइकल दर्ता भएका थिए ।
कति छ नेपालमा कुन सवारी साधन ?
नेपालमा सबै प्रकारका सवारी साधन गरी ५८ लाख ५० हजार ४ सय ३२ छन् ।
यसमध्ये सार्वजनिक सवारी साधनको रुपमा रहेका बसको संख्या ७१ हजार ५ सय ७७, मिनी वस तथा मिनि ट्रक ४१ हजार ९ सय ८६, १ लाख ११ हजार ३ सय ५२ टेम्पु र ई रिक्सा ७३ हजार ६ सय ६ वटा छन् ।
यस्तै क्रेन, डोजर, एक्साभेटर, लोडर, रोलर र ट्रक गरी १ लाख २९ हजार १ सय १९ वटा, कार, जिप, ट्याक्सी र भ्यान गरी ३ लाख ६६ हजार ७ सय २३ वटा, पिकअप ९१ हजार ४ सय ८३ र माइक्रो बस १२ हजार ५ सय ७५ वटा दर्ता भएर गुडिरहेका छन् ।
यस्तै मोटरसाइकल ४७ लाख ४४ हजार ७२, ट्रयाक्टर र पावर टेलर १ लाख ९० हजार ६४ र अन्यतर्फ १७ हजार ८ सय ७५ वटा दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा भने सार्वजनिक बस २ हजार ५ सय ८८, मिनिबस र मिनि ट्रक ३ हजार १ ७३, क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर र ट्रक २ हजार १ सय ७१, कार, जीप र ट्याक्सी १५ हजार ९९ वटा दर्ता भएको थियो ।
यस्तै पिक अप ६ सय ३०, माइक्रो बस ४ सय १८, टेम्पो ७ हजार १ सय ३४, मोटरसाइकल १ लाख ९६ हजार २ सय ११, ट्रयाक्टर र पावर टेलर २ हजार ७ सय ८९, ई-रिक्सा १२ हजार १ सय ४९ र अन्य ७९ वटा सवारी साधन गरी कूल २ लाख ४२ हजार ४ सय ४१ वटा दर्ता भएको थियो ।
वार्षिक २५ अर्बभन्दा बढीको मोटरसाइकल आयात
दैनिक जनजीवनमा अत्यावश्यक सवारी साधनको रुपमा मोटरसायकल र स्कुटीले स्थान ओगट्न थालेपछि पछिल्लो समयमा नेपालमा वार्षिक २४ अर्बदेखि २६ अर्ब रुपैयाँबराबरको आयात हुन थालेको छ ।
गत् आर्थिक वर्ष २०८१/८२ मा मात्रै २५ अर्ब ६३ करोड १६ लाख रुपैयाँबराबरको २ लाख १५ हजार ९ सय ६२ वटा पेट्रोलियम र बिद्युतीय मोटरसाइकलका साथै स्कुटर आयात भएका छन् । यो संख्यामा मोटरसाइकल आयात हुँदा सरकारले भने २५ अर्ब १२ करोड ५१ लाख रुपैयाँ राजस्व उठाएको छ ।
देशभर १० प्रतिशत मात्रै सार्वजनिक सवारी साधन
नेपालमा हाल करिब ५९ लाखको हाराहारीमा सबैप्रकारका सवारी साधन सञ्चालनमा छन् । यसमध्ये करिब १० प्रतिशत सवारी साधनमात्रै सार्वजनिक सवारीको रुपमा सञ्चालनमा छन् ।
यहि १० प्रतिशत सार्वजनिक सवारी साधनले दैनिक रुपमा ८५ प्रतिशत यात्रुलाई एक स्थानबाट अर्को स्थानमा पुर्याउने गरेको विभागले उल्लेख गरेको छ ।
सवारी दुर्घटनामा दुई पाङ्ग्रेको संलग्नता अत्यधिक
विभागका अनुसार नेपालको सवारी दुर्घटनामा दुई पाङ्ग्रेको संलग्नता अत्यधिक भएको पाइएको छ । देशभर भएका कूल सवारी दुर्घटनामा दुई पाङ्ग्रेको संलग्नता अत्यधिक पाइएको हो ।
विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा १० हजार ६ सय ७५ वटा सवारी दुर्घटना हुँदा ८ हजार ३ सय ४२ वटा दुर्घटनामा दुई पाङ्ग्रे सवारीको संलग्नता भएको पाइएको थियो ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा ८ हजार ८ सय ८१ वटा सवारी दुर्घटना हुँदा ७ हजार ६ सय ८४ वटा दुर्घटना दुई पाङ्ग्रे सवारीसम्बन्धी थियो । आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ४१० वटा सवारी दुर्घटनामध्ये ५ हजार ९ सय ७ वटा दुर्घटनामा दुई पाङ्ग्रे सवारीको संलग्नता भएको पाइएको थियो ।
विभागका अनुसार लागु पदार्थ र मादक पदार्थ सेवनका कारण दुर्घटनामा वटा दुर्घटनामा दुई पाङ्ग्रे सवारीको संलग्नता अत्यधिक भेटिएको हो । मोटरसाइकल चालकहरुले लेन अनुशासन पालना नगर्ने, सडकमा जिगज्याक गरी चलाउने, तीव्र गतिमा गुडाउने, हेलमेट नलगाएर चलाउनेलगायतका कारणले गर्दा दुर्घटनामा दुई पाङ्ग्रे सवारीको संलग्नता अत्यधिक परिमाणमा भेटिएको छ ।
विभागका अनुसार दुर्घटनामा सबैभन्दा बढी क्षति गराउने साधनमा टिपर पर्छन । टिपरसँग दुर्घटना भएको अवस्थामा मानिसको ज्यान जोगाउने सम्भावना अत्यन्त न्युन हुन्छ ।
‘किनभने टिपरको बनावट र चालकहरु २२ देखि ३० वर्षसम्मको हुने हुँदा गति पनि अत्यधिक हुन्छ,’ वार्षिक बुलेटिनमा उल्लेख छ, ‘उपत्यकामा टिपरका कारण दुर्घटनाको जोखिम अत्यधिक भएकाले राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने मापदण्ड तोकिएको छ ।’
विभागका निर्देशक श्रीकान्त यादवका अनुसार विश्वभर वर्षेनी १३ लाख सर्वसाधारण दुर्घटनामा परेर ज्यान गुमाइरहेका छन् भने झण्डै ५ करोड व्यक्तिको अंगभंग हुने गरेको छ । चालकको लापरवाहीको कारण ६० प्रतिशतसम्म दुर्घटना हुने गरेको विभागले जनाएको छ ।
नेपालको हकमा भने वर्षेनी ५ हजार व्यक्तिले दुर्घटनामा परेर ज्यान गुमाइरहेका छन् । संयुक्त राष्ट्र संघले सन् २०११ देखि सन् २०२० को अवधिलाई सडक सुरक्षा दशकको रुपमा घोषणा गरी यो अवधीमा सडक दुर्घटनाबाट मृत्यु हुने संख्या आधामा घटाउने लक्ष्य लिइएको थियो ।
यसको आधारमा पक्षधर राष्ट्रहरुले राष्ट्रिय रणनीति बनाएर कार्यान्वयनमा ल्याएपनि नेपालसहितका विकाशोन्मुख मुलुकमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या घट्नुका साथै अत्यधिक बढेको पाइएको निर्देशक यादवले जानकारी दिए ।
पछिल्लो ३ आर्थिक वर्षमा नेपालको औसत सडक दुर्घटना १५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक रुपमा क्रियाशिल १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिको सडक दुर्घटनामा अत्यधिक ज्यान जाने गरेको विभागको भनाई छ ।
‘सडक दुर्घटनाले एकातिर मानिसको अमूल्य जीवन लिइरहेको छ भने अर्कोतर्फ परिवारका सदस्यहरुलाई जीवनभर नमिठो आर्थिक तथा मानसिक पीडा पनि थपिराखेको हुन्छ,’ यादवले भने ।
विभागका अनुसार सरकारको लापरवाहीका अनुसार पनि दुर्घटना बढेको छ । सार्वजनिक सवारीले प्रत्येक ६–६ महिनामा विभागअन्तर्गतको कार्यालयबाट मेकानिकल इन्जिनियरिङबाट चेकजाँच गराएर जाँचपास गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
‘एकातिर नाङगो आँखाले क्षणिक रुपमा गरिने चेकजाँचले गर्दा त्यस्तो प्रावधान भरपर्दो हुँदैन,’ यादवले भने,‘अर्कोतर्फ सवारी साधन हेर्दै नहेरी जाँचपास गरि दिने कारणले समेत दुर्घटनामा बल प्रदान गरेको पाइएको छ ।’
विभागका अनुसार सडक दुर्घटना सबैभन्दा बढी दशैं, तिहार र छठको समयमा हुने गरेको छ । वर्षभर हुने सवारी दुर्घटनामध्ये झण्डै ४० प्रतिशत दुर्घटना यहि चाडपर्वको अवधिमा हुने गरेको छ ।







प्रतिक्रिया