
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई मित्रताको सन्देश पठाउँदै सुशीला कार्कीलाई देशको पहिलो महिला प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् ।
मणिपुरको राजधानी इम्फालमा शनिवार एक आमसभालाई सम्बोधन गर्दै उनले नेपाल र भारतको गहिरो सम्बन्ध रहेकोमा जोड दिए ।
यी दुई मुलुक साझा इतिहास र आस्थाले जोडिएको उनले बताए ।
सन् २०२३ मा जातीय हिंसा भड्किएर अशान्त बनेको मणिपुरमा शान्ति फर्किएपटि पहिलोपटक मोदीले त्यहाँको भ्रमण गरेका हुन् ।
उनले सम्बोधनका क्रममा भने, ‘यस मणिपुरको धर्तीबाछ म नेपालमा रहेको मित्रहरूसँग कुरा गर्दैछु । नेपाल भारतको मित्र हो, निकट मित्र । हामी साझा इतिहास र आस्थाले जोडिएका छौं र सँगै अघि बढिरहेका छौं ।’
सुशीला कार्कीले प्रधानमन्त्री पदभार ग्रहण गरेकोमा उनले १ अर्ब ४० करोड भारतीयका तर्फबाट हार्दिक शुभकामना दिएको मोदीले बताए । कार्कीले नेपालमा शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने आशा आफूले गरेको उनको भनाइ छ ।
नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्कीले शपथग्रहण गर्नु महिला सशक्तीकरणको राम्रो उदाहरण भएको मोदीको भनाइ छ ।
उनले नेपालको लोकतन्त्रको मजबुतीको प्रशंसा गर्दै भने, ‘म आज सबै नेपालीलाई बधाई दिन्छु । उहाँहरूले यस्तो अस्थिर वातावरणमा समेत लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्च महत्त्व दिनुभएको छ ।’
नेपालका जेन्जी युवाहरूले विरोध प्रदर्शनमाथि दमन गरिएपछि भड्किएको हिंसा, तोडफोड र आगजनीपछि सरसफाइ गरेको कुरालाई पनि मोदीले प्रशंसा गरेका छन् । आफूले नेपाली युवाको सुन्दर कामको भिडियो हेरेको भन्दै उनले सकारात्मक सोच र सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदय भइरहेको स्पष्ट संकेत भएको समेत बताए ।
मणिपुरमा नेपालीभाषी समुदायहरू पनि उल्लेख्य संख्यामा रहेको तथ्यलाई मद्देनजर गर्दै मोदीले त्यहाँ नेपालको पछिल्लो घटनाक्रमका बारेमा टिप्पणी गरेका हुन् ।







प्रतिक्रिया