काठमाडौंमा हट्यो कर्फ्यु र निषेधाज्ञा : सार्वजनिक सवारी आँशिक सञ्चालन, जनजीवन सामान्य बन्दै

427
Shares

काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ ।

आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।

सार्वजनिक सवारी आँशिक सञ्चालन

यसैबीच जेनजी प्रदर्शनका कारण अघिल्लो सोमबार दिउँसोदेखि बन्द भएको सार्वजनिक यातायात क्षेत्र पनि शनिबार बिहानदेखि आँशिक रुपमा सञ्चालनमा आएको छ ।

जेनजी प्रदर्शनका कारण सिर्जना भएको असहज परिस्थितिलाई हेर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भदौं २४ गतेदेखि देशव्यापी रुपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको थियो । यसले गर्दा शुक्रबारसम्म देशभरका सार्वजनिक तथा ढुवानी यातायात क्षेत्र पूर्ण रुपमा बन्द भएका थिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाका अनुसार संघीय सरकारबाट कुनै निर्देशन नआए पनि सबै जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायको सहकार्यमा सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन अनौपचारिक रुपमा यातायात व्यवसायीलाई जानकारी गराइएको जानकारी दिए ।

‘असहज परिस्थितिपश्चात् केन्द्रिय सरकारबाट अहिलेसम्म यातायात क्षेत्र सञ्चालनमा ल्याउने बिषयमा कुनै निर्देशन प्राप्त भएको छैन, पछिल्लो समयमा अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएकाले महासंघले अनौपचारिक रुपमा सबै जिल्लाका स्थानीय प्रशासन तथा सुरक्षा निकायको सहकार्यमा सवारी सञ्चालनमा ल्याउन भनेर भनेका छौं,’ सिटौलाले भने, ‘आज बिहानदेखि अवस्था हेरेर काठमाडौंसहित अन्य स्थानमा पनि फाट्टफुट्ट सार्वजनिक सवारीका साधन सञ्चालनमा आएको छ ।’

उनका अनुसार औपचारिक रुपमा सुरक्षित वातावरणमा सार्वजनिक सवारी साधन सञ्चालनको बिषयमा आइतबार संघीय सरकारबाट सहकार्य हुने जानकारी दिए । उता दशैं आइसक्दा पनि हालसम्म अग्रीम टिकट बुकिङ सुविधा खोल्ने बिषयमा कुनै गृहकार्य सुरु भएको छैन ।

यसले गर्दा दशैंमा घर फर्किने यात्रुलाई यो वर्ष निक्कै कठिनाई सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अन्य वर्ष दशैं आउनुपूर्व कम्तिमा एक महिना अगावै यो सुविधा खुल्ने व्यवस्था हुन्थ्यो ।