
काठमाडौं । प्रदर्शनकारीले गरेको आगजनीका कारण काठमाडौंको नक्सालमा बनेको हिल्टन होटल खरानी बनेको छ । ८ अर्ब रुपैयाँ लागतमा काठमाडौंको नक्सालमा बनेको होटलमा दुई दिनदेखि निरन्तर आगो बलिरहेको छ । उचाईका कारण माथिल्ला तलामा आगो निभाउन हम्मेहम्मे भइरहेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको लगानी रहेको भनेर ओटलमा आगो लगाइएको हो ।
तर, यो होटलमा व्यवसायी तथा शंकर ग्रुपका निर्देशक साहिल अग्रवालको मुख्य लगानी छ । रेटिङ एजेन्सी एक्राका अनुसार होटलमा साहिलकै ९० प्रतिशतभन्दा बढी स्वामित्व थियो ।
होटल ७ वर्ष लगाएर निर्माण गरिएको हो ।
होटलको उद्घाटन २०८१ साउन १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
यही होटलमार्फत् शंकर ग्रुप हस्टिालिटी क्षेत्रमा प्रवेश गरेको थियो । होटलमा रुफटफ स्विमिङ पुल, स्पा, जीम लगायत कार्यक्रम गर्न सभाहलसमेत थिए ।
१७४ कोठाको यो होटलमा शंकर ग्रुपले ८ अर्ब रुपैयाँ लगानी गरेको हो । कोरोना महामारी र अरु प्राविधिक कारणले निर्माणमा ढिलाइ भएको थियो ।
जगदम्बा हस्पिटालिटी ग्रुपले निर्माण गरेको यो होटल सन् २०१२ मा दर्ता भएको र सन् २०२३ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो । होटल निर्माण सुरु गरेसँगै हिल्टनसँग व्यवस्थापनका लागि सम्झौता गरेको थियो ।
बेलायतको हिल्टन वल्र्डवाइड म्यानेज लिमिटेड अमेरिकी मल्टिनेसनल हस्पिटालिटी कम्पनी हिल्टन वल्र्डवाइड होल्डिङ इंकको स्वामित्व भएको कम्पनी हो । बेलायतको सोही कम्पनीले नेपालको जगदम्बा हस्पिटालिटीले बनाएको होटल व्यवस्थापन गरिरहेको थियो । हिल्टनले विश्वका डेढ सय देशमा ८ हजारको संख्यामा होटल व्यवस्थापन गर्दै आएको छ ।
हिल्टन होटलमा हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध थियो ।
दुई तला अन्डर ग्राउन्डसहितको १८ तल्ले भवनको १६औं तलामाथि स्विमिङ पुल थियो ।
प्रदर्शनकारीहरुले देशको नयाँ ५ तारे होटलमध्येको हिल्टनमा जयवीरको लगानी रहेको भन्दै लुटपाट, तोडफोड र आगजनी गरेका थिए ।
केही समयअघि मात्र होटलसँग जयवीरको नाम जोडिएको थियो । विभिन्न व्यापार व्यवसायमा लगानी गरिरहेका शेरबहादुर पुत्र जयवीरले होटल किनेको चर्चाबीच शंकर ग्रुप अन्तर्गतको जगदम्बा होस्पिटालिटीले त्यसको खण्डन गरेको थियो ।
‘हाम्रो स्वामित्वमा सञ्चालित हिल्टन होटल काठमाडौं बिक्री भएको भन्ने कुनै निर्णय, छलफल वा प्रक्रिया चलिरहेको छैन,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । कुनै राजनीतिज्ञसँगको सम्पर्क वा सम्बन्धका विषयमा समेत कम्पनीले अस्वीकार गरेको थियो ।
नक्सालको होटलमार्फत् नै हिल्टन नेपाल प्रवेश गरेको हो ।
हिल्टन ढलेसँगै नेपालको हप्टिालिटी क्षेत्रमा नयाँ त्रास पैदा भएको छ । पर्यटनको सम्भावना रहेको नेपालमा हिल्टनसहित दर्जनौं विदेशी ब्रान्डका होटल सञ्चालनमा छन् । साथै केही विदेशी ब्रान्ड नेपाल भित्रिने क्रममा थिए ।







प्रतिक्रिया